arrow

सरकारमाथि घेराबन्दी भयो : वर्षमान पुन

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
Barshaman-Pun.jpg.jpeg

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राम्रो काम गर्दा सरकारमाथि घेराबन्दी भएको बताएका छन् । 

पार्टी सम्बद्ध पेसागत जिल्ला समितिको बैठकलाई आज सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमाथि बिना कारण हमला भइरहेको बताए । 

“राम्रो काम गर्दा पनि सरकारलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएको छ, हामी सबै घेरा तोडेर मुलुक र जनताको पक्षमा काम गर्छौँ”, उनले भने । 

उनले वर्तमान सरकार गठन भएदेखि नै भ्रष्टाचार अन्त्यको अभियान थालेको बताए । 

नक्कली भुटानी शरणार्थी प्रकरण र नक्कली मोही खडा गरेर बालुवाटारस्थित ललिता निवासको सरकारी जमिन हडप्ने गिरोहमा संलग्नहरुमाथि छानबिन अघि बढेपछि सरकारविरुद्ध घेराबन्दी र आक्रमण तीव्र पारिएको उपमहासचिव पुनको जिकिर छ । 

राजनीति, प्रशासन र सुरक्षा संयन्त्रका राम्रा मानिसमाथि एकैसाथ सुनियोजित आक्रमण भइरहेको उल्लेख गर्दै उनले मुलुकमा कोही पनि राम्रा छैनन् र केही पनि राम्रो भएको छैन भन्ने भाष्य स्थापित गर्ने प्रयास भइरहेको बताए । 

आफ्नो पार्टीले विगतदेखि नै भ्रष्टाचार शून्य सामाज, उत्पादन मैत्री, विकास मैत्री संरचना र सामाजिक न्यायको पक्षमा भूमिका खेल्दै आएको दाबी गर्दै उनले सरकारमा हुँदा वा नहुँदा उक्त भूमिकाबाट बिमुख नहुने उल्लेख गरे ।

उपमहासचिव पुनले केन्द्रीय समितिको निर्णयानुसार सुरु ‘घरघरमा माओवादी, जनजनमा माओवादी’, अभियानका क्रममा काठमाडौँ उपत्यकामा रक्तदान, वृक्षरोपण तथा सफाइ अभियान सञ्चालन गरिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ