arrow

प्रादेशिक क्रिकेट सङ्घमा सिग्देल

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
Sanjaykanta sigdel.jpg

पोखरा । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सञ्जयकान्त सिग्देल निर्वाचित भएका छन् । पोखरामा सम्पन सङ्घको दोस्रो अधिवेशनले सिग्देललाई अध्यक्षता सर्वसम्मत निर्वाचित गरेको हो । 

सिग्देल कास्की जिल्ला क्रिकेट संघका अध्यक्षसमेत हुन् । सङ्घको उपाध्यक्षमा नवलपुरका प्रकाश पौडेल, सचिवमा तनहुँका सुमनराज कार्की र कोषाध्यक्षमा स्याङ्जाका दिवाकर थापा छन् ।

संघको कार्यसमिति सदस्यमा कास्कीका देवेन्द्र प्रजु, ऋषिराम गौतम, भोजराज बराल, बागलुङका फणीन्द्रबहादुर खड्का र सन्तोष शर्मा, नवलपुरका धामनाथ सापकोटा, पर्वतका रेशमबहादुर केसी, स्याङ्जाका विद्यादेवी भट्टराई रहेका छन् ।

सो अवसरमा नवनिर्वाचित अध्यक्ष सिग्देलले पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मैदानका रुपमा विकास गर्न सरोकार निकायसँग पहल गर्ने प्रतिबद्धता जनाए ।

उनले प्रदेश सरकार तथा महानगरसँग मिलेर क्रिकेटका पूर्वाधार निर्माण आफ्नो प्राथमिकता रहेको बताए ।

अध्यक्ष सिग्देलले भने, “पोखरालाई काठमाडौँपछिको सौन्दर्यकै हिसाबले पनि अन्तर्राष्ट्रिय क्रिकेट भेन्यु बनाउन नेपाल क्रिकेट सङ्घलेसमेत प्रतिबद्धता जाहेर गरेको छ । यहाँ हामी पनि सबैसँग समन्वय गरेर सुविधासम्पन्न पूर्वाधार निर्माणका लागि काम गर्छौं ।” 

पोखरा रङ्गशालाभित्रको क्रिकेट मैदानसँगै अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता आयोजना गर्न आवश्यक वैकल्पिक मैदान नहुँदा पोखराामा ठूला प्रतियोगिता हुन सकेका छैनन् ।

गण्डकी प्रदेश सरकारले पोखरा-३३ मा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने निर्णय गरेपनि कार्यान्वयनमा आउन सकेको छैन । 

चालु आवमा प्रदेश सरकारले प्रादेशिक क्रिकेट मैदान बनाउन रु ४० लाख बजेट छुट्टाएको छ । 

बजेट सम्भावित जग्गाको खोजी कार्य गरी पहिचान गरेर बनाउन प्रादेशिक क्रिकेट सङ्घ गण्डकीले दबाब दिने अध्यक्ष सिग्देलले बताए ।

साधारणसभामा नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले पोखराको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय भेन्यु बनाउने प्रतिबद्धता जनाए ।

उनले भने, “नेपालले यु-१९ महिला विश्वकप आयोजना गर्दैछ । अबको तीन वर्षभित्रमा पोखरालाई काठमाडौँपछिको अन्तर्राष्ट्रिय भेन्यु बनाउन चाहन्छौँ ।” 

अध्यक्ष चन्दले पोखरा रङ्गशालाको क्रिकेट मैदानमा आवश्यक पूर्वाधार निर्माणमा जोड दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ