arrow

फिलिपिन्सको कानून बनाउन डा रिजाल सहभागी

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३२ बिहिबार
minendra-rijal-philippines.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा मिनेन्द्रप्रसाद  रिजाल फिलिपिन्सको एक प्रदेश बांसामोरोमा त्यहाँको प्रदेश सभाले निर्माण गर्न लागेको समावेशी निर्वाचन प्रणालीसम्बन्धी कानून निर्माणमा एक परामर्शदाताका रूपमा सहभागी भएका छन् । 

आफूले सो कानून निर्माणका लागि एक जना अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा काम गरिरहेको डा रिजालले जानकारी दिए । लामो समयको द्वन्द्वपछि शान्ति प्रक्रियामा आएको फिलिपिन्सको बांसामोरो स्वायत्त मुस्लिम प्रदेश हो ।

त्यहाँ सन् २०२५ मा तोकिएको निर्वाचनका लागि हाल त्यहाँ समावेशी निर्वाचन प्रणालीको कानुन निर्माण भइरहेको छ । सोही कानून निर्माणमा डा रिजाल सहभागी भएका हुन् । 

सो निर्वाचनमा विभिन्न आठ ओटा क्लस्टरको प्रतिनिधित्व गराउने गरी कानून निर्माण गर्ने तयारी रहेको डा रिजालले जानकारी दिए । “महिला, युवा, उलामा (इस्लाम गुरु), सुल्तान र सुल्तानका प्रतिनिधि गैरमुस्लिम आदिवासी जनजाति, फिलिपिन्सको मूल प्रदेशबाट बसाइँ सरी यहाँ आएका बासिन्दासमेतको सहभागितामा निर्वाचन गराउने र सोहीअनुसार कानुन बनाउनुपर्ने जानकारी उनले दिए ।

सो परामर्शदाता समूहले त्यहाँका स्थानीय बासिन्दा, विभिन्न क्लस्टरका प्रतिनिधि, राजनीतिक नेतृत्व, मुख्यमन्त्री, सभामुखलगायतसँग आवश्यक छलफल र परामर्श गरिरहेको छ । 

सन् २०२५ मा हुने निर्वाचनमा सबै पक्षको सहभागिता गराउने काम चुनौतीपूर्ण रहेको र सोहीबमोजिमको निर्वाचन प्रणालीको कानुन निर्माणमा यहाँको नेतृत्व सचेत रहेको आफूले पाएको डा रिजालले बताए । 

उनले बांसामोराका मुख्यमन्त्री अहोड बी इब्राहिम, त्यहाँका सभामुखलगायत शीर्षनेतासँग छलफल गरिरहेका छन् । पूर्वरक्षामन्त्रीसमेत रहेका डा रिजाललाई संसद् बैठक चलिरहेका बेला मुख्यमन्त्री इब्राहिमले निर्वाचन कानूनका लागि अन्तर्राष्ट्रिय परामर्शदाताका रूपमा डा रिजाल सहभागी भएको जानकारी गराएपछि सभामुखले संसद् बैठक स्थगित गरी सबै सांसदहरूसँग उनको परिचय गराएका थिए । 

संविधानसभा सदस्य तथा पूर्वसांसद रिजालले नेपालले पनि फिलिपिन्सबाट पाठ सिक्नुपर्ने बताए । “नेपाल पनि द्वन्द्वबाट शान्ति प्रक्रियामा आएको देश हो । अझै हाम्रोमा द्वन्द्वको धङधङी गएको छैन । शान्ति प्रक्रियामा आएको छोटो समयमै फिलिपिन्सले देखाएको एकता र शान्तिप्रतिको प्रतिबद्धता नेपालका लागि उदाहरणीय बन्न सक्छ ।”

अमेरिकाको न्यूयोर्क युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका रिजाल अध्यापनमा पनि संलग्न रही आएका छन् । अन्तर्राष्ट्रिय कानूनका जानकार उनी विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा यसैगरी परामर्शदाता एवं विषय विज्ञका रूपमा सहभागी हुँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ