‘एभरेस्ट मम्मी’ताबेईलाई देउवाले सम्झिए आफु र आरजुले भेटेको (वक्तव्यसहित)
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
1.2k
Shares
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रथम महिला सगरमाथा आरोही जुन्को ताबेईको ७७ वर्षको उमेरमा भएको असामयिक निधनप्रति दुःख प्रकट गरेको छ ।
सभापति देउवाले आइतबार शोक वक्तव्य प्रकाशित गरी सन् १९७५ मा ३५ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गर्नु भएकी ताबेईले विश्वका सात वटै महादेशमा रहेका सबैभन्दा अग्ला हिम शिखरहरु आरोहण गरी विश्व कीर्तिमान कायम गरेको उल्लेख गर्दै सम्झेका छन् ।
देउवाले सन् २०१४ मार्चमा ताबेईसँग आफु र आफ्नो धर्मपत्नी आरजु राणाको भेट भएको समेत सम्झेका छन् । नेपाललाई आफ्नो दोस्रो घरको रुपमा लिने ताबेईले सगरमाथा आरोहणपछिका वर्षहरुमा पनि नेपाल आउने क्रमलाई निरन्तरता दिएको देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
पछिल्ला वर्षहरुमा सगरमाथा क्षेत्रमा बढ्दै गएको वातावरणीय प्रदुषण व्यवस्थापन तथा स्थानीय विद्यालय निर्माणमा ताबेईले महत्वपूर्ण सहयोग गरेको देउवाको भनाई छ । देउवाले ताबेईको निधनले आफुलाई अत्यन्तै मर्माहत बनाएको भन्दै नेपालले एक असल मित्रलाई गुमाए उल्लेख गरेका छन् ।
कार्तिक ७, २०७३
शोक विज्ञप्ति
प्रथम महिला सगरमाथा आरोही जुन्को ताबेईको ७७ वर्षको उमेरमा भएको असामयिक निधनको समाचारले मलाई अत्यन्त मर्माहत र दुःखीत बनाएको छ । सन् १९७५ मा ३५ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गर्नु भएकी ताबेईले विश्वका सात वटै महादेशमा रहेका सबैभन्दा अग्ला हिम शिखरहरु आरोहण गरी विश्व कीर्तिमान कायम गर्नु भएको थियो ।
सन् २०१४ मार्चमा उहाँसँग म र मेरो पत्नी डा. आरजु राणाको भेट भएको थियो । उहाँसँगको भेटका ती क्षणहरु मेरो मानसपटलमा अझै पनि ताजा रहेका छन् । नेपाललाई आफ्नो दोस्रो घरको रुपमा लिनु हुने स्वर्गीय ताबेईले सगरमाथा आरोहणपछिका वर्षहरुमा पनि नेपाल आउने क्रमलाई निरन्तरता दिई रहनु भयो । पछिल्ला वर्षहरुमा सगरमाथा क्षेत्रमा बढ्दै गएको वातावरणीय प्रदुषण व्यवस्थापन तथा स्थानीय विद्यालय निर्माणमा उहाँले महत्वपूर्ण सहयोग पु¥याउँदै आउनु भएको थियो । नेपालको मानार्थ पर्यटन दूत समेत रहेर स्वर्गीय ताबेईले नेपालको पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । उहाँले नेपाल र नेपाली जनताप्रति देखाउनु भएको माया, सद्भाव र सहयोग नेपालको इतिहासमा सदा स्मरणीय रहिरहनेछ । नेपालको पर्यटन क्षेत्रको विकास र विश्व हिम शिखर आरोहणको इतिहासमा उहाँले पु¥याउनु भएको योगदान सदा उच्च रहिरहनेछ ।
उहाँको निधनबाट नेपालले एक असल मित्रलाई गुमाएको छ । नेपाली जनता माझ उहाँको अभाव सदा खड्किरहनेछ । उहाँको निधनप्रति नेपाली कांग्रेस पार्टी र मेरो व्यक्तिगत तर्फबाट समेत गहिरो दुःख प्रकट गर्दछु र उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक सहानुभूति र समवेदना प्रकट गर्दछु ।