मुग्लिङ–नारायणगढ सडकखण्डमा तीन सवारीसाधन एकापसमा ठोक्किए, २६ यात्रु घाइते
हाम्रा कुरा
प्रकाशित २०८३ साउन ३ आइतबार
244
Shares
काठमाडौँ । मुग्लिङ–नारायणगढ सडकखण्डमा आज बिहान तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा २६ जना यात्रु घाइते भएका छन्।
चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिक बिहान करिब ७ः१० बजे दुर्घटना भएको हो। काठमाडौंबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक एकापसमा ठोक्किएका हुन्।
जिल्ला प्रशासन कार्यालयले हिजो बेलुकी १० बजेदेखि उक्त सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको थियो। आज बिहानैदेखि रोक हटाई सडक सुचारु गरिए पनि खुलेको केही समयमै दुर्घटना भएपछि सडक पुनः अवरुद्ध हुन पुगेको थियो।
दुर्घटना लगत्तै खटिएको प्रहरी टोलीले घाइते यात्रुहरूको उद्धार गरी उपचारका लागि भरतपुर पठाएको छ। दुर्घटनामा परेका सवारीसाधनहरूलाई सडकबाट हटाएपछि अहिले उक्त सडकखण्ड दुवैतर्फी रूपमा पुनः सञ्चालनमा आएको छ। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।