arrow

दादुरा-रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
health-ministry.png

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै जिल्लामा यसै आर्थिक वर्षमा दादुरा-रुवेला रोगविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरेको छ । 

दादुरा रोगलाई सन् २०२६ सम्ममा निवारण गर्ने लक्ष्यका साथ मन्त्रालयले यसै आर्थिक वर्षभित्र देशभरिका बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप लगाउन अभियान सञ्चालनको तयारी गरेको हो । 

खोप अभियानका लागि स्वास्थ्य सेवा विभागअन्तर्गतको बालस्वास्थ्य तथा खोप शाखाले ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स ‘गाभी’ लाई गत साउन २ गते औपचारिक रुपमा पत्र पठाइ दादुरा-रुवेलाविरुद्धको खोप माग गरेको छ । 

खोप शाखा प्रमुख डा अभियान गौतमले अभियानका लागि गाभीसँग ९७ लाख मात्रा खोप माग गरिएको जानकारी दिए । 

“हाम्रो पत्रलाई गाभीले सकारात्मक रुपमा लिएको छ” उनले भने, “गाभीबाट खोप आएपछि देशभरि नै खोप अभियान सञ्चालन गर्दछौँ ।”

उनका अनुसार खोप नौ महिनादेखि पाँच वर्ष उमेर समूह र उच्च जोखिमका जिल्लामा १५ वर्षमुनिका बालबालिकालाई प्रदान गरिने छ । 

भारतसँग सिमाना जोडिएका २१ र उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरलाई उच्च सङ्क्रमित जिल्लाको रुपमा लिइएको छ । 

परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले देशभरि नै खोप सञ्चालन गर्नका लागि नेपालमा रहेको साधनस्रोत अभाव हुने भएकोले गाभीलाई खोपका लागि आग्रह गरिएको जानकारी दिए ।

“देशभरि नै बालबालिकालाई खोप लगाउन हामीसँग भएको स्रोतसाधानले पुग्दैन”, उनले भने, “खोप उपलब्ध गराउनका लागि हामीले सरकारका तर्फबाट गाभीलाई औपचारिक पत्र पठाइसकेका छौँ । हाम्रो प्रस्तावमाथि छलफल भएर खोप स्वीकृत हुनका लागि पाँच-छ महिना लाग्छ  र त्यसको एक-दुई महिना खोप नेपाल आउन सक्छ । आर्थिक वर्षको अन्त्यसम्ममा खोप लगाउन सक्छौँ कि भन्ने हामीलाई लागेको छ ।”

निर्देशक लालले अन्य रोगजस्तो दादुरा नभएकोले चार-पाँच वर्षबीचको अन्तरमा देशभरि नै अभियान सञ्चालन गर्नुपर्ने बताए । 

देशभरि नै जोखिममा रहेका १६ जिल्लामा अरु खोप ८०/८५ प्रतिशत बालबालिकालाई लगाइयो भने अन्य १०/१५ प्रतिशत बालबालिका पनि सुरक्षित हुन्छन् भन्ने छ”, उनले भने, “तर दादुरा खोप कमसेकम ९५ प्रतिशत बालबालिका लाई लगाउनुपर्दछ ।”

नेपालको जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण-२०२२ अनुसार ८० प्रतिशत बालबालिकाले दादुरा-रुवेलाविरुद्धको खोप लगाएका छन् । 

सरकारले पहिलो पटक सन् २०१९ मा र त्यसपछि सन् २०२३ मा दादुरा निवारण गर्ने लक्ष्य लिएको थियो तर कोभिड-१९ महामारीका कारण २०२३ मा निवारण गर्न नसक्ने जनाएपछि सन् २०२६ सम्म निवारण गर्ने लक्ष्य लिएको छ ।

शाखाका प्रमुख डा गौतमले सन् २०२६ सम्ममा दादुरा निवारण गर्ने लक्ष्यका साथ यसै आर्थिक वर्षमा देशभरि नै खोप अभियान सञ्चालन गर्न थालिएको बताए । 
 
गाभीबाट प्राप्त भएको खोप बालबालिकालाई दुई मात्रा लगाइने छ । दादुरा रोगबाट बच्ने एक मात्र उपाय दादुराविरुद्धको खोप लिनु नै हो । 

त्यसैले यो रोगबाट बचाउन नियमित खोपमार्फत सरकारले ९ र १५ महिनाको उमेर समूहका बालबालिकालाई सरकारले निःशुल्क दादुरा खोप दुई मात्रा प्रदान गर्दै आइरहेको छ । 

दादुरा निकै छिटो सर्ने सरुवा रोग हो । यो रोग सामन्यतया पाँच वर्ष मुनिका बालबालिकालाई धेरै लाग्दछ र त्यसले छिट्टै महामारीको रुप पनि लिन सक्दछ ।  

दादुरा रोग लाग्यो भने यसका जटिलता जस्तै निमोनिया, झाडापखाला, जलवियोजन र कुपोषणको कारणले बिरामीको मृत्युसमेत हुन सक्छ । दादुराको भाइरस मानिसबाट मानिसमा मात्र सर्दछ । 

यो भाइरस सङ्क्रमण भएको व्यक्तिको नाक तथा घाँटीमा असर गरेर  वृद्धि हुने र श्वास नली एवं अरु भित्री अङ्गमा समेत सङ्क्रमण गर्दछ ।  

दादुरा रोग सङ्क्रमण भएको (रोग लागेको) व्यक्तिले खोक्दा र हाच्छिउ गर्दा निस्कने छिटा एक व्यक्तिबाट अर्को व्यक्तिमा हावाको माध्यमबाट सर्दछ । 

लक्षणहरू

ज्वरो आउनु र शरीरमा राता बिमिरा देखापर्नु दादुरा रोगका प्रमुख लक्षण हुन् । यसका साथै रुघाखोकीको लक्षण (नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने आदि) पनि देखिन सक्छ । रोगीको सम्पर्कमा आएको १०/१२ दिनपछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ । 

 दादुरा सङ्क्रमित व्यक्तिलाई डावर र बिमिरा देखा पर्नेभन्दा चार दिन अघिदेखि  डाबर देखा पर्ने र यसको चार दिनपछिसम्म अर्को व्यक्तिमा सर्न सक्दछ । -रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ