बाजुरा । बाजुरामा जिल्लास्तर राजनीतज्ञहरुको एक सभा गठन हुने भएको छ । नेपाली काँग्रेस जिल्ला कार्य समिति बाजुराको चौथो बैठकले राजनितिक क्षेत्रमा लागेका व्यक्तिहरुको सभा गठन गर्ने समितिका सचिव दिपक शाहले बताएका छन् ।
काँग्रेसको चौथो नियमित बैठकले राजनितिक क्षेत्रमा समाज सेवा गरी अवकाश लिएका तथा ६५ वर्ष पुरा भएका व्यक्तिहरुको जिल्ला र गाउँ तहमा सभा गठन गर्न लागेको शाहले बताए । राजनीतिक क्षेत्रमा महत्वपुर्ण योगदान दिँदै आएका ६५ वर्ष पुरा भएका व्यक्तिहरुको परमर्श र उनीहरुले गरेका क्रियाकलापलाई पुन:जागरण गराउने उद्येश्यका साथ राजनीतिज्ञ जिल्ला सभा गठन गर्ने सचिव शाहले जनाए ।
नेपाली काँग्रेसको चौथो बैठकमा जिल्लाव्यापी तीन महिना सम्म गाउँ जागरण गर्ने, जनस्तरमा गाउँ जागरण अभियान, सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका दलितहरुका लागि दलित आयोगमा पत्र पठाउने, बन्न लागको स्थानीय पुन:संरचनाको सुझाव संकलन गर्दै जाने पार्टी सभापति कविराज पण्डितले बताए।
पार्टीमा आस्थावान् भातृ संगठनहरुको अन्य ६५ वर्ष नाघेका आस्थावानहरुका एक छाता संगठन राजनीतिज्ञ सभा गठन हुन लागेको पनि पण्डितले जनाए ।
पार्टीले बैठकबाट संगठन सुदृढीकरण गर्नका लागि इलाका संयोजक गठन गरेको जनाएको छ । प्रत्येक इलाकामा ९ जना संयोजक तोकिएका छन् । इलाका नं १ मा धनराज पण्डित, २ मा नारायण पाध्याय, ३ मा अरुण कुमार शाही, ४ मा गोविन्द्र बहादुर मल्ल र ५ मा राम बहादुर बोहरा छन् । यस्तै ६ मा देव बहादुर रोकाया, ७ मा नर बहादुर शाही, ८ मा शेर बहादुर खाती र ९ मा रामसिं रावल संयोजक रहेका छन् ।
स्थानिय पुनःसंरचनाका बारेमा नेतासंग समन्वय गर्ने, दलित अनुसुचिमा छुटेकालाई दलित आयोग र स्थानिय विकास कार्यालयमा अनुरोध गर्ने लगायतका निर्णय गरिएको छ । पार्टीको कोष निर्माण योजना अध्ययन् गर्न कोषाध्यक्ष नारायण उपाध्यायको संयोजकत्वमा रहने गरी ७ सदस्यीय समिति गठन गरिएको छ । यस्तै पार्टी सभापति कबिराज पण्डितको संयोजकत्वमा ६५ वर्ष नाघेका नेपाली काँग्रेसका पुर्व नेता र कार्यकर्ता, जेष्ठ राजनितिज्ञ संग सभा गठन गर्ने समिति गठन गरिएको काँग्रेसले जनाएको छ ।
काँग्रेसले स्थानिय पुनःसंरचानका बारेमा कार्यकर्ताले दिएका सुझावहरु संकलन गरी कार्तिक १२ गते भित्र पार्टीलाई बुझाइ सक्नुपर्ने बताएको छ । सुझाव संकलनका आधारमा जिल्ला विकास समितिसंग समन्वय गरी सुझावका बारेमा छलफल गर्ने पार्टीले जनाएको छ ।