arrow

विद्युत व्यापारको कुरा चीनसँग पनि – प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ५ मंगलबार
prachanda-2080-05-05.jpg

भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार विद्युत उत्पादनबाट देशको अर्थतन्त्रमा आत्मनिर्भर हुने सपना पूरा गर्न लागि परेको बताएका छन् ।

भरतपुर २२० र १३२ किलोभोल्ट (केभी) सबस्टेसन र हेटौंडा–भरतपुर– बर्दघाट २२० केभी डबल सर्किट प्रसारण लाइनको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
 
उनले भने, ‘यसका लागि सरकारले निजी लगानीकर्तालाई विद्युत उत्पादनमा प्रोत्साहन गरेको छ ।’ प्रधानमन्त्री दाहालले अन्तरदेशिय ट्रान्मिस्सन लाइन विस्तार गरी विद्युत व्यापारलाई प्राथमिकता दिएको उल्लेखसमेत गरेका छन । अगाडि भने,  ‘हालैको भारत भ्रमणमा भारत सरकारसँग विद्युत खरिदमा भएको समझदारीले यसका लागि सकारात्मक पहल भएको छ ।’ 

बंगलादेशसँग विद्युत व्यापारको ढोका खुलेको बताउँदै प्रधानमन्त्री दाहालले आसन्न चीन भ्रमणमा पनि विद्युत व्यापारको सम्भावना रहेको जानकारी दिए । यद्यपि पधानमन्त्रीले आफूहरुको जोड बढी भन्दा बढी स्वदेशमा विद्युत खपत गरी जनताको जीवनस्तर उकास्नेतर्फ नै सरकारको जोड रहेको पनि स्पष्ट पारेका छन् ।

विद्युत विकासमा उत्पादन, प्रशारण र वितरणको नीति लिइनुपर्ने उनको भनाइ छ । विगतको भन्दा अहिले उत्पादनमा तीब्रता आएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक ९ईआइबी० को सहुलितपूर्ण ऋणमा सब स्टेसन र नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइन निर्माण गरिएको हो । सबस्टेसन २०७७ को असारमा ठेक्का लागेर २०८० को साउनमा निर्माण सम्पन्न भएको थियो । यसको कूल लागत एक अर्ब ५२ करोड छ ।

हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारण लाइनको लम्बाइ करिब १४७ किलोमिटर छ । ७ अर्ब ९४ करोड कूल लागतमा निर्माण सम्पन्न भएको यो प्रसारण लाइनबाट एक हजार मेगावाटसम्म विद्युत् प्रवाह गर्न सक्ने क्षमता छ ।

हेटौंडा–भरतपुर र भरतपुर–बर्दघाट दुई खण्डमा विभाजन गरी यसको निर्माण गरिएको थियो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौँडा सबस्टेसनबाट नयाँ भरतपुर सब स्टेसनसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको एउटा सर्किटलाई १३२ केभीमा चार्ज गरिएको छ ।

दोस्रो खण्डअन्तर्गत नयाँ भरतपुर सबस्टेसनबाट सुरु भइ बर्दघाट सबस्टेसनमा अन्त्य हुने ७४ किलोमिटर २२० केभी डबल सर्किट प्रसारण लाइनलाई हाल १३२ केभीमा सञ्चालनमा ल्याइएको छ ।

प्रसारण लाइनको क्षमता सुदृढीकरण, नेपालको एकीकृत विद्युत् प्रणाली विश्वसनीय बनाउन पश्चिम क्षेत्रमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत् प्रवाहका लागि हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण गरिएको हो । नेपाल सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा आयोजना सुरु गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ