arrow

पुड्कोपना हुन नदिन के गर्ने [भिडियो]

चारमध्ये एक नेपालीमा पुड्कोपना

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३१ बुधबार
pudkopana.jpg

काठमाडौं ।  नेपालमा पाँच वर्षमुनिका प्रत्येक चार जनामध्ये एक जना बालबालिकामा पुड्कोपना हुने गरेको अध्ययनले देखाएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक एक सय जना बालबालिकामध्ये २५ जनामा पुड्कोपना देखिने गरेको हो । विज्ञहरूका अनुसार बालबालिकाको खानपानमा कमी र उमेर अनुसार पोषणको अभाव भयो भने पुड्कोपना देखिन्छ । 

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखा प्रमुख लिलाविक्रम थापाले नेपाल स्वास्थ्य जनसाङ्ख्यिक सर्भे सन् २०२२ को तथ्याङ्क अनुसार नेपालमा प्रत्येक चार जनामध्ये एक जनामा पुड्कोपना रहेको र पछिल्लो वर्षयता पुड्कोपनामा सुधार भएको बताए । नेपाल स्वास्थ्य जनसाङ्ख्यिक सर्भे सन् २०१६ अनुसार प्रत्येक एक सय जनामध्ये ३६ जना बालबालिकामा पुड्कोपना रहेको थियो । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा थापाले पुड्कोपनाको प्रमुख कारण पोषणको अभाव रहेको भन्दै घर परिवार सचेत हुँदा पुड्कोपनामा सुधार आउने बताए ।

उनले पुड्कोपना दीर्घकालीन कुपोषणको सङ्केत रहेको भन्दै यसलाई कम गर्न खानपानमा  सुधार ल्याउनुपर्ने बताए । थापाले आमाले गर्भमा हुँदा खानपान र सुत्केरी भइसकेपछि बच्चालाई जति सक्दो छिटो स्तनपान, ६ महिनासम्म पूर्ण र दुई वर्षसम्म स्तनपान गराउने कुरामा विशेष जोड दिनुपर्ने बताए ।

पुड्कोपना हुन नदिन ७५३ स्थानीय तहमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा विभागले जनाएको । विभागका अनुसार आमा स्वास्थ्य चौकीमा जाँदा बच्चाको तौल, उचाइ, आमाको स्वास्थ्य अवस्था, पोषण लगायतबारे जानकारी लिने गरिन्छ । थापाले स्थानीय स्तरमा नै उत्पादन भएका खानेकुराबारे उचित किसिमको परामर्श दिने गरेको बताए ।

लामो समयसम्म खानपान नपुग्ने अर्थात् खाद्य असुरक्षा पनि पुड्कोपनाको कारण रहेको भन्दै खाद्य असुरक्षाका कारण कर्णालीमा ४४ प्रतिशत बच्चाहरूमा पुड्कोपना रहेको बताए । उनले सरकारले पुड्कोपना न्यूनीकरण गर्न कर्णाली प्रदेशका पाँच वटा जिल्ला (हुम्ला, जुम्ला, डोल्पा, कालिकोट र मुगु) मा ‘फर्टिफाईड फ्लोर’ उपलब्ध गराउँदै आएको र सरकारले ६ देखि २ बर्समुनिका बच्चा, गर्भवती र ४५ दिनसम्मका सुत्केरीलाई  फर्टिफाईड फ्लोर’ वितरण गर्दै आएको बताए ।

त्यसै गरी पोषणविद् विनीता पन्तले पुड्कोपना हुन नदिन मातृ पोषण कार्यक्रम आवश्यक रहेको बताइन् । उनले गर्भावस्थामा आमालाई र बच्चा जन्मिसकेपछि बच्चालाई पोषणको अभाव हुन नदिए पुड्कोपनाको समस्या नआउने बताइन् । उनले बच्चालाई पर्याप्त मात्रामा पौष्टिक तत्त्व पुग्नुपर्ने बताइन् । पन्तले स्थानीय स्तरमा जनप्रतिनिधिले समेत पोषण व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औँल्याइन् । बच्चालार्ई पौष्टिक तत्त्व पर्याप्त दिनुपर्ने भन्दै घर परिवारको आमा, बुबामा पुड्कोपना छ भने उनबाट जन्मिने बच्चामा पनि पुड्कोपनाको समस्या देखिन सक्ने बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ