arrow

उपचार गर्न चिकित्सकको टोली गोसाइँकुण्डमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ ११ सोमबार
gosai-kunda_b.jpg
तस्बिर-फाइल

काठमाडौँ । रसुवा जिल्लाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली गोसाइँकुण्ड पुगेको छ । 

बागमती प्रदेश पर्यटन तथा सहकारी मन्त्रालय र हिमालय उद्धार सङ्घ काठमाडौँको सहकार्यमा गोसाइँकुण्डमा मेला भर्न गएका तीर्थयात्रीलाई लेक लाग्नेलगायत विविध समस्याको उपचारका लागि सातजनाको डाक्टर समूह गोसाइँकुण्ड पुगेको हो ।

सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिईओ) गोविन्द बस्यालले डा निशान्त जोशीको संयोजकत्वमा माउण्टेन मेडिसीन सोसाइटीका सातजना चिकित्सक गोसाइँकुण्ड पुगेको जानकारी दिए । 

डा जोशीले हिमालय उद्धार सङ्घको सोलुखुम्बुस्थित फेरिचे स्वास्थ्य चौकीमा काम गरिसकेका छन् । 

उक्त डाक्टर समूहले १० दिन उक्त क्षेत्रमा सेवा गर्नेछ । 

“उक्त टोलीले गोसाइकुण्ड जाने भक्तजनलाई बाटोमा समेत स्वास्थ्यसेवा प्रदान गर्ने र गोसाइँकुण्ड पुगेर एकादशीदेखि पूर्णिमासम्म स्वास्थ्य जाँच गर्नेछ,” प्रमुख कार्यकारी अधिकृति बस्यालले भने ।

सङ्घले सन् १९९७ देखि गोसाइँकुण्डमा डाक्टरको समूह पठाएर निःशुल्क सेवा प्रदान गर्दै आइरहेको सङ्घका अध्यक्ष डम्बर पराजुलीले जानकारी दिए । 

सङ्घले गोसाइँकुण्ड गएका तीर्थयात्रीलाई निःशुल्क औषधि उपचार र स्वास्थ्यसेवा प्रदान गर्ने अध्यक्ष पराजुलीको भनाइ छ ।

समुद्र सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइकुण्डमा रसुवाका प्रतिनिधिसभा सदस्य मोहन आचार्यको पहलमा भर्खरै मोबाइल फोनको टावरसमेत पुर्याइएको छ । 

यसअघि गोसाइकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई मोबाइल सम्पर्क गर्न निकै कठिन थियो । 

एकादशीदेखि भाद्र शुक्ल पूर्णिमासम्म लाग्ने उक्त मेलामा देश तथा विदेशबाट हजारौँ तीर्थयात्री कुण्डमा दर्शन गर्न पुग्ने गरेका छन् । 

गोसाइकुण्डमा हरेक वर्ष गङ्गादशहरा र जनैपूर्णिमा गरी वर्षको दुई पटक मेला लाग्ने गर्दछ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ