arrow

राज्यविहीन दश लाख रोहिङ्ग्या शरणार्थी स्वदेश फिर्तीको माग गर्दै प्रदर्शनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ८ शुक्रबार
rohingya-bangladesh-2023.jpg

कक्स बजार । सुरक्षित रुपमा स्वदेश फिर्तीको माग गर्दै बङ्गलादेशमा शरणार्थी जीवन बिताइरहेका रोहिङ्ग्या शरणार्थीले जुलुस निकालेर विरोधप्रदर्शन गरेका छन् । 

हजारौं रोहिङ्ग्या शरणार्थीले आफूहरूमाथि भएको अमानवीय हिंसाको छैटौँ वार्षिकीमा आज बङ्गलादेशका विभिन्न शिविरमा विरोधप्रदर्शन गरेका हुन् । बङ्गलादेशले राज्यविहीन अल्पसङ्ख्यकका  १० लाख रोहिङ्ग्यालाई शरण दिएको छ । 

सन् २०१७ मा म्यान्मामा भएको सैनिक कारवाहीबाट भागेका शरणार्थीले अन्तरराष्ट्रिय फौजदारी अदालतले नरसंहारका दोषीलाई कारवाही गर्नुपर्ने माग पनि गरेका छन् । उक्त अदालतले म्यान्माले गरेका अपराधको अनुसन्धानको अध्ययन गरिरहेको छ । 

शरणार्थी बस्तीहरूमा व्यापक अराजकता छाएको छ भने अन्तरराष्ट्रिय मानवीय सहायता पनि कटौती भएको छ । शरणार्थीलाई स्वदेश फर्काउने सहमति नहुँदा उनीहरूमा चरम निराशा छाएको छ । 

बजेट कटौतीले राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम पर्याप्त खाद्यान्न उपलव्ध गराउन सकेको छैन । प्रति महिना एक जना शरणार्थीलाई रु एक हजार बराबरको खाद्य सहयोग उपलव्ध भएको छ । 

“हामी म्यान्मा फिर्तीको माग गर्छौँ, हाम्रो यो माग नयाँ  होइन, हामी म्यान्माका नागरिक थियौँ र हौँ। उनीहरू बिस्तारै म्यान्माको इतिहासबाट हाम्रो नाम मेटाउन खोजिरहेका छन्,” रोहिङ्ग्या समुदायका नेता कमल हुसेनले एएफपीलाई भनेका छन् । 

शरणार्थी शिविरको सुरक्षामा खटिएका एक जना सुरक्षा अधिकारीका अनुसार वर्षाका बावजुद  करिब दश हजार शरणार्थी विरोधप्रदर्शनमा सहभागी भएका थिए । 

विश्वको सबैभन्दा ठूलो शरणार्थी समस्या बनेको रोहिङ्ग्या शिविरहरूमा मानवीय अवस्था बिग्रँदै गएको छ । बेलाबेलामा शिविरमा हुने झडपमा महिला र बालबालिकासहित दर्जनौँ मारिएका छन् ।

बङ्गलादेश र म्यान्माले रोहिङ्ग्याहरूलाई  घर फर्काउने योजनामा काम गरिरहेका बताइए पनि मावनअधिकारवादी समूहले उनीहरूको स्वदेश फिर्ती सुरक्षित नभएको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

शरणार्थीसम्बन्धी आयुक्तको कार्यालयले म्यान्माका अधिकारीसँग छलफल जारी रहेको बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ