arrow

जलविन्दुको नियमित परीक्षण गर्न सुझाव

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ३ आइतबार
eye test.jpg
तस्बिर-फाइल

चितवन । आँखामा लाग्ने जलविन्दु (ग्लुकोमा) रोगको नियमित परीक्षण गर्न चिकित्सकले सुझाव दिएका छन् । 

रोग लागेपछि जीवनभर औषधि उपचारमा लाग्नुपर्ने भएकाले समयसमयमा परीक्षण गरिरहनुपर्ने उनीहरुको भनाइ थियो । 

यस रोगलाई प्रायः ‘दृश्यको मौन चोर’ भनिन्छ । 

जलविन्दुले लक्षण नै नदेखाइ विस्तारै छेउछेउबाट दृष्टि बिगार्दै जान्छ । 

अन्तिम अवस्थामा पुगेपछि त्यसलाई निको बनाउन सकिँदैन । 

भरतपुर आँखा अस्पतालमा शनिबार आयोजना गरिएको जलविन्दुसम्बन्धी जनचेतनामूलक कार्यक्रममा चिकित्सकले जलविन्दु रोगको नियमित परीक्षण गर्न सुझाव दिएका थिए । 

उक्त अस्पतालका जलविन्दु विभाग प्रमुख डा रञ्जित साहले जलविन्दुको उपचार औषधि, लेजर प्रविधि र शल्यक्रियामार्फत गर्न सकिने जानकारी दिए ।

शल्यक्रिया अन्तिम विकल्प रहे पनि जीवनभरका लागि नहुने उल्लेख गर्दै प्रमुख साहले भने, “शल्यक्रिया गरे पनि कुनै समयमा पुगेर पुनःकाम नगर्न सक्छ । आधुनिक लेजर प्रविधि जलविन्दुको अवस्था हेरेर अपनाउन सकिन्छ, लेजर र शल्यक्रिया गरेपनि बिरामी नियमित परीक्षणमा आउनुपर्छ”, उनले थपे, “शल्यक्रिया वा लेजर गरेको छ भनेर ढुक्कसँग बस्नु हुँदैन, समयसमयमा परीक्षण गराइरहनु पर्दछ ।”

जलविन्दु लागिसकेपछि सबैभन्दा पहिलो उपचार औषधि भएको र यो रोग लागेपछि जीवनभर नियमित औषधि प्रयोग गर्नुपर्छ । 

अर्का डा सन्तोषकुमार साहले आँखामा उच्च रक्तचापका कारण जलविन्दु रोग हुने गरेको बताउछन्।

उनका अनुसार जलविन्दु चार प्रकारका (‘प्राइमरी ओपन-एङ्गल ग्लुकोमा’, ‘एङ्गल क्लोजर-ग्लुकोमा’, ‘नर्मल-टेन्सन ग्लुकोमा’ र ‘डेकेन्डरी ग्लुकोमा’) हुन्छन् ।

भर्खरै जन्मेको नवजात शिशुदेखि वृद्धवृद्धासम्मलाई जलबिन्दु लाग्ने भएकाले स्क्रिनिङ गरेर नै रोग पत्ता लगाउनुपर्नेमा डा साहले जोड दिए ।

आँखाको दृष्टि नसाको परीक्षण गरेर यो रोगको पहिचान गर्न सकिने उनको भनाइ थियो ।

जलविन्दु वंशजका आधारमा पनि हुने हुने भएकाले परिवारमा कसैलाई यस्तो रोग लागेमा अन्य सदस्यले पनि परीक्षण गराइहाल्नुपर्नेमा उनले सुझाव थियो ।

मधुमेह, उच्च रक्तचाप, मुुटुको रोग र मोतियाविन्दु भएकालाई पनि जलविन्दु हुनसक्ने डा साहले बताए । 

डा सिर्जना पराजुली, डा प्राची दुलाल, डा मनिषा थापा, वरिष्ठ नेत्र सहायक विनिता सापकोटाले जलविन्दुको प्रारम्भिक पहिचान, लक्षण, रोकथाम र उपचार पद्धतिकाबारेमा जानकारी गराएका थिए । 

जलबिन्दु भएपछि आँखाको छेउछेउबाट दृष्टि गुम्दै जान्छ, अन्तिममा आँखाको बीचमा क्षति पुर्‍याउँने, हुँदा प्रत्येक छ/छ महिनामा आँखा परीक्षण गरेर रोग पहिचान गर्न सकिने उनीहरुको भनाइ थियो ।

जलविन्दुका बिरामीले मानसिक तनाव नलिन र नियमित चस्मा प्रयोग गर्न पनि त्यसबखत सुझाव दिइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ