arrow

बालसुधार गृहका दोषीलाई कानूनी दायरमा ल्याउन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
human-right-nepal.JPG

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्य, सुरक्षा एवं जीवनको अधिकारप्रति संवेदनशील हुँदै भक्तपुर बाल सुधारगृहको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेको छ ।

आयोगले बाल सुधारगृहमा भयरहित वातावरणको सुनिश्चितता गर्न र त्यस प्रकारका घटना पुनः दोहोरिन नदिन सम्बद्ध सबै पक्षलाई आग्रहसमेत गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा उक्त घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउन माग गरे ।

भक्तपुरको मध्यपुरस्थित बाल सुधारगृहभित्र यही भदौ ३ गते रामेछापका कमल बस्नेतको मृत्यु भएको विषयलाई लिएर बाल सुधारगृहमा तोडफोड भएको र सुधारगृहबाट बालबालिका बाहिर निस्केका थिए । उक्त घटनाका बारेमा आयोगले अनुगमन गरेको छ ।

अनुगमनका क्रममा आयोगले बाल सुधारगृहमा रहेका बालबालिका, बाल सुधारगृहको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, नेपाल प्रहरीबाट गठित छानबिन समिति तथा भक्तपुर जिल्ला सुरक्षा समितिबाट गठित छानबिन समितिका सदस्यसँग प्रत्यक्ष भेटी जानकारी लिनुका साथै बाल सुधारगृह परिसरको अवलोकन गरेको जनाइएको छ ।

बाल सुधारगृहको व्यवस्थापनको जिम्मेवारी लिएको युसेप नेपालले आफ्नो नियन्त्रण र निगरानीमा राखिएका बिरामी बस्नेतको स्वास्थ्योपचारमा संवेदनशीलता नदेखाएको एवं सुधारगृहका कमान्डरले आवश्यक समन्वय गर्न नसकेकाले सामान्य बिरामी परेका निज कमलको उपचार अभावमा मृत्यु भएको भन्दै बालबालिकाले विरोध गरेका थिए ।

बाल सुधारगृहका बालकको समूहले यही भदौ ४ गते ढुङ्गामुढा तथा तोडफोड गरी सुधारगृृहबाट भागेको, भागेकामध्ये केही सम्पर्कमा आएको र अझै १० जना सम्पर्कमा आउन बाँकी रहेको अनुगमनबाट पाइएको आयोगले जनाएको छ । आयोगले कमल बस्नेतको मृत्यु भएको घटनाको उजुरी दर्ता गरी अनुसन्धान प्रारम्भ गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ