arrow

छुटको व्यवस्थाले बढे महिलाको नाममा जग्गा पास गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २७ शनिबार
Malpot tanahun.jpg

तनहुँ । गत आर्थिक वर्ष २०७९/८० मा मालपोत कार्यालय तनहुँमा महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढेको छ ।

गत आवमा कूल दुई हजार आठ सय चौरासी वटा लिखत पारित भएको महिलाका नाममा मात्रै दुई हजार छ सय २८ पास भएको कार्यालयले जनाएको छ । 

गत आवमा जग्गा रजिष्टेसन पास वापत रु २४ लाख चौरासी हजार छ सय दुई राजस्वमा छुट दिएको कार्यालयका सुब्बा एवं सूचना अधिकारी टीकाराम शर्मा घोरासाइनेले जानकारी दिए । 

महिला, दलित तथा जनजाति, सहिद परिवार, अपाङ्गता भएका, ज्येष्ठ नागरिकको नाममा जग्गा पास गर्दा २५ प्रतिशत र कृषि क्षेत्रमा ५० प्रतिशत छुटको व्यवस्था छ । 

ग्रामीण क्षेत्रका महिलाको तुलनामा सहरी महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या दोब्बर बढी रहेको तथ्याङ्कले देखाएको छ । 

ग्रामीण क्षेत्रका नौ सय सत्तरी र सहरी क्षेत्रका एक हजार नौ सय १४ महिलाले आफ्नो नाममा जग्गा पास गरेको कार्यालयको भनाइ छ ।

महिलाका नाममा जग्गा पास गर्दा २५ प्रतिशत राजस्वमा छुट पाउने भएपछि महिलाको नाममा जग्गा पास गर्नेको सङ्ख्या बढ्दै गएको उनले बताए । 

मालपोत कार्यालय तनहुँले गत आवमा कूल रु ३० करोड ८४ लाख तीन हजार ५४ राजस्व सङ्कलन गरेको छ । 

कार्यालयका अनुसार यो अघिल्लो आवको तुलनामा रु १३ करोड ८२ लाख ७४ हजार छ सय दश कम हो । 

त्यसैगरी आव २०७८/७९ मा चार हजार पाँच सय ४२ लिखत पारित हुँदा रु चार करोड ५५ लाख तीन हजार पाँच सय २५ छुट भएको थियो । 

सो आवमा रु ४४ करोड ६८ लाख चार हजार छ सय ६४ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए ।



नयाँ