arrow

न्यूरोसर्जरी शिखर सम्मेलन काठमाडौँमा, यस्तो छ दक्षिण एसियामा अवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
neson-congress-2023.jpg

काठमाडौँ । दक्षिण एसियाको न्यूरोसर्जरी अर्थात स्नायू शल्यचिकित्सा सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ । 

नेपाल न्यूरोसर्जन समाजका अध्यक्ष डा प्रबीण श्रेष्ठका अनुसार यही सेप्टेम्बर ७ देखि ९ (भदौ २१ देखि २३ गते) सम्म आठौँ दक्षिण एसियाली न्यूरोसर्जरी सम्बन्धी तीन दिने शिखर सम्मेलन काठमाडौँमा हुन लागेको हो । 

यो सम्मेलन पहिलो पटक सन् १९९९ मा नेपालबाट नै शुरु भएको थियो । नेपालमा हालसम्म यो सम्मेलन दुई पटक भइसकेको छ । दोस्रो पटक सन् २०१२ मा भएको थियो । 

विगत ६ वर्षदेखि यो सम्मेलन हुन नसकिरहेको बेलामा नेपाल न्यूरोसर्जन समाजले आठौँ शिखर सम्मेलन आयोजना गर्न लागेको हो ।  

डा. श्रेष्ठका अनुसार नेपालमा हाल करिब ११२ जना सक्रिय न्यूरोसर्जनहरु रहेका छन् र देशका विभिन्न भागहरुमा सेवारत छन् । तीमध्ये करिब आधा काठमाडौँ उपत्यका (राजधानी) भित्र कार्यरत छन् भने आधा देशका अन्य स्थानहरुमा कार्यरत छन् । 

हाल देशको सातै प्रदेशमा न्यूरोसर्जनको उपस्थिति रहेको हुनाले न्यूरोसर्जरी सम्बन्धी सेवा देशभर पुगेको छ । 

सन् १९८८ मा स्वर्गीय डा. उपेन्द्र देवकोटाले नेपालमा पहिलो पल्ट आधुनिक न्यूरोसर्जरी सेवा सुरु गरेपश्चात देशमा यस सेवाको शुरुआत भइ विस्तार हुँदै गएको हो । 

हाल नेपालमा रहेका न्यूरोसर्जन संख्याको हिसाबले पर्याप्त नभएता पनि सातै प्रदेशमा न्यूरोसर्जनको उपस्थिति हुनु उत्साहजनक कुरा हो । 

नेपालको पूर्वी र तराई क्षेत्रमा न्यूरोसर्जनको संख्या प्रशस्त भएता पनि पश्चिम र पहाडी क्षेत्रमा न्यूरोसर्जरी सेवा अझै न्यून रहेको छ ।  

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार करिब एक लाख जनसंख्याको लागि एक न्यूरोसर्जनको आवश्यकता पर्दछ । नेपालमा हाल यो अनुपात करिब सवा एक लाख जनसंख्याको लागि एक न्यूरोसर्जन रहेको छ । 

दक्षिण एसियाका अन्य देशहरुमा यो अनुपात नेपालको भन्दा कमजोर देखिन्छ । जस्तै भारतमा करिब दस लाख जनसंख्याको लागि एक न्यूरोसर्जन रहेका छन् भने बंगलादेशमा पनि झण्डै उस्तै अवस्था रहेको छ । 

पाकिस्तानको अवस्था निकै नाजुक रहेको देखिन्छ । जस अनुसार करिब पचास लाख जनसंख्याको लागि एक मात्र न्यूरोसर्जन रहेका छन् । 

श्रीलंकामा करिब आठ लाखको लागि एक न्यूरोसर्जन रहेका छन् भने माल्दिभ्समा करिब एक लाखको लागि एक न्यूरो सर्जन रहेका छन् । भुटानमा न्यूरोसर्जन र न्यूरोसर्जरी सेवाको अझै पनि धेरै कमी देखिन्छ ।  

नेपाल न्यूरोसर्जन समाजले नेपालमा न्यूरोसर्जरी सेवा र न्यूरोसर्जरी शिक्षाको विकासको लागि धेरै योगदान पुर्याउँदै आएको छ । 

हाल देशमा बर्सेनि विभिन्न शिक्षण अस्पतालहरुबाट करिब दश जना न्यूरोसर्जन उत्पादन हुँदै आएका छन् भने सातै प्रदेशमा न्यूरोसर्जरी सम्बन्धी विभिन्न गोष्ठी तथा सम्मेलन हुने गरेको छ । 

नेपाल न्यूरोसर्जन समाजमा हाल उपाध्यक्ष डा अमित थापा र महासचिव डा सुदन भट्टराईसहित जम्मा १५ सदस्यहरु रहेका छन् ।

दुई साताभित्र हुन गइरहेको दक्षिण एसियाली न्यूरोसर्जरी शिखर सम्मेलनले नेपालमा न्यूरोसर्जरीको विकासमा ठोस योगदान दिने नेपाल न्यूरोसर्जन समाजको विश्वास रहेको छ । 

निकट भविष्यमा नेपालमा न्यूरोसर्जरी सम्बन्धी सेवा अझै विस्तृत हुँदै गइ अझै सरल र सुलभ तरिकाले उपलब्ध हुन सक्ने विश्वास लिइएको अध्यक्ष डा. श्रेष्ठले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ