arrow

संकटमा नेकपा एस 

नेता कार्यकर्ता एमालेमा फर्कन थालेपछि एस अप्ठेरोमा, गम्भीर छलफल हुँदै

तीन पदाधिकारी, ३१ केन्द्रीय सदस्य र १५ जिल्ला अध्यक्ष एमालेमै फर्के, पहिरो अझै जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
madhav-nepal-ncp-united-socialist-pen-kalam.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । पार्टी स्थापना भएको दुई वर्षमा नेकपा एकीकृत समाजवादीभित्र पहिरो जान थालेपछि पार्टीभित्र गम्भीर समीक्षा हुनुपर्ने आवाज उठेको छ । 

देशभरबाट नेकपा एकीकृत समाजवादी पार्टीका कार्यकर्ताहरु एमालेमा फर्कन थालेपछि गम्भीर समीक्षा गर्ने गरी दुई दिनसम्म पोल्टिब्युरोको बैठक आयोजना गरिएको छ । 

बैठकमा आगामी कार्यभारको विषयमा छलफल गर्ने भनेर बैठकको पहिलो एजेण्डा नै तय गरिएको छ । शनिबार बसेको सचिवालय बैठकले सो एजेण्डा तय गरेको हो । आजदेखि दुई दिनसम्म पोलिटब्युरो बैठक बस्ने र त्यहाँ आगामी कार्यभारको विषयमा छलफल गर्न लागेको एसका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले भने । 

बैठकमा वर्तमान परिस्थिति र पार्टीको आगामी कार्यभारको विषयमा पोलिटब्युरोका सदस्यहरुले आफ्नो धारणा राख्ने प्रवक्ता जगन्नाथ खतिवडाले बताए । बैठक बिहान ११ बजे पार्टीकै कार्यालयमा तय गरिएको छ । 

शनिबार बसेको केन्द्रीय सचिवालयको बैठकले पोलिटब्युरो र केन्द्रीय कमिटी बैठकको एजेण्डाको तयारी गरेको थियो । भदौको ५, ६ र ७ गते केन्द्रीय कमिटीको बैठक बस्दैछ । यसका एजेण्डाहरु पहिले नै तयार गरेर पठाइएको छ । एसका नेताहरुले कांग्रेस र माओवादीसँगको सहकार्यमा पार्टीको भूमिका कमजोर भएको विषयलाई उठाइरहेका छन् । 

माधव नेपालसँगै नेकपा एसमा गएका धेरैजसो नेताहरु एमालेमा फर्केपछि अहिले एसभित्र गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा आइपरेको नेताहरुले दाबी गर्दै यस्तै अवस्था रहेका पार्टीको आकार साँघुरिने चिन्ता व्यक्त गरेका छन् । 

नेकपा एसबाट एमालेमा को–को फर्किए ?
पदाधिकारी– ३ वरिष्ठ नेता मुकुन्द न्यौपाने, उपाध्यक्ष केदार न्यौपाने, सचिव भागवत विश्वासी, सुवास कर्मचार्यसहित केन्द्रीय सदस्यहरु– ३१ जना एमालेमा फर्किसकेका छन् । 

एमालेमा फर्किनेमा तारा लामा तामाङ, प्रेम महर्जन, मिठाराम केशी, डिल्ली उप्रेती, अशोक यादव, उषा गुरुङ, डा. बालकृष्ण चापागाई, चुडामणि जंगली, तर्कबहादुर शाही, धनबहादुर रायमाझी, यदुवंश झा, हिराचन्द्र केशी, विक्रम शाही, गणेश खनाल, देवीलाल थापा, सरोजकुमार यादव, शारदा स्वर्णकार, विना वुढाथोकी, चन्द्रलाल वुढा, कुलवीर चौधरी, अशोक चन्द, सुवास कर्माचार्य, दलवहादुर सुनार, कुर्मराज शाही, रिता रावल रहेका छन् । 

यस्तै जिल्ला अध्यक्षहरू – १५ जना फर्किसकेका छन् । श्रीधर पोख्रेल–मकवानपुर, सुरमणि बेलबासे–दाङ, हरिप्रसाद शर्मा–रुकुम पश्चिम, रमेश वस्नेत– रामेछाप, सुर्यचन्द्र न्यौपाने, गगन रावल, श्रीराम कार्की–तनहुँ, नरेश भण्डारी–गुल्मी, विष्णु देवकोटा– रसुवा, सुन्दर विश्वकर्मा– बारा, नन्दसिं बुढा– डोल्पा, हिरण्य भट्टराई– अछाम, आदिप्रसाद न्यौपाने –जुम्ला, भोलानाथ पोख्रेल – उपत्यका विशेष पेशागत जिल्ला कमिटी छन् । 

उनीहरुले एमालेभित्र पूर्ववत जिम्मेवारी पाएर काममा गइसकेका छन् । विद्यार्थी र युवामा धेरै कार्यकर्ताहरु एमालेमा फर्किन थालेपछि नेकपा एसमा कार्यकर्ताको संकट भएको छ । 

उता केन्द्रीय कमिटी बैठकमा झलनाथ खनालले फरक मत प्रस्तुत गर्ने तयारी गरेकोमा माधव नेपालले त्यसलाई रोक्ने कोसिस भैरहेको स्रोतको दाबी छ । 

एसभित्र सरकारमा रहेका मन्त्रीहरु बेदुराम भुसाल र प्रकाश ज्वालाले काम गर्न नसकेको भन्दै आलोचना भैरहेको छ । साथै माओवादीले आफ्ना मन्त्रीहरुलाई काम गर्न नदिएको गुनासो समेत पार्टीभित्र सुनिन थालेको एक नेताले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ