काठमाडौं । सगरमाथा आरोही कृष्ण केसी र पूर्वसभासद् दीलिप महर्जन नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ । भेटमा टोलीले काठमाडौं, ललितपुर र भक्तपुरको बृहत र एकीकृत शहरी विकास गरी काठमाडौं सेटलाइट मेघासिटी निर्माण गर्न आग्रह गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार भएको भेटमा टोलीले बृहत र एकीकृत सेटलाइट मेघासिटीको प्रस्ताव अघि सारेको हो । त्यस क्रममा टोलीले काठमाडौं, ललितपुर र भक्तपुरको एकीकृत विकास र सेटलाइट मेघासिटीका रुपमा विकास गर्न, महाभारत पर्वतमालामा पर्यटन चक्रपथ र त्यसको बेसीमा पर्यटन नगर विकास गर्न, भूकम्पको पुनःनिर्माण र नवनिर्माणका लागि उपत्यकाबाट महाअभियान घोषणा गर्न, राजधानी विकास बोर्डको गठन गर्न, विश्व रिसर्च सेन्टर र पर्यटन विश्वविद्यालय स्थापना, राष्ट्रव्यापी होमस्टे निर्माणको थालनी गर्न र यी सबै प्रयोजनका लागि आवश्यक बजेटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गरायो ।
भेटमा प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौं, ललितपुर र भक्तपुरको एकीकृत र व्यवस्थित विकास आवश्यक रहेकोमा जोड दिँदै भने, ‘राजधानीको व्यवस्थित विकासका लागि काठमाडौं, ललितपुर र भक्तपुरको बृहत योजना र एकीकृत विकास आवश्यक छ । यसबारे मैले पहिलेदेखि नै चासो राख्दै आएको छुँ । तपाईहरुले प्रस्तुत गर्नुभएको अवधारणा मौलिक र नयाँ पनि छ । सबै पक्षसँग बृहत अन्तरक्रिया गरेर अगाडि बढ्नुस्, सरकार सकारात्मक सहयोगका लागि सधैं तयार छ ।’