arrow

बेसीशहरका सबै विद्यालय बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
Besishahar_Nagarpalika.png

लमजुङ । अधिकांश बालबालिकामा आँखा पाक्ने समस्या बढेपछि लमजुङका विद्यालय बन्द गरिएको छ । बेसीशहर नगरपालिकाको बेसीशहर बजार क्षेत्रमा आँखा पाक्ने समस्या धेरैमा देखिन थालेपछि वडा नं ७ र ८ मा रहेका निजि तथा सरकारी विद्यालय ३ दिनको लागि बन्द गरिएको हो ।

आँखा पाक्ने समस्या भाइरल कन्जन्टिभाइटिसको संक्रमण तीव्र बनेपछि विद्यालय बन्द गरिएको हो । ठूलो संख्यामा विद्यार्थी संक्रमित हुन थालेपछि बेसीशहर नगरपालिका शिक्षा शाखाले एक सूचना जारी गर्दै विद्यालय बन्दको गर्न आह्वान गरेको हो । 

सोमबारसम्म धेरै विद्यार्थीमा भाइरल कन्जजन्टिभाइटिस संक्रमण देखिएपछि नगरपालिका ८ को अर्थली आवासीय उच्च माध्यमिक विद्यालय सोमबारदेखि तीन दिनका लागि बन्द गरिएको छ ।

विद्यालयहरुले धेरै विद्यार्थी संक्रमित भएको भन्दै बिदाका लागि नगरपालिकालाई जानकारी गराएका थिए । अधिकाशं विद्यालयमा ५० प्रतिशत बढी विद्यार्थीमा संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको बेसीशहर नगरपालिकाले जनाएको छ ।

जिल्ला भरिनै समस्या बढे पनि बेसीशहर नगरपालिकाले अगाबै गर्नुपर्ने निर्णय ढिला गरेको अभिभावाकको गुनासो छ । 

नगरपालिकाले भने एक तिहाइ विद्यार्थी संक्रमण भए विद्यालय बन्द गर्ने तयारी गरेको थियो । केही सामुदायिक र निजी विद्यालयले विद्यार्थीमा आँखा पाक्ने संक्रमण फैलिइरहेको रिपोर्ट गरे पनि तत्काल विद्यालय बन्दको निर्णय भने नलिएको विद्यालय प्रशासन जनाएको छ । 

विद्यार्थी र शिक्षकहरूमासमेत रोग फैलिन थालेपछि ती विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

एक महिनायता देशभर फैलिएको भाइरल कन्जन्टिभाइटिस संक्रमणले लमजुङका बालकदेखि वृद्धसम्ममा फैलिरहेको छ । विद्यालयमा बालबालिका समूहमा रहने भएकाले बालबालिका यसबाट धेरै संक्रमित भइरहेको पाइएको छ ।

आँशुको माध्यमबाट सर्ने यो संक्रमण संक्रमितको हातबाट अरुको हात हुँदै आँखासम्म पुग्ने गरेको देखिएको छ । त्यस्तै संक्रमितका रुमाल, तौलिया, सिरानीजस्ता सामान अरुले प्रयोग गर्दा पनि संक्रमण सर्ने गरेको, फैलिने गरेको चिकित्सकहरुको भनाइ छ ।

भाइरल कन्जन्टिभाइटिसको लक्षण देखिन चार देखि १२ दिन लाग्छ । यो अवधिमा आँखामा कुनै पनि समस्या देखिए आफैँ औषधि लगाउनुभन्दा विशेषज्ञको परामर्श लिनुपर्ने हुन्छ । 

संक्रमणबाट बच्न आँखालाई समय समयमा सफा पानी वा कटनले पुछिरहने, भीडभाड भएको ठाउँमा नजान र पटक–पटक हात धुने गर्न चिकित्सकको सुझाव छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ