arrow

कांग्रेसको महिला संघमा समानान्तर संगठन, नौ जिल्लामा छुट्टै अध्यक्ष 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
congress-women-leaders-4-22.jpg

काठमाडौँ । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघमा समानान्तर नेतृत्व चयन भएको छ । अध्यक्ष उषा राउत मिश्रले विधान मिचेर १२ जिल्लामा नयाँ जिल्ला अध्यक्ष चयन गरेको भन्दै कांग्रेसको गगन–शेखर समूहले नौ जिल्लामा जिल्ला अध्यक्षहरु चयन गरेको हो । 

सोमबार सो समूहले सिराहामा मिनाकुमारी थापामगर, सोलुखुम्बुमा छिल्यामु शेर्पा, ताप्लेजुङमा मातृका देवी प्रसाई, महोत्तरीमा अनिता शर्मा, बारामा कवितादेवी कलवार, पर्सामा विद्या श्रेष्ठ, कास्कीमा शारदा गिरी, नवलपरासी पश्चिममा मिठ्ठु केसी र हुम्लामा ज्ञानु रोकायालाई अध्यक्ष तोकेको छ । 

यसअघि गत साउन २२ गते विधान मिचेर जिल्ला अध्यक्षहरु हटाएको भन्दै गगन–शेखर समूहका २० केन्द्रीय सदस्यहरुले आपत्ति जनाएर विधान मिच्ने अध्यक्ष चाहिँदैन भन्दै बर्खास्त गर्न मागसमेत गरेका थिए । 

केन्द्रीय सदस्य डा. अमिता प्रधान शाक्यले अध्यक्षले गरेको मनोमानी सच्चिने आशाले अहिलेसम्म कुरेको भए पनि सच्चिने कुनै ठाउँ नदेखेपछि बाध्य भएर समानान्तर नेतृत्व चयन गर्नुपरेको बताइन् । 

उनले अहिलेसम्म अध्यक्षबाट कुनै सकारात्मक पहल नभएको र अब पनि नभए जिल्लाहरुमा समानान्तर अध्यक्ष बनाउँदै जाने बताइन् । 

उनले भनिन्, ‘अध्यक्ष भएपछि सबै पक्षलाई मिलाएर लैजानु पर्छ । संगठन गर्नुपर्छ । तर आफूले नेतृत्व सम्हालेपछि म भए पुगिहाल्यो अरु चाहिँदैन भन्ने मानसिकता राख्नु हुँदैन । हामी बाध्य भएर यो कदम चालेका हौँ ।’

मिश्र गत वर्षको साउनमा नेपाल महिला संघको अध्यक्षमा मनोनित भएकी थिइन् । सिराहा घर भएकी मिश्रलाई कांग्रेसले अध्यक्षमा मनोनित गरेको हो । उनी महिला संघकी निवर्तमान सचिव पनि हुन् ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ