- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मासिक फल : यो महिनाको अवस्था सर्वसाधारणका लागि सामान्यतः उत्तम देखिन्छ । बिहीबारको सूर्य संक्रमण र शुक्रबारको औंशीले सामान्य जनमानसमा उल्लासको वातावरण देखिन्छ ।
व्यापारी, बुद्धिजीवी वर्ग र कलाकारहरु तुलनात्मक रुपमा बढी खुशी हुने देखिन्छ । यो महिनामा विद्यार्थीवर्गलाई पनि राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिन्छ । सिंह राशिका सूर्य मुद्रा विनिमय र सुवर्णमा घटाबढी हुनेछ ।
शेयर बजार माथि नै रहनेछ । शासनतन्त्रको शिथिलिताले केही उपद्रवी तत्वले प्रश्रय पाउने देखिन्छ । देशको पश्चिमी क्षेत्रमा कुनै रोगव्याध वा खाद्यान्नको संकट हुने देखिन्छ । दृष्टिविषमताको आभाष भए पनि पुँस्त्री योगबाट १, ७, ८–१५, १८, २०, ३०, ३१ गते उचित वर्षा होला । यो महिनामा खीर, मह, साँवा, दूध, सख्खर आदिको दान गर्दा उचित हुने देखिन्छ ।
मासिक राशिफल :
मेष : सूर्य पाँचौँ घरमा रहेको छ । यसको प्रभावले तपाईको कार्यक्षेत्र र बन्द व्यापारको समुन्नति र प्रसिद्धि हुने समय आएको छ । मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ । आम्दानीमा वृद्धि हुनेछ, तर महत्त्वाकाङ्क्षा बढ्नाले सन्तुष्टि भने नहुन सक्छ । सरकारी काम वा सरकारसम्बद्ध क्रियाकलापमा संलग्न व्यक्तिले खूब कमाइ गर्ने समय आएको छ । जति धेरै खट्यो त्यत्ति धेरै लाभ पाउन सक्ने राम्रो समय हो । यस अवधिमा शिक्षार्थीहरूका लागि केही समस्या उत्पन्न हुने समय छ, पढाइलेखाइ र बौद्धिक क्रियाकलापका लागि उचित समय नै छ, तर चिन्तनमननमा बढी निर्लिप्त हुनु पनि हानिकारक बन्नसक्छ । पेसा वा व्यवसायमा फेरबदल गर्ने चाहना हुनेले यो महिना गरेको प्रयास लाभदायी हुनेछ । सूर्यका साथमा मङ्गल ग्रहको समेत पाँचौं भावमा नै उपस्थिति छ, जुन तपाईको राशिस्वामी हो । यसले २२ गतेपछि छैंटौं भावमा प्रवेश गर्नेछ । यसको प्रभावले छात्रछात्राका लागि एवं शैक्षिक क्षेत्र र बौद्धिक क्रियाकलापमा संलग्नहरूका लागि उत्तम समय रहने छ । यस अवधिमा भाइबहिनी वा छोराछोरीका चाहना र इच्छा पूरा गर्न समय र धन खर्च गर्दछ । यो सिर्जनासँग सम्बन्धित घरसमेत भएकाले जातकको व्यक्तित्व आकर्षक बन्दछ, ऊ स्पष्ट वक्ता हुन्छ, साथै आफ्ना धारणा र विचारलाई खुल्ला ढङ्गले प्रस्तुत गर्नु, खेलकुद, चित्रकला, सङ्गीत र साहित्यमा पनि चासो बढ्नु स्वाभाविक मान्ने गरिन्छ । पाँचौं र छैंटौं भावमा नै यस पटक बुध ग्रहको समेत उपस्थिति रहने छ, यसको प्रभावले नयाँनयाँ उद्यम र योजना कार्यान्वयन गर्नाले सफलता मिल्नेछ । सृजनशीलताको प्रशंसा र सराहना हुनेछ । पारिवारिक सुखमा अभिवृद्धि हुनेछ । यता, लाभ भावमा बसेको बक्र बृहस्पतिको यो समय राम्ररी बित्नेछ । विदेश अथवा दूरदराजमा रहेको स्थानमा बसोबास गर्ने व्यक्तिहरूसितको सम्बन्ध सुमधुर रहने छ । आध्यात्मिक र दार्शनिक क्रियाकलापमा मन आकर्षित हुनसक्छ । विद्यार्थीहरूले परीक्षा, प्रतियोगिता र प्रतिस्पर्धामा सफलता प्राप्त गर्नेछन् । नयाँ जोडीले इच्छाएको सन्तानप्राप्तिको अवसर पाउनेछन्, बेबीप्लान गर्न समुचित वेला आएको छ । त्यस्तै सप्तमेश शुक्रले छैंटौं र सातौं भावको भ्रमण गर्नेछ, २० गतेपछि यसको राम्रो प्रभाव रहने भए पनि त्यसयता स्वास्थ्य सम्बन्धी समस्याका कारण दिनचर्यामा पनि अवरोध आउने छ । कामको बोझ बढेको अनुभूति हुनेछ । शत्रु र प्रतिस्पर्धीहरू प्रबल हुनेछन् । दशमेश शनिले दशम भावमा नै यात्रा गर्दैछ, तर यसको गतिसमेत बक्र रहेकाले यस अवधिमा इच्छाएको परिणाम प्राप्त गर्न कडा मिहिनेत गर्नुपर्छ । प्रत्येक क्रियाकलापमा संलग्न हुँदा धैर्य गर्नु अनिवार्य छ । दोस्रो भावमा बसेको राहुले मुख छुच्चो बनाउने छ भने दैनिकी सञ्चालनका क्रममा धनसङ्ग्रहमा कठिनाइ हुनेछ । त्यस्तै अष्टम भावको केतुले पनि सकारात्मक फल दिन सक्दैन, यस अवधिमा हिंड्दा, काम गर्दा वा बोल्दा हतार नगरेको जाति हुनेछ, नत्र सानातिना बिमारी र चोटपटकको सम्भावना बन्नेछ । यो महिनाका लागि शुभ अङ्क ३, ६ र शुभ रङ्ग हल्का रातो वा आकाशे नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि दुर्गाजीको ध्यान गरी आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ । कुनै पनि अनिष्ट नहोस् र शुभफलमा बृद्धि होस् भन्ने उद्देश्यले तपाईले दैनिक रूपमा श्री हनुमान चालिसाको पाठ गर्नु पनि राम्रो हुन्छ । चन्द्रगोचरका आधारमा यस महिनाको १, ८, ९, १०, १८, १९, २०, २७, २८ र २९ गते अलि नकारात्मक दिन मानिने छन् ।
वृष : गृहसुखसित सम्बन्धित घरमा भाद्र महिनाभरि सूर्यको निवास हुनेछ । यसको प्रभावले आर्थिक पक्ष मजबुत देखिन्छ, व्यवसाय वा नोकरीको सन्दर्भमा वा वैदेशिक प्रयोजनको काममा घरबाहिर जानु पर्ने परिस्थिति बन्नेछ । आयआर्जनका नयाँनयाँ अवसरहरू मिल्नेछन् । भौतिक सामाग्री, भोगविलास र सुखसुविधामा बृद्धि हुने समय हो, परिणामतः कमाएको धन सञ्चित नहुने महिना हो । बरु ऋण काढेर व्यवहार धान्नुपर्ने परिस्थिति खडा हुनेछ । सरकारी क्षेत्रमा कार्यरत व्यक्तिका लागि कार्यक्षमता र दक्षतामा बृद्धि हुनेछ । नयाँ घरघडेरीको जोहो गर्ने मानसिकता भएका व्यक्तिका लागि यो महिना उक्त कामका लागि उचित समय हुन सक्छ । सूर्यका साथमा महिनाको अधिकांश समय सप्तमेश मङ्गलको समेत यसै भावमा उपस्थिति रहने छ । यसको प्रभावले प्रेमसम्बन्ध र दाम्पत्यजीवनका लागि सामान्य रहने छ । विवाहित हुनुहुन्छ भने पति वा पत्नीले बढुवा वा प्रशंसा पाउने समय छ । घरको रंगरोगन, सरसफाइ र सजावटका लागि धन खर्च हुनसक्छ । त्यस्तै महिनाको ९ गतेसम्म चौथो घरमा र त्यसपछि पाँचौं घरमा बुध ग्रहले यात्रा गर्ने समय हो, यसको प्रभावले जग्गाजमिनको कारोबार वा अंशसम्बद्ध कुनै समस्या छ भने यस अवधिमा प्रयास गरेमा हल हुन्छ । सुखसुविधा भोग गर्न पाइने छ र मन प्रसन्न रहने छ । सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । घरपरिवारमा कुनै शुभ संस्कार सम्पन्न हुने सङ्केत पनि छ । त्यस्तै तपाईको राशिबाट दशम भावमा बृहस्पति ग्रहको उपस्थिति रहने छ, यसको प्रभावले कर्मचारी र सार्वजनिक क्षेत्रका व्यक्तिले राम्रो लाभ पाउन सक्छन् । स्तरबृद्धि, पदोन्नति र समुन्नतिको अवसर मिल्नेछ । नयाँ करार र समझौता गर्नाले व्यक्तित्व, प्रतिष्ठा र भौतिक सम्मृद्धि बढाउन पाइने छ । यो महिना राशिस्वामी शुक्रले पाँचौं र छैंटौं भावको यात्रा गर्दैछ । महिनाको २० गतेपछि यसको नकारात्मक प्रभाव रहे पनि अधिकांश समय हितकारी घटना घट्न सक्छ । सामाजिक प्रतिष्ठा र सुखसम्मृद्धि पनि बढ्नेछ । पारिवारिक जीवन अति सुखद रहने छ । बहुप्रतीक्षित अभिलाषा पूरा हुनेछ । त्यस्तै भाग्येश शनिश्चरले यस अवधिमा भाग्य स्थानकै यात्रा गरिरहेको देखिन्छ, यसको बक्र प्रभाव रहेको हुँदा खासगरी मातापिताको स्वास्थ्यस्थिति र सम्बन्ध–सम्पर्कमा कमी आउने समय हो । तर बाह्य परिवेश राम्रै देखिन्छ, यस अवधिमा राजनैतिक–प्रशासनिक पदका व्यक्तित्वसँग सुमधुर सम्बन्ध कायम हुनेछ । त्यस्तै तपाईको आफ्नै राशिमा राहु ग्रहको र सप्तम भावमा केतुको उपस्थिति देखिन्छ । यसको प्रभावले चाहिंदा नचाहिंदा काम गर्ने प्रवृत्तिको विकास हुनेछ । भ्रमका पछि कुद्नु राम्रो होइन । अनावश्यक डरले सताउन सक्छ । आफन्तले बारम्बार धोका दिन सक्छन् । हडबडी र शीघ्रताका साथमा गरिएको काममा कुनै लाभ मिल्नेछैन । विपरीत लिङ्गीसँगको सम्बन्ध राम्रो हुनेछैन । यस महिनामा दुखः कष्ट बढ्न सक्छ । स्वास्थ्य प्रतिकूल रहने र चोटपटकको भय पनि रहनेछ । १५ गतेबाट दैनिक कार्यमा प्रगति हुँदै जानेछ । यात्रा सुखद् र सफल हुनेछन् । घर परिवार र आफन्तबाट सहयोग मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । खर्च बढेपनि आम्दानी भन्दा बढी खर्च हुनेछैन । यो महिनाका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग हल्का रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व मृत्युञ्जय भगवानको स्मरण गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । शुभ परिणाम प्राप्त होस् भन्ने उद्देश्यले राहु ग्रहको स्वस्तिशान्ति र मन्त्रजाप गर्ने अथवा नागदेवताको पूजा गर्नु राम्रो हुनेछ । सामान्यतया यस महिनाको २, ३, ११, १२, १३, २०, २१, २२, २९, ३० र ३१ गतेको चन्द्रमा तपाईका लागि प्रतिकूल रहने सङ्केत छ ।
मिथुन : सामाजिकता र पराक्रमसँग सम्बद्ध तेस्रो भावमा सूर्यले प्रवेश गर्नेछ । सूर्यका साथमा राशिस्वामी बुध र लाभेश मङ्गलको समेत सुरुमा उपस्थिति रहने छ । यसको प्रभावले तपाईमा आत्मबल, सामर्थ्य र हिम्मतको सञ्चरण हुनेछ । पराक्रम र प्रसिद्धिमा वृद्धि हुनेछ । अधिकतम समय घुमघाम र भ्रमणमा बित्नेछ, साथै ससाना यात्रा फलदायी र भाग्यशाली सिद्ध हुनेछन् । पारिवारिक जीवन सुखद रहनेछ, घरपरिवारका सदस्य, मित्र र नातागोता माझको सम्बन्ध सुदृढ हुनेछ । नातेदार, मित्रशक्ति र दाजुभाइबाट लाभ मिल्नेछ । सामाजिक र परोपकारी काममा सहयोेग लिन÷दिन सकिनेछ । व्यक्तिगत सम्बन्धहरूमा सुधार हुनेछ, आत्मिक आनन्द र सुखको अनुभूति गर्न पाउनु हुनेछ । यो भाव मङ्गल ग्रहको नैसर्गिक कारक भाव मान्ने गरिन्छ । परिणामतः अब खुशी र आनन्दको माहौल बन्नेछ, सरकार वा सरकारी पक्षका कामबाट लाभ हुनेछ, हिम्मत र साहसमा बृद्धि हुन्छ, शत्रुहरू पराजित हुन्छन्, तर्कशक्ति र मनन गर्ने क्षमतामा स्तरीयता प्राप्त हुन्छ, धन वृद्धि हुनुका साथै आर्थिक सुदृढता हुन्छ, खासगरी सुन, चाँदी वा अन्य धातुका कारोबारीले धन बढाउने राम्रा अवसर पाउनेछन्, व्यक्तिगत प्रभावमा बृद्धि हुन्छ, इच्छित वस्तु वा परिणामको प्राप्ति हुन्छ, परिवारका किशोरकिशोरीको उन्नतिप्रगति र स्वास्थ्यस्थिति राम्रो हुनेछ । यस महिनामा राशिस्वामी बुधले तृतीय र चतुर्थ भावको यात्रा गर्नेछ, यसको प्रभावले मिहिनेतको राम्रो नतिजा हात पर्ने छ । नयाँनयाँ व्यक्तिहरूसित सम्पर्क हुनाले भाग्य बढ्नेछ । पुराना साथीभाइसित भेटघाट हुनेछ । अभिव्यक्तिगत कलात्मकता एवं भावनात्मक अभिनयको सहज प्रतिभा देखा पर्नेछ । यस अवधिमा बक्र गतिमा भए पनि भाग्य भावमा बृहस्पतिको गोचर देखिन्छ । यसको प्रभावले देशविदेशको भ्रमण हुने वा तीर्थाटन गर्ने अनुकूलता मिल्नेछ । अधबैंसे र बृद्धावस्थाका व्यक्तिहरूले छोराछोरी वा नातिनातिनाको कार्यक्षेत्रमा प्रगति भएको समाचार सुन्न पाउनु हुनेछ । द्वादशेश शुक्रले चतुर्थ भाव र पञ्चम भावको यात्रा गर्नेछ, परिणामतः धार्मिक र परोपकारी काममा धनखर्च हुनेछ । घरको मरम्मत सम्भार र सुविधा बृद्धिका लागि व्ययभार थपिनसक्छ । तर गरेको प्रयासमा सफलता मिल्नेछ । भाग्येश शनिको आठौं भावमा अढैया दशा चलिरहेकाले पारिवारिक झैझमेला र किचलोमा सतर्कता अपनाउनु जाति हुन्छ । यात्रा गर्दा, हातहतियारको प्रयोगमा र राखनधरनमा समेत सतर्कता अपनाउनु पर्ने समय हो । घरपरिवारका सदस्यको व्यवहारमा पनि फरक भएको अनुभूति हुनेछ । समग्रमा यो महिना समान्य नै देखिन्छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । मिहिनेत अनुसार प्रतिफल राम्रै पाइनेछ । तर आफ्नो प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउनसक्छ । १९ गतेबाट व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । पारिवारिक स्नेह बढ्दै जानेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । यो महिनाका लागि शुभ अङ्क ६,८ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आराधना गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ । यस्तै, राहुको प्रभाव बाह्रौं घरमा रहेको छ भने छैंटौं भावमा केतुको उपस्थिति देखिन्छ । राहुको प्रभावले निराशाको वातावरण कायम रहने छ तर केतुले शुभ फल प्रदान गर्नेछ । यो महिना कुनै पनि अनिच्छित परिणाम प्राप्त नहोस्, सर्वत्र विजय होस् भन्ने उद्देश्यले शनि ग्रहको उपासनामा जोड दिनु होला । यसका लागि दिनैपिच्छे शनिमृत्युञ्जयको वा शनि चालिसाको पाठ गरेको राम्रो हुन्छ । चन्द्रगोचरका दृष्टिले यस महिनाको ४, ५, ६, १३, १४, १५, २३, २४ र ३१ गते अनुकूल दिन हुनेछैनन् ।
कर्कट : धनधान्य, कुटुम्ब र वाणिसँग सम्बद्ध चतुर्थ भावमा सूर्यको गोचर हुने महिना हो, भाद्र महिना । त्यस्तै महिनाको प्रारम्भमा यसै भावमा पञ्चमेश मङ्गल र पराक्रमेश बुधको समेत उपस्थिति रहेको देखिन्छ । यसको प्रभावले कार्यक्षेत्रमा सफलता आर्जन गर्न सकिने र सम्मान बढ्ने समय आएको छ, सामाजिक सर्कलमा नाम–सुनाम चल्ने र साख बढ्ने संकेत छ । यो धनवृद्धि गर्न कडा मिहिनेत गर्ने समय हो । धनसम्पत्तिको सञ्चय गर्ने मानसिकता बन्नेछ, तर आर्थिक दृष्टिले यस अवधिमा लाभ मिल्नेछैन, दीर्घकालिक लगानी र कारोबारप्रति सचेतता अपनाउनु आवश्यक छ । सरकारी काम वा उच्च अधिकारीहरूसँगको हिमचिम र भेटघाटले केही मुनाफा कमाउने अवसर प्राप्त हुनेछ । सूर्यको यस गोचरको प्रभावले शिक्षार्थीहरूका लागि राम्रो नतिजा प्रदान गर्नेछ । मौखिक अभिव्यक्तिसँग सम्बद्ध जुनसुकै काममा उच्च सफलता प्राप्त हुनेछ । यो प्रेम जीवन र दाम्पत्य सम्बन्धमा नोकझोक चलिरहन्छ, तर प्रेमसम्बन्ध झन् प्रगाढ बन्दै जानेछ । यसै भावमा बसेको मङ्गलको २२ गतेसम्म प्रभाव रहने छ, परिणामतः जातकले भौतिक सम्पत्ति, जग्गाजमिन र मानवीय आवश्यकताका वस्तुहरूप्रति चासो देखाउने गर्दछ । यद्यपि शत्रु, रोग र चोरीडकैतीको कारक ग्रह धनस्थानमा बस्नु त्यत्ति सकारात्मक हुनसक्दैन । यस भावमा बसेको मङ्गलले खाल्डो, दह, आगो, चोरी, दण्ड, जरिवाना, कडाबोली, कलह र शत्रुसँग सम्बन्ध राख्ने भएकाले ती क्षेत्रबाट जोगिनु बेस हुन्छ । यस अवधिमा ०९ गतेसम्म बुधले धन भावको र त्यसपछि पराक्रम स्थानको यात्रा गर्नेछ । फलतः आर्थिक रूपले यो उत्तम समय छ । व्यावसायिक कारोबारबाट लाभ मिल्नेछ । लगानीमा रहेको रकम फिर्ता आउन सक्छ । हिजोआज भाग्येश बृहस्पतिको अष्टम भावमा बक्र गतिका साथमा गोचर भइरहेको छ । यसको प्रभावले सधैं असुरक्षाको भावना विद्यमान रहने छ । मानसिक चिन्ताका कारण कष्ट हुनेछ । लाभेश शुक्रको यो महिना तृतीय र चतुर्थ भावको यात्रा हुनेछ, यस अवधिमा मन अत्यधिक उत्साही र फुर्तिलो रहनेछ । ससाना यात्रा सुखद र फलदायी हुनेछन् । पारिवारिक सुख कायम रहने छ । सप्तम भावमा रहेको बक्र शनिले दाम्पत्य किचलो र साझेदारहरूसँगको विश्वासको सङ्कटको सङ्केत गर्दैछ । यस अवधिमा जीवनसाथी वा साझेदार÷सहयोगीले होच्याउने प्रयास गर्नेछन् । अरुले गरेको अनुत्तरदायी क्रियाकलाप र असफलताका कारण चिन्तित बन्नुपर्ने छ । दैनिकी सञ्चालनका क्रममा पनि समस्या हुनसक्छ । उता, एघारौं भावमा उपस्थित राहुको शुभ प्रभाव प्राप्त हुनाले महत्त्वपूर्ण व्यक्तिहरूको सम्पर्कमा भइने छ । आय आर्जनका मार्गमा स्पष्ट निर्णय गर्ने समय हो, यो । नयाँ व्यवसाय र उद्योगधन्धामा संलग्नता बढ्ने सङ्केत छ । जबकि पाँचौं भावमा बसेको केतुको प्रभावले धेरैजनासँग मिलेर काम गर्ने प्रयास हुनेछ तर समुचित परिणाम प्राप्त गर्न धौधौ हुन्छ । शीघ्रता र हतार गर्दा कुनै काम सफल हुँदैन । परिवारका सदस्यहरूको अस्वस्थताले पनि चिन्तित तुल्याउन सक्छ । समग्रमा यो महिना राम्रै छ, तथापि अझ राम्रो र सुदृढ होस् भन्ने उद्देश्यले तपाईले अष्टम भावमा बसेको बृहस्पतिको प्रियताका निमित्त कुलपितृको उपासना गर्नु वा कुनै दिन बृद्धाश्रममा गएर सकेको दानादि गरिदिनु समुचित हुनेछ । यो महिनामा नयाँ कार्य प्राप्तिका साथै सरुवा र बढुवाको योग छ । छरछिमेकमा सम्पन्न हुने धार्मिक र सांस्कृतिक गतिविधिमा संलग्न हुनु पर्नेछ । नयाँ ठाउँमा घुम्ने योजना बन्नेछ । राज्यबाट मानसम्मान मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि मधुर मिलनको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । घर, जग्गा खरिद बिक्रीको योग छ । यो महिनाका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि सूर्य भगवानको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । यता, राशिस्वामी चन्द्रमाले यस महिनाको ६, ७, ८, १६, १७, १८, २५ र २६ गते अशुभ भावको यात्रा गर्ने भएकाले सचेतता अपनाउनु राम्रो हुनेछ ।
सिंह : राशिस्वामी सूर्यले तपाईको आफ्नै राशिको परिभ्रमण गर्ने भाद्र महिना तपाईका अत्यन्त उत्साहप्रद र शुभकारक महिना हुनेछ । २२ गतेसम्म मङ्गल ग्रहले र ९ गतेसम्म बुध ग्रहले समेत तपाईको आफ्नै राशिमा गोचर गर्नेछन् । परिणामतः यो महिना तपाईले पेसा, व्यवसाय, रोजगारी आदिमा केही राम्रा र शुभ अवसरहरू प्राप्त गर्न सक्नुहुन्छ । सार्वजनिक क्षेत्र अथवा सरकारको कुनै महत्त्वपूर्ण जिम्मेबारी प्राप्त हुनसक्छ । सरकारी काम र मुद्दा मामिलामा लाभ प्राप्त हुनेछ । कुनै महत्वाकांक्षी र स्थिर काम सम्पन्न हुने समय आएको छ । तपाई सरकारी ओहोदामा वा राजनीतिमा सक्रिय हुनुहुन्छ भने सूर्यको प्रभावले तपाईलाई फाइदा हुनेछ । यस समयमा तपाई मानसिक रूपले सबल, उत्साही, साहसी बन्नुहुनेछ । तपाई भित्र मानसिक, शारीरिक, सामाजिक र बौद्धिक हैसियतमा बृद्धि हुनेछ । पदोन्नति वा स्तरबृद्धिको अवसर प्राप्त हुनेछ । घरपरिवारको साथसहयोग प्राप्त हुनेछ । आर्थिक पक्ष पनि मजबूत नै रहने छ । यो महिना धनधान्यमा वृद्धि हुनेछ, यस अवधिमा धनसम्पत्ति र सुखसुविधा आर्जन गर्ने पक्षमा आकर्षित रहनुहुनेछ । तर मङ्गल ग्रहको उपस्थितिले केही असन्तोष उत्पन्न गर्न सक्छ, खासगरी यस अवधिमा आफैंभित्रका शत्रुहरू अर्थात् आडम्बर, अहङ्कार र क्रोधको मात्रामा बृद्धि हुन्छ । आर्थिक अभाव हुने भएकाले खासगरी न्यून आय भएका व्यक्तिहरूमा मनमा डर, आतङ्क र मानसिक कष्ट बढ्ने परिस्थिति सिर्जना हुनेछ । यात्राका क्रममा सचेतता अपनाउनु पर्दछ, किनकि यो रोग, झैझगडा र मुद्दामामिलाको कारक ग्रह हो । तर लग्नमा र ९ गतेपछि धनभावमा गोचर गर्ने बुधको राम्रो प्रतिफल पाइने छ । बुधको प्रभावले अत्यन्त सुखभोग गर्न पाइने छ । प्रतिभा, दक्षता र योग्यता प्रदर्शन गर्नाले राम्रो परिणाम प्राप्त हुनेछ । सातौं भावमा पञ्चमेश बृहस्पतिको बक्र प्रभावले दाम्पत्य जीवनमा सामान्य किचलो देखिए पनि नकारात्मक फल प्राप्त हुनेछैन । व्यापार वा नोकरी आदिमा उत्तरोत्तर प्रगति हुनेछ । बहुप्रतीक्षित भ्रमणको सम्भावना छ । दोस्रो र तेस्रो भावमा रहने शुक्रको प्रभावले घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । महंगा र सुस्वादु भोजनप्रति रुचि जागृत हुनेछ । घरायसी सुखसुविधा बढाउने भौतिक सामाग्रीका निम्ति धनव्यय हुनेछ । घरायसी नातागोताका व्यक्तिहरूको जमघट हुनेछ । छैटौं भावमा रहेको शनिको प्रभावले समेत शुभ परिणाम प्राप्त हुनेछ, कार्यक्षेत्रमा राम्रो प्रगति हुनेछ । प्रभावशाली व्यक्तिसित सम्पर्क बढ्नेछ । दैनिकी सञ्चालनका क्रममा फुर्तिको अनुभूति हुनेछ । दशम भावमा बसेको राहुको प्रभावले आत्मविश्वासमा अभिबृद्धि हुनेछ । निडर र जुझारु बन्नुहुनेछ र झैझगडा, विवाद आदिबाट पछाडि हट्नु हुन्न । तर चतुर्थ भावमा बसेको केतुको प्रभावले यस अवधिमा वैचारिक अस्थिरता देखिन सक्छ । ससाना कुरा र विषयका कारण झैझगडां र विवाद हुनसक्छ, सचेत हुनुपर्छ । विपरीत वर्गबाट विशेष सहयोग मिल्नेछ । शेयर बजारको लगानीले राम्रो प्रतिफल दिनेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्ने र प्रेममा सफलता मिल्नेछ । अचल सम्पत्ति हात पर्ने योग छ । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । यो महिनाका लागि शुभ अङ्क २, ५ र शुभ रङ्ग रातो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विघ्नहर्ता गणेशजीको पूजा अर्चना गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ । सिंह राशि हुने जातकहरूले द्वादश भावमा रहेको राशिस्वामी सूर्य र मङ्गल ग्रहको बल प्राप्त गरेमा हरेक चुनौती र विघ्नमा सफलता प्राप्त गर्नुहुनेछ, त्यसैले तपाईले यस महिनामा किशोर अवस्थाका बालक (केटा) लाई पठनपाठनमा प्रयोग हुने कुनै चिजबिज दान गर्ने र दैनिक सूर्यार्घ्य दिने काम गर्नु बुद्धिमानी हुनेछ । सामान्यतया यस महिनाको ६, ७, ८, १५, १६, १७, २४ र २५ गतेको चन्द्रमा तपाईका लागि प्रतिकूल रहने सङ्केत छ ।
कन्या : भाद्र महिनाभरि सूर्यले बाह्रौं घरमा भ्रमण गर्नेछ, जबकि राशिस्वामी बुधले समेत ९ गतेसम्म यसै भावमा र त्यसपछि तपाईको आफ्नै राशिमा गोचर गर्नेछ । यस महिनामा सूर्यको प्रभावले खासगरी घरबाहिर बस्ने वा विदेशमा बस्नेहरूले उन्नतिप्रगति गर्नसक्ने र आयमा बृद्धि गर्ने समय हो । स्वदेशमा नै रहेका जातकहरूले पनि विदेश जाने योजना बनाउँदै हुनुहुन्छ भने प्रयास गर्न अनुकूल समय हुनेछ । जागीरको सिलसिलामा घरबाहिर हुनुहुन्छ भने प्रयास गर्नुहोस् तपाईको घरपायक सरुवा हुनसक्छ । यो वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सामान्य समय छ । छात्रछात्राले शैक्षिक उद्देश्यले वैदेशिक यात्राका निमित्त प्रयास गर्ने समय हो । छैटौं भावमा सूर्यको पूर्णदृष्टि हुने भएकाले यस अवधिमा मुद्दामामिला वा झैझगडाजस्ता क्षेत्रमा विजय प्राप्त गर्नुहुनेछ, यो शत्रुहरूमाथि प्रभुत्व जमाउने समय हो । ९ गतेसम्म बुध ग्रहसमेत बाह्रौं भावमा रहने हुँदा यस अवधिमा अनावश्यक खर्चमा नियन्त्रण गर्नुहोला, नत्र कुनै ठूलै आर्थिक सङ्कटको परिस्थिति सिर्जना हुनसक्छ । यो धनसम्पत्तिको थैलो कसेर राख्ने समय पनि हो, लापरवाही गर्दा गहनागुरिया वा रुपैयाँपैसा चोरी हुने खतरा हुन्छ । मङ्गल ग्रहसमेत तपाईको आफ्नै राशिमा रहने भएकाले कम्तीमा पनि यस महिनाको २२ गतेसम्म क्षणिक आवेग र उन्मादलाई नियन्त्रण गर्नु बेस हुनेछ, क्रोध र अहङ्कारको मात्रामा बृद्धि हुनाले दुःख पाइने छ । त्यस्तै व्यक्तिगत स्वास्थ्यका बारेमा लापरवाही नगर्नु होला, टाउको दुख्ने वा ज्वरोजस्ता समस्याले दुःख दिनसक्छ । यसै समयावधिमा सँगीसाथीबीचमा मौजमस्ती र खानपानमा खर्च बढ्ने समय पनि हो । हिजोआज बक्र गतिमा रहेको चतुर्थेश र सप्तमेश मानिने बृहस्पति ग्रहको छैठौं घरमा गोचर चल्दैछ, यसको प्रभावसमेत सकारात्मक रहन सक्दैन । पेसागत र व्यवसायिक परिस्थति बिग्रँदै जानेछ । स्वास्थ्य सम्बन्धी विविध समस्याले दिक्क लगाउने छ । परिजनसितको सम्बन्ध पनि राम्रो हुनेछैन । शत्रु र प्रतिस्पर्धीहरू बलिया हुनेछन् । तर तपाईको राशिमा रहेको शुक्र ग्रहको २० गतेपछि धनभावको प्रभाव रहने छ । शुक्रको प्रभावले सुखद वातावरणमा सुखपूर्ण र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिनेछन् । दाम्पत्य जीवनको भरपूर सुख भोग गर्न पाइने छ । थोरै मिहिनेत गर्दा पनि आयस्रोतलाई राम्ररी उकास्न सकिनेछ । पाँचौं भावमा रहेको बक्र शनिको प्रभावले किशोरकिशोरी र छात्रछात्रा जिम्मेबारी तथा कर्तव्यबाट टाढा भाग्नेछन् । यस अवधिमा सृजनात्मक क्षमतालाई प्रस्फुटन गर्न सक्नुहुन्न र बुद्धिविवेकको ह्रास हुनेछ । भाग्य स्थानमा बसेको राहु तृतीय भावमा बसेको केतुको प्रभावले शुभ फल नै प्राप्त हुनेछ, तर पनि यसको प्रभावले लक्ष्यप्रति भ्रमित रहनाले एकपटक हातमा आएको कामलाई मात्र महत्त्व दिएर त्यसैमा घोरिरहन सकिन्छ । व्यक्तित्वमा अहङ्कारले प्रवेश गर्नेछ जसका कारण लोकप्रियता घट्न सक्छ र जनप्रियतामा कमी आउने छ, होस राख्नुपर्छ । यस्तै, यो महिनामा शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ । शेयर बजारको लगानीले राम्रो प्रतिफल नदिनसक्छ । खर्चिलो यात्रा पनि हुन सक्छ । महिनाको उत्तरार्धबाट आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आफ्नो इच्छानुसार समय बिताउन सकिनेछ । आस मारिसकेको ठाउँबाट धन हात पर्नेछ । अचल सम्पत्ति हात पर्ने योग पनि छ । यो महिनाको लागि शुभ अङ्क १,६ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि नवग्रहको स्मरण गरी कार्य गर्नाले सफलता मिल्नेछ । यस अवधिमा अधिकतम शुभफल प्राप्त होस् र यावत् नकारात्मक फलको अन्त्य होस् भन्ने उद्देश्यले तपाई सूर्योपासनामा जोड दिनुपर्छ, यसका लागि दिनहुँ सूर्योदयको समयमा रातो फूल, मह र शुद्ध जल तामाको पात्रमा राखी सूर्यलाई अर्घ्य दिएको जाति हुनेछ । सामान्यतया यस महिनाको २, ३, ११, १२, १३, २०, २१, २२, २९, ३० र ३१ गतेका दिन अलि बढी सतर्कता अपनाउने दिन हो ।
तुला : लाभ भावमा बसको सूर्यको प्रभावले इच्छा र आकाङ्क्षा पूर्ण हुने समयका रूपमा भाद्र महिनाको आगमन भएको छ । यस अवधिमा सामान्यतया सामाजिक हैसियत र आयको मार्गमा बृद्धि हुने सम्भावना हुन्छ । सरकारको उच्च ओहदाका मानिसहरूसँग तपाईको सुसम्बन्ध कायम हुनेछ, परिणामतः तपाईले फाइदा लिन सक्नुहुन्छ । कार्यालयमा सिनियर कर्मचारीले सहयोग र समर्थन गर्ने समय हो । तपाई स्वयंले वा जीवनसाथीले नयाँ रोजगारी पाउने वा नयाँ व्यवसाय प्रारम्भ गर्ने परिस्थितिसमेत बन्नसक्छ । हरेक प्रयासमा कुनै न कुनै लाभ मिल्ने हुँदा मन प्रसन्न रहने छ । गरेका प्रयासमा चौतर्फी उन्नति हुने भएकाले समाजमा तपाईको इज्जत र प्रतिष्ठामा अझ बृद्धि हुनेछ । परीक्षा, प्रतियोगिता र अन्तर्वार्ताको तैयारी गरिरहेका जातकका लागि यो महत्त्वपूर्ण समय हो । सूर्यका साथमा महिनाको सुरुमा मङ्गल र बुध ग्रहले समेत एघारौं भावको यात्रा गरेको देखिन्छ । ०९ गतेसम्म एघारौं भावको यात्रा गर्ने बुधको प्रभावले सुरुमा सकारात्मक र शुभफल नै प्राप्त हुनेछ, तर त्यसपछि बाह्रौं भावमा प्रवेश गर्नाले भाग्यबलमा कमी आउने छ । यस अवधिमा विदेश वा दूरदराजको यात्राको योजना बनाएमा सफल हुन सकिन्छ । त्यस्तै २२ गतेसम्म लाभ भावमा रहने मङ्गल ग्रहले धन स्थान, बुद्धि स्थान र शत्रु स्थानमा पूर्ण दृष्टि राख्दछ । राजनैतिक फाँटमा रहेका व्यक्तिहरूले यस अवधिमा राम्रो उपलब्धी निकाल्न सक्दछन् । त्यस्तै राजकाजमा रहेका कर्मचारी वा अधिकारीहरूले पनि सामाजिक र आर्थिक हैसियतमा बृद्धि गर्ने अवसर पाउनेछन् । आफूले मात्र होइन, यस अवधिमा दाजुभाइले पनि आफ्नो कार्यक्षेत्रमा राम्रो गर्ने समय हो । त्यस्तै हिजोआज बृहस्पति ग्रहले बक्र प्रभावका साथमा पाँचौं घरको यात्रा गर्दैछ । परिणामतः यस अवधिमा आत्मविश्वासमा बृद्धि हुनाले लगातार सफलता प्राप्त हुने देखिन्छ । सम्मान र प्रतिष्ठा मिल्नेछ । घरपरिवारमा माङ्गलिक कार्यको आयोजना हुनसक्छ । धार्मिक क्रियाकलापमा सहभागी भइने छ । मित्रवर्ग र हितैषीले पूर्ण सहयोग गर्नेछन् । उता राशिस्वामी शुक्रले यस महिनाको २० गतेसम्म बाह्रौं भावकै यात्रा गर्नेछ, परिणामतः यो खर्चबृद्धि हुने समय हो । त्यसैले यस अवधिमा आफ्नो भोगवृत्तिमा अङ्कुश लगाउँदा राम्रो हुनेछ, नत्र आनन्द प्राप्त गर्नुको सट्टा झमेला ब्यहोर्नु पर्ने हुनसक्छ । प्रतिद्वन्द्वीले हानि पुर्याउने प्रयास गर्नेछन् । हिजोआज चतुर्थ भावमा बसेको शनिश्चर ग्रहको अढैया प्रभाव रहेको समय हो । यसको प्रभाव पनि अनुकूल रहँदैन, यस अवधिमा गर्दै नगरेको र थोरै सहभागिता जनाएको कामकारोबारका कारण झूठो आक्षेप ब्यहोर्नु पर्ने हुनसक्छ । पारिवारिक सुखको पनि अभाव हुनेछ । अष्टम भावमा बसेको राहुको प्रभाव पनि सन्तोषजनक छैन, यस अवधिमा गरेका प्रत्येक काममा असफलता हुने सम्भावना छ । कुनै न कुनै अप्ठ्यारोले पछ्याइरहेको हुनेछ । त्यस्तै दोस्रो भावमा बसेको केतुले मुख छुच्चो बनाउने छ । कहिलेकाँही अपशब्दको प्रयोग गर्नाले आफन्तहरूसित वैरभाव सिर्जना हुनेछ । यस्तै, यो महिनामा घर परिवार, इष्टमित्र एवं साथीभाइहरूसँग लामो समयपछि भेटघाट हुनेछ । विपक्षीहरूले रिस गरे पनि काम बिगार गर्न सक्ने छैनन् । धार्मिक यात्रामा रुचि बढ्ने र शुभकार्यको चर्चा चल्नेछ । प्रेम सम्बन्धमा मधुरता मिल्नेछ । मानसम्मानसमेत प्राप्त हुनेछ । आफ्नो कामविशेषले यात्रा हुनसक्छ, तर आफूले नजानेको काममा हात नहाल्नु नै राम्रो हुन्छ । यो महिनाको लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग घ्यू रङ्ग वा सेतो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ । अतः यस अवधिमा खासगरी घनिष्ठ साथीभाइ र नातागोताका मानिससँग नम्र बोलीको प्रयोग गर्नु राम्रो हुन्छ । यसरी समग्रतामा सूर्यको राम्रो प्रभाव भए पनि राशिस्वामी शुक्रलगायत केही ग्रहको अशुभ प्रभाव रहेकाले यस महिनामा भए जति सबै अनिष्टता र अशुभ फलको समाप्ति होस् भन्ने उद्देश्यले तपाईले शुक्र ग्रहको उपासनामा जोड दिनुहोला । चन्द्रगोचरका आधारमा यस महिनाको ४, ५, ६, १३, १४, १५, २३, २४ र ३१ गते तपाईका लागि अशुभ दिन रहने छन् ।
वृश्चिक : कर्मक्षेत्रमा राशिस्वामी मङ्गलको पहिलेदेखि नै उपस्थिति रहेको छ, भाद्र महिनामा सूर्यले समेत यसै भावमा प्रवेश गर्नेछ । यसको प्रभावले यो कडा मिहिनेत गरी आफ्नो कार्यक्षेत्रमा वर्चस्व स्थापना गर्ने समय हो । त्यस्तै व्यवसायीहरूले आफ्नो व्यापारिक प्रतिष्ठानको चतुर्दिक् उन्नति गर्ने समय पनि हो । यस अवधिमा तपाईको मानसम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । भविष्यलाई दृष्टिमा राखी तपाईले कतिपय विषयमा महत्वपूर्ण र साहसी निर्णय लिने महिना पनि हो । कर्मचारीहरूले मनले चाहेको जिम्मेवारी र पदभार पाउने समय हो, यस समयमा हाकिम वा वरिष्ठ व्यक्तिसित सुसम्बन्ध कायम हुनेछ । व्यापारीहरूले राम्रो मुनाफा कमाउने समय हो । कमाएको धन सञ्चित हुने वा ऋणभार कम गर्न उपयोग गरिने छ । सरकारी अड्डाअदालतमा कुनै काम रोकिएको छ भने त्यसलाई सुल्झाउन उचित समय छ । यो नयाँ जिम्मेवारी पाउने समय हो । विद्यार्थीले चाहेको उपलब्धी हासिल गर्नसक्ने समय हो । प्रेमजीवनमा मिठासपूर्ण सम्बन्ध नै रहने छ, तर कर्तव्य र कार्यक्षेत्रको व्यस्तता हुँदा समय दिन पाइँदैन । कुल, परम्परा र आध्यात्मिकतातर्फ समेत सामान्य चासो बढ्नसक्छ । समग्रतामा यो अत्यन्त क्रियाशील र व्यस्त रहने कर्मक्षेत्रको परीक्षणको समय हो । २२ गतेपछि राशिस्वामी मङ्गलले लाभ भावको यात्रा प्रारम्भ गर्नेछ, यसको प्रभावले व्यापार र नोकरीका माध्यमबाट लाभ मिल्नेछ, हाकिम, मातापिता र वरिष्ठ व्यक्तित्वको सहयोग र सद्भाव मिल्नेछ । यस महिनामा लाभेश बुधले पनि कर्मक्षेत्र र लाभ भावको यात्रा गर्नेछ । यसको प्रभावले व्यापार–व्यवसाय वा पेसामा राम्रो प्रगति हुनेछ । पारिवारिक वातावरण सन्तोषप्रद रहनेछ । वाहनादि र विदेशबाट लाभ प्राप्त हुनेछ । घरमा कुनै शुभ कृत्यको आयोजना हुनसक्छ । उता चतुर्थ भावमा बसेको बक्र बृहस्पतिको प्रभावले पनि राम्रै प्रतिफल पाउन सक्नुहुन्छ, यद्यपि यस अवधिमा घरमा रहेको बृद्धबृद्धाको स्वास्थ्योपचार र सेवाचाकरीमा दौडधूप गर्ने परिस्थिति बन्नसक्छ । महिनाको सुरुमा एघारौं भावमा रहेको शुक्रको प्रभावसमेत तपाईका लागि अत्यन्त शुभ कारक रहने छ, यो ग्रह तपाईको सातौं भावको मालिक हो । अतः यस अवधिमा गरेका हरेक प्रयासमा शुभ फल मिल्नेछ । उच्चकोटीको पारिवारिक सुख मिल्नेछ । महिनाको उत्तरार्द्धमा शुक्रको प्रभावले खर्च धेरै हुनेछ तर आम्दानीका मार्गहरू पनि पर्याप्त रहने छन् । तृतीय भावमा बसेको शनिश्चरको प्रभावले प्रतिष्ठा र पराक्रममा बृद्धि हुनेछ । कुनै महत्वपूर्ण काम सम्पन्न गर्न दाजुभाइ वा नजिकको साथीको सहयोग लिन सक्नुहुन्छ । यसले नोकरी र बन्द व्यापारमा उत्साहवद्र्धक परिणाम प्राप्त हुनेछ । तर शिरमा बसेको केतु र सातौं भावमा बसेको राहुको प्रभावले आन्तरिक सम्बन्ध र दाम्पत्य जीवनमा समस्या उत्पन्न गर्नेछ । साथै व्यापारिक साझेदारहरूसँगको सम्बन्धमा विकार आउन सक्छ, सचेत हुनुपर्छ । परिवारमा सुख सन्तोष छाउला । कसै कसैका लागि सन्तान प्राप्तिको योग छ । इच्छाएको काम पूर्ण हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ, तर छोटा पटकको भय रहेको हुनाले वाहन चलाउँदा या बाटो हिँड्दा सचेत रहनु पर्छ । अरुको खुसीका लागि किनमेल हुने र खर्च बढ्नेछ । यो महिनाका लागि शुभ अङ्क ५, ८ र शुभ रङ्ग सेतो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महादेवको आराधना गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । यो महिना कुनै पनि अशुभता प्राप्त नहोस् र शुभ फलमा बृद्धि भइरहोस् भन्ने उद्देश्यले तपाईले यो महिना केतु ग्रहको उपासनामा जोड गर्नुहोला । यसका लागि दैनिक रूपमा दुर्गा कवचको पाठ गर्न सक्नुहुन्छ । चन्द्रगोचरका दृष्टिले यस महिनाको ६, ७, ८, १६, १७, १८, २५ र २६ गते तपाईका लागि अशुभ रहने छन् ।
धनु : सूर्य, बुध र मङ्गल ग्रहले तपाईको राशिबाट नवौं घर अर्थात् भाग्य स्थानको यात्रा गरेको समयमा भाद्र महिनाको प्रारम्भ भएको छ । यसको प्रभावले पिता, परिवार वा वंशकै मानसम्मान र प्रतिष्ठामा वृद्धि हुने महिना हो, यो । सन्तानले उन्नति÷प्रगति गर्नेछन् । यो दृढ इच्छाशक्तिको उदय हुने समय हो । शरीरमा उत्साह र ऊर्जा भरिपूर्ण हुने समय छ । गरेको कर्ममा भाग्यको साथ पाउने समय छ । कार्यक्षेत्र र बन्दव्यापारको क्षेत्रमा पनि वर्चस्व स्थापना हुने समय हो । विदेश यात्रा वा वैदेशिक प्रयोजनका कामबाट फाइदा हुनेछ । यो सामाजिक गतिविधि, परोपकारी काम र दानधर्मको समय पनि हो । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । अध्ययन÷अध्यापनमा रुचि बढ्नेछ, परीक्षा, प्रतियोगिता र प्रतिस्पर्द्धामा सफल भइने छ । यसै भावमा बुद्धिक्षेत्रको मालिक न्याय, कानून, सुरक्षा निकाय, सैन्यपक्ष, खेलकुद र साहसी क्रियाकलापसँग सम्बद्ध व्यक्तिले यस अवधिमा राम्रो उपलब्धी हात पार्ने समय हो । यस भावको मङ्गलले खर्च भाव, पराक्रम स्थान र सुख भावमा पूर्ण दृष्टिले देख्दछ, परिणामतः यस अवधिमा घरपरिवारका बृद्ध सदस्यबाट सहयोग र आशीर्वचन मिल्नेछ । आयका मार्ग बढाउने सत्कर्ममा सफलता मिल्नेछ । यस महिना नवौं र दशम भावमा भ्रमण गर्ने सप्तमेश बुधको प्रभावले वाणिमा प्रभावकारिता देखिनाले यस अवधिमा समाजमा आफ्नो वर्चस्व कायम हुनेछ । प्रसिद्ध व्यक्तिहरू सम्पर्कमा आउने छन् । ख्याति, प्रतिष्ठा र सम्मानमा बढोत्तरी हुनेछ । बुद्धिलाई उपयोग गर्नाले लाभ लिन सकिने छ । उता राशिस्वामी बृहस्पतिको बक्र प्रभावका साथमा तेस्रो घरमा उपस्थिति छ, यस अवधिमा गरेका क्रियाकलापको प्रशंसा हुनेछ । आत्मविश्वास बढ्नेछ । सामाजिक क्षेत्रमा वर्चस्व स्थापित हुनेछ । वैवाहिक जीवन वा प्रेमप्रसङ्ग सुखद हुनेछ । यस महिनामा शुक्र ग्रहले कर्मक्षेत्र र लाभ भावको यात्रा गर्नेछ, कर्मक्षेत्रमा रहँदा २० गतेसम्म यसले केही अशुभ फल प्रदान गरेपनि समग्रतामा यसको प्रभावले आफ्नो कार्य क्षेत्रमा महत्त्वपूर्ण सफलता मिल्नेछ । प्रतिष्ठा र सम्मानमा अत्यधिक वृद्धि हुनेछ । हिजोआज शनिश्चर ग्रहको अन्तिम साढेसातीको प्रभाव रहने छ, यो आर्थिक कठिनाइको सामना गर्नुपर्ने समयावधि हो । यस अवधिमा तपाईले जोखिम मोलेर काम गर्ने प्रवृत्तिमा पनि अङ्कुश लगाउनु उचित हुनेछ । छैटौं भावमा बसेको राहुले अनुकूल र राम्रा फलहरू प्राप्त हुनेछ । यस अवधिमा उच्चपदस्थ व्यक्ति र राज्यपक्षबाट रोकिएका काम निर्बाध सम्पन्न हुनेछन् । फाइदा हुने क्षेत्रमा लगानी हुने सम्भावना छ । तर यस अवधिमा बाह्रौं भावमा केतुको उपस्थिति रहेकाले अर्काका सल्लाह, सुझाव र आशयलाई सुन्ने बानीको विकास गर्नु राम्रो हुन्छ । नयाँ र शुभ कार्यको योग छ । राजनैतिक र सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग पनि देखिन्छ । काम बन्नुका साथै नयाँ कार्यको थालनी हुनेछ । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै शैक्षिक क्षेत्रमा विशेष लाभ हुने देखिन्छ । यो महिनाका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग पहेँलो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि लक्ष्मीजीको स्मरण÷ दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ । यस अवधिमा कुनै पनि अशुभ फल प्राप्त नहोस् र सामान्य जीवन यापन होस् भन्ने उद्देश्यले तपाईले शनिदेवको उपासनामा जोड गर्नुहोला, यसका लागि हरेक शनिवारका दिन झिसमिसेमा पीपलको बोटमा जलार्पण गर्नु जायज हुनेछ । यस महिनाको १, ८, ९, १०, १८, १९, २०, २७, २८ र २९ गतेको चन्द्रमा तपाईको अनुकूल नहुने हुँदा यी दिनमा कुनै नयाँ काम वा यात्राको थालनी नगर्नु होला ।
मकर : मकर राशि हुनेहरूका लागि महिनाको प्रारम्भमा अष्टम भावमा सूर्य, मङ्गल र बुधको उपस्थिति हुने साथै आफ्नै राशिमा रहेको राशिस्वामी शनिश्चरको गतिमा समेत बक्रता रहेकाले भाद्र महिनालाई कमजोर र अनिष्ट मान्नुपर्ने हुन्छ । यस अवधिमा सवारी हाँक्दा, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सावधान हुनु राम्रो हुन्छ । यो हरेक काममा विघ्न र ढिलासुस्ती हुने समय हो । कुनै परीक्षा, प्रतियोगिता वा अन्तर्वार्ताको तैयारी गर्दै हुनुहुन्छ भने अझ बढी मिहिनेत गर्ने समय हो । व्यक्तिगत र पारिवारिक स्वास्थ्यप्रति पनि सचेत हुने समय हो । अनायासै खर्चको मात्रामा ह्वात्तै बृद्धि हुने समय हो । व्यक्तिगत मानसम्मान र प्रतिष्ठा गिराउन शत्रुहरू सक्रिय हुने समय पनि हो । शत्रुले तपाईका क्रियाकलापमा बाधा उत्पन्न गर्न सक्छन् । पछाडि बसेर आलोचना गर्ने गोप्य शत्रुहरू सक्रिय हुने समय हो । सरकार, प्रशासन वा अड्डाअदालतका काममा पनि विघ्न हुनसक्छ । कार्यक्षेत्रमा सिनियर्सहरूसँग सम्बन्ध बिग्रने तथा नचाहेको फाँट वा कामको जिम्मा लिनुपर्ने हुन्छ । यो महिना कुनै पनि शुभकर्म र दीर्घप्रयोजनको काम नगर्ने समय हो । धनस्थानमा सूर्यको दृष्टि हुने भएकाले धनमाल हराउने वा कमी आउने समय पनि हो । २२ गतेसम्म आठौं घरमा रहने मङ्गलको प्रभाव पनि कमजोर छ । यसको प्रभावले चिताएका र हाँके÷ताकेका हरेक काममा बाधा आउने छ । त्यस्तै ०९ गतेसम्म भाग्येश बुधले पनि अष्टम भावकै यात्रा गर्ने भएकाले यस अवधिमा जोखिमपूर्ण र रिस्की मानिने काम गर्नुहुँदैन, जुवातास, लटरी र सट्टापट्टामा धन नाश हुनसक्छ । तर आठौं भावको सम्बन्ध देशदेशान्तरको यात्रा, गुप्तविद्या र गाडधनसँग पनि हुने गर्दछ, त्यसैले तपाईको जन्मकुण्डलीमा यी ग्रहहरू बलियो र शुभ भावमा छ भने यस अवधिमा दूरदराज वा दुर्गम स्थानमा गरिएको यात्रा सफल हुनेछ । दोस्रो भावमा रहेको बृहस्पतिको प्रभाव शुभ रहने छ, यस अवधिमा आयक्षेत्रमा उल्लेखनीय अभिबृद्धि हुनेछ । लोकप्रियता हासिल हुनेछ । अचल सम्पत्तिबाट लाभ मिल्नेछ । शुक्र ग्रहले भाग्य र कर्म स्थानको यात्रा गरेको छ, यसको प्रभावले पदोन्नति हुने सम्भावना छ भने चाहेको परिणाम हात पार्न सक्नु हुनेछ । राशिस्वामी शनि तपाईको आफ्नै राशिमा बक्र गतिका साथमा उपस्थित छ, यो मध्य साढेसातीको प्रभावसमेत हो, यसको प्रभावले प्रत्येक काममा बाधा आउने र ढिलो हुने सम्भावना छ । बुद्धि स्थानमा बसेको राहुका कारण निर्णय क्षमतामा कमी आउने छ, साथै अन्धविश्वास र भ्रमले डेरा जमाउने परिस्थिति बन्नेछ । लाभ भावमा बसेको केतुको प्रभावले भने सामाजिक क्षेत्रमा वर्चस्व कायम हुनेछ, जसबाट प्रतिष्ठा र सम्मान प्राप्त हुनेछ । यो महिनामा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्नेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ । शेयर बजारको लगानीले त्यति राम्रो प्रतिफल नदिनसक्छ पनि सक्छ । महिनाको उत्तरार्धबाट रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । ठूला व्यक्तिले तपाइको मेहनतको प्रशंसा गर्नेछन् । साथी भईसँग रमाइलो भेटघाट र यात्राले मन प्रसन्न हुनेछ । यो महिनाका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग निलो वा सुन्तला रङ हो । कुनै शुभकर्म गर्नु विघ्नहर्ता गणेशजीको स्मरण गरि गरेको कार्यबाट अधिक लाभ मिल्नेछ । यस्तै, कुनै पनि अशुभता प्राप्त नहोस् र शुभफलमा बृद्धि होस् भन्ने उद्देश्यले राशिस्वामी शनिश्चरको उपासनामा ध्यान दिनु आवश्यक छ, यसका लागि शनिमृत्युञ्जय स्तोत्रको दैनिक पाठ गर्नु राम्रो हुन्छ । सामान्यतया यस महिनाको २, ३, ११, १२, १३, २०, २१, २२, २९, ३० र ३१ गते कमजोर दिन रहने छन् ।
कुम्भ : दाम्पत्यसुख, साझेदारी र प्रेमभावमा सूर्यको प्रवेश भएको छ, सूर्यका साथमा महिनाको प्रारम्भमा यसै भावमा कर्मेश मङ्गल र पञ्चमेश बुधको समेत उपस्थिति देखिन्छ । उता राशिस्वामी शनिश्चर ग्रहले बाह्रौं भावमा बक्र गतिका साथमा उपस्थिति जनाएर लाभ भावको फल प्रदान गर्दैछ । अतः यो महिना मिश्रित प्रभाव प्राप्त भए पनि तुलनात्मक रूपले शुभ नै रहने छ । सूर्य सप्तम भावको मालिक हो, अतः यस अवधिमा तपाई स्वयंले वा जीवनसाथीले आफ्नो कार्यक्षेत्रमा उन्नति गर्ने समय हो । कार्यक्षेत्रमा तपाईको वर्चस्व कायम हुनेछ । तर यस अवधिमा पेसा परिवर्तन गर्ने वा नयाँ ठाउँमा जम्प गर्ने विचार गर्नु भएको छ भने अर्को ठाउँमा पक्का भए मात्र पुरानो ठाउँ छाड्नु होला, नत्र धोका हुनसक्छ । समग्रतामा बन्द व्यापार र कार्यक्षेत्रमा उल्लेखनीय काम गर्ने महिना हो । यद्यपि यो महिना घरमा पिताजी वा जीवनसाथीसँग साथै कार्यक्षेत्रमा व्यवसायिक साझेदारसँग मतभेद बढ्ने समय पनि हो । अतः तपाईले जीवनसाथी र कारोबारमा सन्तुलन राखेर समय प्रदान गर्नु आवश्यक छ । यसै भावमा महिनाको २२ गतेसम्म कर्मेश मङ्गलको उपस्थिति रहने छ, परिणामतः यसले वैवाहिक जीवन र दाम्पत्य सुखमा समस्याहरू निम्त्याउँछ । व्यक्तिगत प्रकृतिमा रिसको प्रचुरता र बोलीमा कटुता देखा पर्नेछ । आमरूपमा मूत्रप्रणाली, प्रजनन स्वास्थ्य र पाचन प्रणालीका रोगव्याधिले सताउने गर्दछ, सचेत हुनुपर्छ । ०९ गतेसम्म सप्तम भावमा र त्यसपछि अष्टम भावमा उपस्थित हुने बुधले दुबै भावमा बसेर शुभफल प्रदान गर्नेछ । यस अवधिमा विद्वान्हरूका साथमा घुलमिल हुने मौका आउने छ । विपरीत लिङ्गीहरूबाट सहायता मिल्नेछ । वैदेशिक प्रकृतिको कामधाम वा विदेशको यात्राबाट फाइदा लिन सकिन्छ । उता आफ्नै राशिमा बसेको बृहस्पतिको प्रभावले पनि शुभ परिणाम नै प्राप्त हुनेछ । यस गोचरकालमा परिवारमा पनि कुनै माङ्गलिक कार्य सम्पन्न हुनेछ, शुभ र श्रेष्ठ कर्ममा लगनशीलता बढ्नेछ । योग्यताको प्रयोग गरी विपरीत परिस्थितिलाई समेत आफ्नो पक्षमा ल्याउन सकिने छ । परिवारमा सुखसुविधाको जोहो हुनेछ । २० गतेसम्म अष्टम भावमा बस्ने भाग्येश शुक्रको फल त्यत्ति अनुकूल हुँदैन । खासगरी व्यक्तिगत स्वास्थ्यका दृष्टिकोणले यो समय राम्रो छैन । यस अवधिमा यात्राको कार्यक्रम छ भने यथासम्भव रोक्नु ठिक हुन्छ । राशिस्वामी शनिदेव बाह्रौं घरमा रहेपनि शुभ परिणामका साथ उपस्थित देखिन्छन्, तर यो आद्य साढेसातीको समय भएकाले कुनैकुनै कुरामा सचेत र सतर्क हुनुपर्छ, किनभने यसको प्रभावले जीवनीशक्तिमा कमी भएको अनुभूतिका कारण आँफूलाई कमजोर भएको अनुभूति हुनेछ । उता, चौथो भावमा बसेको राहुको प्रभावले गरेका प्रयासमा असफलता हुनाले मानसिक तनाव बढ्नसक्छ । अभिभावक, हाकिम, उच्चपदस्थ अधिकृत वा मातापितासँगको सम्बन्ध बिग्रिन सक्छ । तर दशम भावमा रहेको केतुको प्रभावले परिणामप्रति आशावादी भइने छ । महत्वपूर्ण व्यक्तिका साथमा सम्पर्क बढ्नेछ । यो महिनामा भाग्योदय हुने योग रहेको छ । घर परिवार र आफन्तबाट सहयोग मिल्नेछ । भौतिक सुखमा बढोत्तरी हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । रोकिएका अधुरा कामहरू पुरा हुनसक्छन् । यो महिनाको २२ गतेबाट साझेदारी काममा उल्झन आउनेछ । सामान हराउने वा चोरी हुने सम्भावना पनि छ । यो महिनाका लागि शुभ अङ्क २, ६ र शुभ रङ्ग रातो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ । तपाईले अशुभ फलको निवारण र शुभफलको बृद्धिका लागि राशिस्वामी शनिको पूजाआजा र मन्त्रजापमा जोड दिएको राम्रो हुनेछ । चन्द्रगोचरका आधारमा यस महिनाको ४, ५, ६, १३, १४, १५, २३, २४ र ३१ गते तपाईका लागि अशुभ रहने छन् ।
मीन : भाद्र महिनाको प्रारम्भमा सूर्यदेवले बुध र मङ्गलका साथमा छैटौं भावको यात्रा गरेको देखिन्छ । यो कार्यक्षेत्र वा बन्दव्यापारका लागि कडा परिश्रम गर्ने समय हो । त्यस्तै वैवाहिक जीवन र प्रेमसम्बन्धका लागि सकारात्मक समय हुनेछ । यो समय उपयोगी छ, जे गरे पनि सफलता हात पर्ने सम्भावना हुन्छ । यस अवधिमा तपाईले अचल सम्पत्तिको खरिद गर्ने योजना बनाउने, ऋण काढ्ने आदि सम्भावना देखिन्छ । त्यस्तै जग्गाजमिन वा पैतृक सम्पत्तिसम्बन्धी कुनै झमेला वा विवाद छ भने प्रयास गर्ने समय आएको छ, समस्या समाधान हुनसक्छ । नोकरी र व्यावसायिक जीवनमा सुधार आउने छ । प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ । मुद्दामामिला वा सरकारी काममा सफलता मिल्नेछ । यसै भावमा बसेको मङ्गलको प्रभावले पनि राम्रो परिणाम प्रदान गर्नेछ । यस अवधिमा प्रशासन, न्याय र सुरक्षा निकायमा कार्यरत व्यक्तिले चौतर्फी विजय प्राप्त गर्नेछन् । आम व्यक्तिका निमित्त पनि अब शत्रुगण सामु पर्न सक्दैनन् । वातावरण शान्त र सम्मृद्ध बन्नेछ । मनका विकार, तुस र डरहरूको अन्त्य हुन्छ । तर बुध ग्रहले यस भावमा बसेर शुभ फल प्रदान गर्न सक्दैन, यद्यपि ९ गतेपछि बुधको सप्तम भावमा प्रवेश भएपछि धनधान्यमा बृद्धि हुन्छ । सुन, चाँदी वा कुनै धातुजन्य बहुमूल्य सामाग्री जुटाउन सक्नुहुन्छ । दैनिकीलाई सहज र व्यवस्थित तुल्याउन सकिन्छ । राशिस्वामी बृहस्पतिले द्वादश भावमा बसेर बक्र गतिका साथमा एकादश भावको फल प्रदान गर्दैछन्, समग्रतमा अशुभताका तुलनामा शुभ फलकै आधिक्य हुनेछ । तर पनि यस अवधिमा आफन्तले निराशा र वैमनस्यता प्रकट गर्नेछन् । स्वास्थ्यप्रति ध्यान पुर्याउन नसक्नाले विविध समस्या उत्पन्न हुनसक्छन् । घरपरिवारका सदस्यले फरक व्यवहार देखाउन सक्छन् । विपरीत परिस्थितिलार्ई सामना गर्न आँफूभित्र प्रतिरोधात्मक शक्तिलाई विकसित तुल्याउनु राम्रो हुन्छ । यस महिनामा शुक्र ग्रहले सातौं र आठौं घरको यात्रा गर्नेछन् । २० गतेसम्म दाम्पत्यसुख र प्रेमसम्बन्धका दृष्टिले राम्रो समय रहने छ, तर त्यसपछि रोगव्याधिको सामान्य प्रभावसमेत देखिने छ । आमा वा मातृपक्षका कुनै नातेदारको स्वास्थ्यस्थिति नाजुक बन्नसक्ने समय छ । खुट्टा तान्ने, फँसाउने वा होच्याउन खोज्नेले तपाईको त्रुटि र गल्तीको खोजी गर्नेछन्, त्यसैले सचेत र सावधान भएर काम गर्ने समय हो । शनिश्चर, राहु र केतुको फल राम्रो देखिन्छ । यस अवधिमा दृढ़ इच्छा शक्तिका कारण विपरीत परिस्थितिमा पनि विवेक गुम्दैन र समुचित काम हुनेछ । सामाजिक सम्बन्धमा विस्तार हुनेछ र प्रतिष्ठामा पनि अभिबृद्धि हुनेछ । समग्रतामा शुभ फलको मात्रा नै बढी भएको यस महिनामा अझ राम्रो होस् भन्ने उद्देश्यले तपाईले आफ्नो राशिस्वामी बृहस्पतिको उपासनामा जोड दिनु राम्रो हुन्छ । यो महिना सकारात्मक महिना रहेको छ । ठूला व्यक्तिले तपाइको मेहनतको प्रसन्नता गर्नेछन् । अतिथिको रूपमा सत्कार पाइनेछ । विद्या, बुद्धि र सन्तान सुख मिल्नेछ । कूटनीतिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय छ । नयाँ ठाउँमा घुम्ने योजना पनि बन्नेछ, तर स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ । यो महिनाका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा शिवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ । राशिस्वामी बक्र भएकाले मीन राशिका सबै जातकले सधैं वा सकेसम्म यस महिनाभरि पुष्पराज रत्न मन्त्रसिद्ध गरी धारण गरेको राम्रो हुन्छ । त्यसबाहेक ग्रहजन्य अशुभताको निवारणका लागि तपाईले कुलपितृको उपासनामा जोड दिनु वाञ्छनीय देखिन्छ । सामान्यतया यस महिनाको ३, ४, ५, १३, १४, १५, २१, २२, २३ र ३१ गते तपाईको पञ्चमेश चन्द्रमाले अशुभ घरको यात्रा गर्ने समय रहने छ ।