arrow

पौडेलको समर्थनमा एनआरएनए अध्यक्षमा श्रेष्ठको उम्मेदवारी 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ४ सोमबार
NRNAUK.jpg

लण्डन । आउँदो अक्टोबरमा हुन गैरहेको गैर आवासीय नेपाली संघको विश्व सम्मेलनमा उपाध्यक्ष महेश श्रेष्ठले सन् २०२३–२५ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

एनआरएनए युकेको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आइतबार अल्डरशटमा आयोजित कार्यक्रममा उपाध्यक्ष श्रेष्ठले एनआरएनएको जननी मुलुक बेलायतबाट आफ्नो उम्मेदवारी घोषणा गर्न पाउँदा साह्रै खुसी लागेको बताए ।  उनले विस्तृत एजेन्डा सहित छिट्टै नेपालबाट औपचारिक घोषणा गर्ने पनि जानकारी दिए ।

उपाध्यक्ष श्रेष्ठले संघ अहिले निकै विषम परिस्थितिमा रहेको भन्दै सहमतिको आधारमा संस्थालाई अगाडी बढाउन सक्ने नेतृत्वको आवश्यकता रहेको बताए । उनले देशले एनआरएनहरुबाट ठूलो अपेक्षा गरेको बताउंदै नेपालको समृद्धिमा योगदान गर्न र विदेशमा बस्ने नेपालीहरुको हक सुरक्षित गर्न आफुले रणनीतिक योजना बनाएको पनि बताए। ‘हामीले निर्वाचित भएको दिनदेखि नै क्यालेन्डर बनाएर एक्शन ओरिएन्टेड योजना कार्यान्वयन गर्ने छौं,’उनले भने।  

संघका महासचिव डा केशव पौडेलले आफू अध्यक्ष पदको आकांक्षी हुँदै गर्दा पनि संघको बृहत् एकतालाई ध्यानमा राखी एक कदम पछाडी हटेर भए पनि अब केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।  उनले सहमतिको आधारमा नयाँ नेतृत्व चुन्न आग्रह गर्दै संघलाई एकजुट गरेर अगाडी बढाउन  सक्ने उम्मेदवार महेश श्रेष्ठलाई आफुले अध्यक्ष पदमा समर्थन गर्ने घोषणा गरे ।

उपाध्यक्ष नारायण आचार्यले पनि सहमतिको आधारमा सबैलाई समेट्न सक्ने नेतृत्व चयन गर्न आग्रह गरे। उनले उपाध्यक्ष पदमै आफुले फेरि उम्मेदवारी दिन चाहेको बताए।  त्यस्तै  उपाध्यक्ष हेम राज शर्माले आफु पनि  सहकार्य र सहमतिको आधारमा केन्द्रको नयाँ नेतृत्व चयन गर्ने पक्षमा रहेको बताए।  

यसैगरी महासचिव पदमा उम्मेदवारी घोषणा गरेका एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी,  एनआरएनएको सचिव पदमा उम्मेदवारी घोषणा गरेका एनसीसी  पोर्चुगलका पूर्व अध्यक्ष भिम कमल केसी, एनआरएनए क्यानाडाका पूर्व अध्यक्ष दिपक गौतमले पनि संघमा एकता र सहकार्य अरु बढी आवश्यक रहेको बताए ।

त्यस्तै युवा उपाध्यक्ष राज रेग्मीले एनआरएनएले मध्यपूर्वमा कार्यरत २० लाख भन्दा बढी नेपालीहरुको एजेन्डालाई अगाडि बढाउनु पर्ने बताए । उनले नेपालीहरुले प्रवासमा आर्जन गरेको ज्ञान, सीप र सानोसानो पूँजीलाई एकत्रित गरेर नेपालमा लगानी गर्नु पर्ने बताए ।  उनले संघमा व्यक्तिगत स्वार्थ र इगोलाई छाडेर सामूहिकताको आधारमा अगाडि बढ्न पनि सुझाव दिए ।

समारोहमा गैरआवासीय नेपाली संघका उप महासचिवद्वय रामशरण सिम्खडा,  उप महासचिव गङ्गाधर गौतम, युरोप उपसंयोजकद्वय दयानिधि शर्मा तथा कृष्ण तिमल्सेना, युरोप युवा उपसंयोजक रोवर्ट लिम्बु, पूर्व सल्लाहकार विश्वआदर्श पण्डित, जनसम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरुङ, एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष बुद्धि सुवेदी, एनआरएनए क्यानडाका पूर्व अध्यक्ष दिपक गौतम, पूर्व आइसीसी सदस्य अनुजा प्रधान, प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुङ्ग भद्र भुसाल नेपाल पत्रकार महासंघ युकेका पूर्व अध्यक्ष चिरन शर्मा लगायतले शुभकामना दिएका थिए ।

संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले तीनजना अध्यक्ष भए पनि आफुहरुले संस्थाको मर्यादा जोगाएर काम गरीरहेको बताए। उनले गएको २० वर्षदेखि थाँती रहेका मुद्दाहरु समाधान हुने क्रममा रहेको  बताउँदै आउँदो अक्टोबर महिनाभित्र गैर आवासीय नेपाली नागरिकता कार्यान्वयनमा आइसक्ने बताए।  उनले अब आफु चुनावमा नउठ्ने बताउंदै सहमतिको आधारमा नयाँ नेतृत्व चुन्न आग्रह गरे ।

नयाँ कार्यसमितिलाई बधाई

कार्यक्रममा एनआरएनए युकेका नवनिर्वाचित अध्यक्ष हितकाजी गुरुङले पूर्व गोर्खाहरुको समानताको अधिकार, सम्पत्ति सुरक्षा, नेपाली नागरिकताको निरन्तरता, भाषा संस्कृतिको संरक्षण, पर्यटन प्रवर्धन, युवा तथा विद्यार्थी र सामाजिक रुपान्तरण सहित ८ बुँदे संकल्प पढेर सुनाए ।  उनले आउँदो २ वर्षका लागि नयाँ कार्यसमितिको कार्ययोजना पढेर सुनाएका थिए ।

समारोहमा गैरआवासीय नेपाली संघका पूर्व सल्लाहकार विश्वआदर्श पण्डित, उप महासचिव  रामशरण सिम्खडा, सचिव गङ्गाधर गौतम, सह कोषाध्यक्ष  कृष्ण तिमल्सेना,  युरोप उपसंयोजक दयानिधि शर्मा, युरोप युवा उपसंयोजक रोवर्ट लिम्बु, पूर्व सदस्य अनुजा प्रधान, रोयल बरो अफ ग्रीनविचका उपमेयर  काउन्सिलर जीत रानाभाट, नेपाली  जनसम्पर्क समिति युकेका अध्यक्ष युवराज गुरुङ, प्रवासी नेपाली मंच युकेका अध्यक्ष तुङ्ग भद्र भुसाल लगायतले शुभकामना दिएका थिए ।

एनआरएनए युकेका महासचिव गोविन्द खरेलले संचालन गरेको कार्यक्रममा चर्चित जनवादी गायक जीवन शर्मा, सुदीप क्षेत्री लगायतका कलाकारहरुले लोकप्रिय गीतहरु सुनाएर सहभागीहरुलाई नचाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ