सिन्धुली । सिन्धुली जिल्लाको हराभरा रहेको महाभारत क्षेत्रमा वर्षेनी सडक विस्तार र मर्मतमा लाखौँ रुपैया खर्च हुने गरेको छ । तर, त्यस्ता सडकले निरन्तर हुने वर्षाका कारण जोखिम बढाउँदै गएकोतर्फ कसैको ध्यान गएको छैन ।
अविरल वर्षासँगै जाने बाढीपहिरोले वन जंगल क्षेत्र उजाड बनाउनुका साथै धेरै स्थानलाई धरासायी बनाएको छ । जिल्लाको अधिकांश स्थानमा दक्ष प्राविधिक विना नै सडक सर्भे र निर्माण हुने गरेका छन् ।
यस वर्ष भएको लगातारको वर्षाले झन् भताभुङ्ग बनाएको छ । जिल्लाको चुरे क्षेत्रसहित महाभारत क्षेत्रमा दक्ष प्राविधिक विना नै सडक निर्माण गर्ने गरिएको छ । जसका कारण अहिले सिन्धुलीका अधिकांश सडकहरु सञ्चालमा आउन सकेका छैनन् ।
दिगोपनलाई ख्याल नगरी मनोमानी रुपमा खनिएका सडकसँगै ठूलो रुपमा वन जंगलको क्षति भएको छ । सिन्धुलीको महाभारत क्षेत्र हुँदै जापान सरकारको सहयोगमा निर्मित वीपी राजमार्गको निर्माण सकिएसंगै प्राविधिक विनै घरघरमा बाटो लैजानका लागि जथाभावी स्काभेटर लगाएर भत्काइएका अधिकांश पाखामा अहिले जता ततै पहिरो गएको छ ।
पहिले बाटोको आवश्यकता मात्रै महशुस भयो, त्यसको कुनै दिगोपनाको ख्याल कसैले गरेनन्, हाल त्यहि बाटोले हैरानी बनाएको छ, जनप्रेमि उच्च मावि अरुणठाकुरका शिक्षक वासु खड्काले भने, ‘सुरुमा बाटो निर्माण गर्दा प्राविधिकलाई देखाउने काम पनि गरेनन् । त्यसै स्काभेटर लगाएर भत्काएको बाटोले हाल महाभारतको जंगलको विनास हुदै गएको छ ।’ २० किलोमिटर जति बाटोमा २० स्थानमा पहिरो गएका छन्, कतिखेर कुन बस्ति पहिरोमय हुन्छ भन्ने त्रास लिनुपर्ने अवस्था सिर्जना भएको छ ।
महाभारत क्षेत्रकै आडगढी मझुवा सडकखण्ड अन्र्तगतको सडक पनि पूर्णरुपमा सञ्चालमा आउन सकेको छैन । स्टिमेट र अध्ययन विना नै बाटो निर्माण गर्ने, एक स्थानबाट बाटो भत्काउँदा गाडी नचढे फेरी अकोतिर भत्काउने गरिएकाले जोखिम बढ्दै गएको छ ।
स्काभेटर ड्राइभर र राजनैतिक दलका नेता नै प्राविधिक बनेर ग्रामिण सडक निर्माण गर्नाले यस्तो विकराल स्थिति आएको स्थानीयहरु बताउँछन् । सडकको दिगोपनालाई ख्याल नगरी भौगोलिक क्षेत्रको अध्ययन विनै सिन्धुलीका अधिकांश ग्रामीण सडक निर्माणका लागि स्काभेटर लगाइएको स्थानीय मोहन कार्कीको भनाई छ ।
महाभारत क्षेत्रदेखि चुरेसम्म बनाइएको ग्रामीण सडक अधिकांश दक्ष प्राविधिक विनै हचुवाको भरमा निर्माण भएको छ । चुरेको भुवनोटनै कमलो हुने र स्काभेटरले खन्दा जमिन पुरै थर्किने भएकाले पार्नी परेपछि पहिरो खस्न थाल्ने स्थानीयको गुनासो छ ।
महाभारत क्षेत्र अन्र्तगत तीनकन्या, खोलागाउँ बाहुनतील्पुल, जलकन्या, रतनुचरा, मझुवा लगायतका गाविसहरुमा बनाइएका सडकले हाल हैरान बनाएकोे स्थानीयको भनाई छ । सम्बन्धित निकायले सडक विकास र विस्तारमा ध्यान दिएमा गाउँ र सदरमुकाम जोड्ने सडकहरु सदैब सञ्चालनमा आउने छ ।