arrow

विराटनगर घोषणापत्र जारी गर्दै ज्येष्ठ नागरिक महोत्सव सम्पन्न

logo
प्रकाशित २०७३ कार्तिक ७ आइतबार
morang j.jpg.jpeg
विराटनगर । मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित दुईदिने ज्येष्ठ नागरिक महोत्सव २३ बुँदे विराटनगर घोषणापत्र जारी गरी आइतबार सम्पन्न भएको छ । 
 
घोषणापत्रमा ज्येष्ठ नागरिकहरुको हक, अधिकारको संरक्षण र सम्बद्र्धन गर्दै आफ्ना चलअचल सम्पत्ति ज्येष्ठ नागरिकले आफूखुसी प्रयोगका साथै आफ्ना सन्तानले कमाएको सम्पत्तिमा पनि हक लाग्ने कानुनको व्यवस्थाको माग गरिएको छ । 
 
ज्येष्ठ नागरिकका लागि बनेको नागरिक ऐन, २०६३ र बनेको नियमावली, २०६५ आवश्यक संयन्त्र बनाई यथाशीघ्र लागू गरिनुपर्ने, संवैधानिक हैसियतको ज्येष्ठ नागरिक आयोग गठन हुनुपर्ने, सार्वजनिक साधनमा सीट आरक्षित र ५० प्रतिशत भाडामा छुट र स्वास्थ्य सेवामा ५० प्रतिशत छुटको व्यवस्था हुनुपर्ने माग गरिएको छ । 
 
यस्तै, ज्येष्ठ नागरिकमैत्री समाज निर्माण गर्न ज्येष्ठ नागरिकसम्बन्धी पाठ्यसामग्री अनिवार्य गर्नुपर्ने, प्रत्येक प्रदेशमा एउटा-एउटा ज्येष्ठ नागरिक ग्रामको व्यवस्था, बिमाको व्यवस्था, प्रत्येक सरकारी अस्पतालमा कम्तीमा १० शय्याको ज्येष्ठ नागरिक वार्डको व्यवस्थाको माग गरिएको छ । 
 
यसका साथै, राजनीतिक दलहरुले ज्येष्ठ नागरिक विभाग गठन गर्नुपर्ने, स्थानीय निकायले सार्वजनिक स्थलमा ज्येष्ठ नागरिक सेवाकक्ष राख्नुपर्ने, मासिक भत्ता वितरणलाई अझ सहज बनाउनुपर्ने र प्रत्येक वर्ष १ अक्टोबरमा अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउनुपर्ने विषयमा घोषणापत्रले जोड दिएको छ । 
 
सो अवसरमा ज्येष्ठ नागरिक महोत्सवका संयोजक एवम् सांसद भरतमोहन अधिकारीले ज्येष्ठ नागरिकका लागि बनाइएका ऐनहरु कार्यान्वयनमा नआएकाले यस विषयमा सवैले गम्भीर हुनुपर्ने विषयमा जोड दिए । 
 
उनले महोत्सवमा प्रदेश नं १ का तीनहजार सातजना ज्येष्ठ नागरिक सहभागी भएको र यसका लागि विभिन्न सङ्घसंस्था र व्यक्तिले आ–आफ्नो जिम्मेवारी लिएर व्यवस्था मिलाइएको जानकारी गराए  । 
 
सो अवसरमा महोत्सवका सचिव जीवन घिमिरेले ज्येष्ठ नागरिकको भोजनको व्यवस्था गोल्छा अर्गनाइजेसन, आवासको व्यवस्था उद्योग सङ्गठन र टोपीको व्यवस्था सहकारीले गरेको जानकारी गराए  । त्यस्तै, सङ्खुवासभाका धनबहादुर खड्का र मदन तामाङले रु दुई लाख ३१ हजार मूल्य बराबरको रुद्राक्ष ज्येष्ठ नागरिकबीच वितरण गरे। रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ