काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्व चयनकालागि शुरु भएको बिशेष साधारण सभाको उद्घाटन सत्र सकिएको छ।
काठमाडौंको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बिहान ९ बजेदेखि शुरु भएको साधारणसभाले आगामी एक वर्षका लागि अध्यक्ष र एक जना उपाध्यक्ष चयन गर्नेछ ।
'नयाँ कार्यसमिती आउनु पर्छ र फुटबलमा नातावाद-कृपावाद र भ्रष्टाचारको अन्त हुने अपेक्षा गरेको छु' साधारणसभाको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री दलजीत वि.के. नेपालीले भने ।
सुरक्षा ब्यवस्था अतिनै कडा रहेको छ। बाक्लो रुपमा सुरक्षाकर्मीहरु परिचालन भएका छन्। एफसीको सुरक्षा ब्यवस्ता कडा राख्नु भन्ने निर्देशन बमोजिम त्यस्तो ब्यवस्था गरिएको हो।
अबको केही समयमा बन्द सत्र शुरु हुनेछ भने ३ बजेदेखि मतदान प्रकृया शुरु हुने एनफाले जनाएको छ।
अध्यक्षका लागि हालका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ र उपाध्यक्ष कर्माछिरिङ शेर्पा चुनावी मैदानमा छन् ।यसैगरी एक उपाध्यक्षका लागि मणि कुँवर, दीपक खाती र उपेन्द्रमान सिंह मैदानमा छन् । एन्फाको यो १५ औं साधारणसभामा ६७ प्रतिनिधिले मतदान गर्नेछन् ।
यसैबीच, फिफा र एएफसीबाट आएका प्रतिनिधिले निर्वाचन प्रक्रियाबाटै अध्यक्ष र उपाध्यक्ष चुन्न लागेकामा खुसी ब्यक्त गरेका छन् ।