arrow

‘डायलासिस’ केन्द्र सञ्चालनमा जनशक्ति अभाव

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १२ मंगलबार
Saruwa rog hospital.jpg

पोखरा । गण्डकी प्रदेश सरकारमातहतको पोखराको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा रहेको ‘डायलायसिस’ सेवा केन्द्र सञ्चालनका लागि जनशक्ति अभाव भएको छ ।

सो अस्पतालमा हालै डायलायसिस सेवाका लागि २५ शय्या क्षमताको डायलायसिस केन्द्र स्थापना गरिए पनि आवश्यक जनशक्ति अभावले पूर्ण क्षमतामा सञ्चालन आउन सकेको छैन । 

अस्पतालमा रहेका डायलायसिस मेसिन दिनमा तीन सिफ्टमा सञ्चालन गर्न सकेको खण्डमा अधिकतम् दैनिक ३३ जनाले सेवा प्राप्त गर्न सक्ने अवस्था छ । 

तर सोका लागि आवश्यक जनशक्ति अभाव हुँदा पूर्ण सञ्चालनमा आउन नसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विकास गौचनले बताए । उनका अनुसार मुख्य गरी सेवा नर्स कर्मचारी अभाव भएको छ ।

गण्डकी प्रदेश सरकारले जिल्लास्थित अस्पतालमा मेसिन, उपकरण र जनशक्ति थप गरी सेवाको पर्खाइमा रहेकाको सङ्ख्या शून्य बनाइने जनाएको छ । 

उनले भने, “गण्डकी प्रदेश सरकारले डायलायसिस सेवाको पर्खाइमा रहेकाको सङ्ख्या शून्यमा झार्ने योजना अघि सारेको छ । तर हामीसँग सेवा केन्द्र सञ्चालनमा अझै जनशक्ति अपुग छ । अस्पतालमा भएका मेसिन पूर्ण क्षमतामा सञ्चालनका लागि चिकित्सक र नर्सिङ स्टाफको कमी छ ।”

अस्पतालले डायलायसिस सेवा सञ्चालनका लागि थप जनशक्ति माग गरेको छ । 

यसमा नर्सिङतर्फ २० जनाको माग गरिए पनि सो जनशक्तिबाट वार्ड, आकस्मिक कक्षसमेत सञ्चालन गर्नुपर्ने बाध्यता रहेको मेसु डा गौचनले बताए । 

उनका अनुसार आगामी असोज १ गतेदेखि नयाँ कर्मचारी भर्ना गरिए पनि अझै १० जना नर्स आवश्यक हुन्छ । 

नयाँ कर्मचारीका लागि सेवा सञ्चालनअघि तालिम प्रदान गर्नुपर्ने भएकाले एक महिना काठमाडौँमा तालिमका लागि पठाइने अस्पतालले जनाएको छ ।

अस्पतालले डायलायसिससहित अन्य सेवा सञ्चालनका लागि ३५ नयाँ कर्मचारी माग गरेको हो । 

यसमा चिकित्सक, नर्स, प्रयोगशाला, फार्मेसीलगायतका छन् । 

प्रदेश सरकारले मिर्गौलाका बिरामीको उपचारका लागि डायलायसिस सेवालाई सहज बनाउने नीति लिएको छ ।

अस्पतालहरूमा जनशक्ति थप गरी सेवालाई प्रभावकारी बनाउने सरकारी योजना छ ।

हाल प्रदेशभित्रका नौ सरकारी र छ निजी गरी १५ अस्पताल तथा स्वास्थ्य संस्थामा यो सेवा सञ्चालनमा छ ।

मिर्गौला रोगका बिरामीको सङ्ख्या बढ्दै जाँदा डायलायसिस सेवा लिने बिरामीको सङ्ख्या बढ्दो छ तर स्वास्थ्य उपकरण सीमित छन् ।

प्रदेश स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका अनुसार हाल प्रदेशका पाँच सय ७६ बिरामीले डायलासिसको सेवा लिइरहेका छन् ।

त्यसैगरी तीन सय तीन जना सेवाको पर्खाइमा रहेको र निजी अस्पतालमा महँगो शुल्क तिनुपर्ने बाध्यतामा रहेको जनाइएको छ ।

मन्त्रालयले डायलायसिस मेसिन खरिद गरेर पोखरासहित अन्य जिल्ला अस्पतालमा समेत पठाएकाले आगामी तीन महिनाभित्रमा सेवा सहज हुने बताइन्छ ।

प्रदेशअन्तर्गतका सबै अस्पतालमा सेवा सञ्चालन भएको र दमौली, लमजुङ, स्याङ्जा र पर्वत जिल्ला अस्पतालमा दुई-दुई थान डायलायसिस मेसिन थप गरिएको स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले बताए ।

उनले भने, “सरकार डायलायसिस सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था आउन नदिन र नागरिकले सहज सेवा प्राप्तिका प्राथमिकताका साथ काम गरिरहेको छ । सङ्क्रामक अस्पतालमा आवश्यक जनशक्ति, औजार, उपकरण र पूर्वाधार तयारी गरेका छौँ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ