arrow

कसरी आइपुगे एन्फा नेतृत्वसम्म नरेन्द्र ?

logo
प्रकाशित २०७३ कार्तिक ८ सोमबार
narendra-win-ANFA.jpeg
काठमाडौ । अखिल नेपाल फुटबल संघ एन्फामा २१ वर्षे एकलौटी राज सकिएको छ । यद्यपि, २१ वर्ष एन्फा चलाउने गणेश थापा पक्षधर नै नेतृत्वमा आएका छन् । 
 
सोमबार काठमाडौंमा भएको एन्फाको १५औं साधारणसभाबाट कार्यवाहक अध्यक्ष रहेका नरेन्द्रलाल श्रेष्ठ विजयी भए । श्रेष्ठले निकटतम प्रतिस्पर्धी कर्माछिरिङ शेर्पालाई ५ मतले पछि पार्दै चुनाव जिते । ३१ मत ल्याएका कर्माको सुशान मुद्धाले फेरि एकपटक धोका खाएको छ । 
 
३६ मत ल्याएर जितेका श्रेष्ठले उपाध्यक्ष समेत आफु पक्षधर पाएका छन् । उनले एक वर्षको अवधिमा नेपाली फुटबलको विकासका लागि सबैसंग सहकार्य गर्ने बताएका छन् । उता, शेर्पाले निर्वाचनको मत परिणाम जे जस्तो आएपनि एन्फामा सुशासन कामय गर्ने आफ्नो मुद्धा नहारेको र आफु झन् सशक्त भएको बताएका छन् । 
 
यस्तो छ नरेन्द्र घुम्ती 
बरिष्ठ उपाध्यक्ष रहेका तत्कालिन कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको २९ जेठ २०७२ मा असामयिक निधन भएपछि मनोनयबाट वरिष्ठ उपाध्यक्ष बनेका नरेन्द्र श्रेष्ठ २०७२ मंसिर ३ मा एन्फाको  कार्यवाहक अध्यक्ष भए । विश्व फुटबल महासंघ फिफाको इथिक्स कमिटीले भ्रष्टाचारको आरोपमा एन्फा अध्यक्ष गणेश थापालाई कार्तिक २९ गते १० वर्षको प्रतिबन्ध र २० हजार स्वीस फ्रयांक (करिब २१ लाख रुपैयाँ) जरिवाना गर्ने निर्णय गरेपछि श्रेष्ठले एन्फाको कार्यभारसम्हाले ।
 
एसियाली फुटबल महासंघ (एएफसी) र फिफाले समेत आ–आफ्ना वेबपेजमा गणेश थापालाई हटाएर एन्फा अध्यक्षको स्थानमा श्रेष्ठको नाम राखे । एन्फा कार्यसमितिको बैठक नबस्दै श्रेष्ठ कार्यवाहक अध्यक्ष भएका थिए । उनलाई सो जिम्मेवारी दिइएको प्रक्रियाबारे एन्फा, एएफसी, फिफा कसैले अझै भनेका छैनन् । अनुसन्धानका २०७१ मा थापा दुईपल्ट गरी सात महिना फुटबल गतिविधिबाट बाहिर रहे । सो अवधिमा तत्कालिन वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठ एन्फाको कार्यवाहक अध्यक्ष भए । उनको जेठमा निधन भएपछि पुनः थापा पदीय जिम्मेवारीमा फर्किए । 
 
थापाकै प्रस्तावअनुसार एन्फाको कार्यसमिति बैठकले ललितकृष्णको मृत्युपछि रिक्त रहेको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठलाई मनोनयन गरेको थियो । त्यसले निर्वाचित उपाध्यक्षको पदपूर्ति मनोनयनबाट हुन्छ कि हुँदैन भन्ने विवाद सिर्जना गरेपछि निकै हल्ला खल्ला भयो । जो अहिलेसम्म गुपचुपमै रहयो । श्रेष्ठलाई वरिष्ठ उपाध्यक्ष बनाएका थापा अध्यक्ष रहेको बैठकले नै एन्फामा भ्रष्टाचार भएको भन्दै आन्दोलन थालेका उपाध्यक्षहरू कर्मा्छिरिङ शेर्पा, विजयनारायण मानन्धर, किशोर राई र केन्द्रीय सदस्य पंकजविक्रम नेम्वाङलाई निलम्बन गरिदियो । 
 
उनीहरूलाई सूचना नदिई गर्न लागिएको एन्फाको साधारणसभा पुनरावेदन अदालत पाटनको अन्तरिम आदेशले रोक्यो । पुनरावेदनले उनीहरूलाई समेत समावेश गरेर साधारणसभा गर्न आदेश दिएपछि थापाले साधारणसभाको प्रक्रिया झन् अघि बढाएनन् । पछिल्लो समय निलम्बित तीन उपाध्यक्षसहित चार जनालाई फिफा र एफसीको निर्देशन अनुसार पुनःबहाली गरेपछि साधारण सभाको बाटो खोल्न कर्माछिरिङहरुले मुद्दा फिर्ता लिए ।  
 
यस्तै, न्युरोड टिम (एनआरटी)का पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठ गणेश थापा खेलाडी छँदै २०४४ सालमा एन्फाको सदस्य भएका थिए । सो कार्यसमिति जनआन्दोलन–२०४६ पछि विघटन भयो । पछि गीता राणा र थापाको नेतृत्व विवादको समयमा सहन्साह होटलमा भएको चुनावमार्फत थापा समूहमा उपाध्यक्ष हुँदै उनी २०५८ सालमा एन्फामा फर्किए । यसैगरी, २०६२ मा श्रेष्ठ महासचिव भए । यद्यपि, २०६४–६६ मा पदीय जिम्मेवारीबाट बाहिर रहे । 
 
२०६६ को एन्फा निर्वाचनबाट उनी उपाध्यक्ष भए । थापालाई निरन्तर साथ दिंदै आएका श्रेष्ठले अघिल्लो चुनावमा भने उम्मेदवारी नै दिएनन् । श्रेष्ठ एएफसीको मिडिया कमिटीको सदस्यमा रहेकै समयमा एन्फाको कार्यवाहक अध्यक्ष भए । त्यसअघि उनी अपिल कमिटी र युवा प्रतियोगिता आयोजक कमिटीमा रहे । उनी २०७० मा एन्फाको प्रतियोगिता कमिटी प्रमुखमा नियुक्त भएका थिए । ललित कृष्णको निधन र गणेश थापाको निलम्बनले नरेन्द्रको नेतृत्व सम्हाल्ने पालो चाँडै आइपुगेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ