arrow

'लोकमान' महाभियोगबारे अख्तियारभित्र छिर्‍यो बहस, यस्तो आयो विज्ञप्ति

आयोग नेतृत्वविरुद्धको महाभियोग प्रस्तावले सिंङ्गो आयोग परिवारलाई आहत तुल्यायो !

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
CIAA-nepal-new.jpg.jpeg
काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि कार्यवाहक प्रमुखको जिम्मेवारी पाएका दीप बस्न्यातले औपचारिक रुपमा काम थालेका छन् । महाभियोग दर्ता भएपछि पनि कार्कीले निवासमै फाइल झिकाएर कार्यसम्पादन गरेको चर्चा चलिरहेकै बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले आयोग नेतृत्वविरुद्धको महाभियोग प्रस्तावले सिंङ्गो आयोग परिवारलाई आहत तुल्याएको भन्दै विज्ञप्ति जारी गरेको छ । 
 
अख्तियारका प्रवक्ता एवं सहसचिव गणेशराज कार्कीले आइतबार विज्ञप्ति जारी गर्दै अख्तियारका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले आयोगका कर्मचारीहरुलाई निष्ठापूर्वक कार्यसम्पादन गर्न निर्देशन दिएको उल्लेख गरी औपचारिक काम थालेको जानकारी गराएका छन् ।  
 
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘आयोगका माननीय प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि व्यवस्थापिका संसदमा महाभियोग प्रस्ताव पेश भएपछिको परिवर्तित सन्दर्भमा आयोगमा कार्यरत कर्मचारीहरुलाई निर्देशन दिनु हुँदै कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले कर्मचारीहरुले आयोगद्वारा निर्धारित आचरण र संवैधानिक तथा कानूनी म्यान्डेटको इमान्दारीपूर्वक वरिपालना गर्नुपर्ने बताउनु भयो ।’
 
कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले महाभियोग प्रस्तावले सिंगो आयोगलाई नै आहत तुल्याएको भन्दै आयोग एउटा जीवन्त संस्था भएकाले निश्चित घटना विशेषका आधारमा आयोगलाई प्राप्त संवैधानिक दायित्व र कार्यसम्पादनको प्रभावकारितामा विचलन नआउने स्पष्ट पारेका छन् । 
 
कार्यवाहक प्रमुख बस्न्यातले आयोग नेतृत्वमाथिको प्रस्ताव संविधान बमोजिम संसदमा प्रवेश गरिसकेकाले यो विषय संवैधानिक प्रक्रियाबाट निरुपण हुने उल्लेख गरेका छन् । ‘आयोगमा कार्यरत प्रत्येक कर्मचारी आफु संवेदनशील र महत्वपूर्ण निकायमा कार्यरत रहेको तथ्यबोध गर्दै आयोगको मर्यादा, प्रतिष्ठा र छविलाई उँचो तुल्याउने ढंगबाट कार्यसम्पादनलाई तीव्रता दिनु पर्छ’ बस्न्यातको भनाई विज्ञप्तिमा उल्लेख छ । यस्तै, बस्न्यातले आयोगको अनुसन्धान प्रक्रियामा समयको समेत कानुनतः पावन्दी रहेको हुँदा सम्बन्धित अनुसन्धान अधिकृतहरुलाई त्यसतर्फ समेत ध्यान दिन निर्देशन दिएका छन् ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ