arrow

नेकपा एसको महाधिवेशन माघमा, सदस्यता फोनबाटै लिन सकिने

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ७ बिहिबार
ncp-united-2080-05-05.jpg

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको महाधिवेशन आगामी माघमा हुने भएको छ । केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्दै पार्टी उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले माघ १४ देखि १८ गतेसम्म पार्टीको दशौँ महाधिवेशन आयोजना गर्ने बताएका हुन् । 

उनले त्यसअघि पार्टीमा युवाविद्यार्थीको सहभागिता बढाउने उद्देश्यले महाधिवेशन अघावै युवाविद्यार्थी लक्षित विशेष कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको बताए । 

त्यस्तै मुलुकका रुपान्तरणकारी एजेण्डाका साथ मेची–महाकाली राष्ट्रिय अभियान आयोजना गर्ने निर्णयसमेत गरेको छ । 

त्यस्तै बैठकले देशभर पार्टीको बिस्तार गरी आगामी २०८३ सालको स्थानीय तहको निर्वाचनमा लड्ने र बहुसंख्यक पालिकाहरुमा बहुमत ल्याउन सक्ने गरी पार्टीको निर्माण गरेरमात्रै त्यो अभिभारा पूरा गर्न सकिने र आगामी दिनमा सबै राजनीतिक र साङ्गठनिक प्रयासहरु त्यसकै लागि केन्द्रित हुने निर्णय गरेको छ ।

त्यस्तै बैठकले कार्यक्षेत्रको विभाजन गर्दा सामान्यतः संघीय निर्वाचन क्षेत्रलाई आधार बनाएर केन्द्रीय कमिटीका सदस्यको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । 

मंसिर मसान्तसम्म कमिटी नभएका पालिका र वडाहरुमा कमिटी गठन र सबै कमिटीहरुले सदस्यताको वितरण गर्ने काम हुने प्रवक्ता खतिवडाले बताए । 

१५ दिन पनि कार्यक्षेत्रमा समय दिन नसक्ने कुनै पनि तहका कमिटीका अध्यक्ष र सचिवहरुलाई उक्त जिम्मेवारीबाट मुक्त हुनका लागि आग्रह गरिने र त्यस्ता पदाधिकारीलाई अन्य जिम्मेवारी प्रदान गरी निर्णय कार्यान्वयन गरिने बताए । 

बैठकले देशका विभिन्न स्थानहरुमा दलितको घर जलाउने, निर्माणाधीन घर भत्काउने, अन्तरजातीय विवाह गर्नेहरुलाई झुटा मुद्दामा फसाउने लगायतका दलित माथी हुने जातीय छुवाछुत र भेदभावको घटनाको भत्र्सना गरेको छ । जातीय छुवाछुत जस्तो जघन्य अपराधलाई नियन्त्रण गर्न आवश्यक कदम नेपाल सरकारसँग माग गरेको छ । 

सदस्यता फोनबाटै

नेकपा एकीकृत समाजवादीको पार्टी सदस्यताको आवेदन फोनबाटै दिन सकिने भएको छ।

 मंगलबारदेखि शुरु भएर बिहीबार सकिएको पार्टीको छैटौँ पूर्ण बैठकले पार्टीको सूचनालाई बढी प्रभावकारी बनाउने जनाएको हो।

पार्टीका कुनै पनि कमिटीको बैठकका निर्णअनुसार हरेक सदस्यले लिएका जिम्मेवारीको अनुगमन गर्ने र त्यसका लागि कस्ले कुन दिन कुन काम गरेको हो भन्ने जानकारी तुरुन्तै केन्द्रमा आउने व्यवस्था गरिने व्यवस्था गरिने बैठकको निर्णय छ।

पार्टीका बारेमा सकेसम्म बढी सूचना पाउन सक्ने गरी पार्टीको डिजिटल एपको प्रयोगलाई प्रभावकारी बनाउँदै लगिने निर्णयसमेत बैठकले गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ