arrow

रातमा बेनी-जोमसोम सडक बन्द

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
Beni jomsome road.jpg
तस्बिर-फाइल

म्याग्दी । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडकको म्याग्दी खण्ड रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ ।

कालीगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला)अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ गलेश्वरदेखि अन्नपूर्ण गाउँपालिका-३ काभ्रेमा पहिरोको जोखिम भएकाले रातिको समयमा यातायात सञ्चालन गर्न बन्द गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय म्याग्दीले सूचना जारी गरेर सडकमा ढुङ्गा, पहिरो खस्ने र नदी किनारमा धाँजा फाटेर जोखिम हुने भएकाले वर्षायामभर रातको समयमा गलेश्वर–दाना खण्डमा यातायात सञ्चालन नगर्न अनुरोध गरेको छ । 

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले पहिरो र कटानका कारण दुर्घटनाको जोखिम देखिएकाले रातको समयमा यातायात बन्द गरिएको बताए । 

स्तरोन्नतिका क्रममा रहेको बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा १० वटा पहिरा छन् । 

साउन २० गतेदेखि अवरुद्ध भएको बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा आज दिउँसोदेखि सिधा यातायात सञ्चालन हुन थालेको छ । 

रघुगङ्गा गाउँपालिका-२ र ३ को सिमानामा पर्ने बैसरी अधेरीखोला क्षेत्रमा सडक माथिबाट पहिरो चलेपछि सिधा यातायात अवरुद्ध बनेको थियो । 

आयोजनाका प्रमुख जगत प्रजापतिले पहिरो र पानी व्यवस्थापनका साथै थुप्रिएको पहिरो हटाएर बैसरी अधेरीखोलामा यातायात सञ्चालन गरिएको जानकारी दिए । 

सडकदेखि पाखो हुँदै करिब पाँच सय मिटर माथि लगेको डोजर र खोल्साको पानी प्रयोग गरेर पहिरो रोकथामको काम गरिएको उनले बताए ।

यसैगरी अन्नपूर्ण गाउँपालिका-३ खामभित्ता र तितर खण्डमा कालीगण्डकीले कटान गरेर धाँजा फाटेको ठाउँमा डाइभर्सन बनाएर यातायात सञ्चालन गरिएको आयोजनाले जनाएको छ । 

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ