काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा प्रवेश महाभियोग प्रस्तावबारे संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले अझै आधिकारिक धारणा तय गरिसकेको छैन ।
सोमबार पार्टी केन्द्रीय कार्यसमिति बैठमा महाभियोग प्रस्तावबारे लामो छलफल चलेपनि आधिकारिक धारणा तय भएन । बैठकमा मिश्रित धारणाहरु आएपछि सो बारेको छलफल समेत लम्बिएको छ । मंगलबार संसद बैठक बस्नु अघि केही न केही सार्वजनिक हुने बैठकमा सहभागि नेताहरुले बताएका छन् ।
मंगलबार बैठक ८ बजे विहानका लागि बोलाइएको छ । बैठकमा सहभागि कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले हाम्राकुरासँग भने, ‘मगलबार खाना खानु अघि नै केही न केही सार्वजनिक गर्ने भन्ने छ। कुनै एक बाटो तय होला । यही हुन्छ भन्न नसकिएपनि आधिकारिक धारणा वा संसदीय दलको नेतालाई जिम्मा दिने र संसदमा मतदान हुनु अघिसम्म आधिकारिक धारणा पेश गर्ने कुरा अघि बढ्ने मध्ये एक हुन सक्छ । संसदीय दलको नेतालाई जिम्मा दिएपछि संसदको छलफलमा सांसदहरुले आ–आफ्नो ढंगले कुरा राख्न पाउँछन् । छलफल रोकिँदैन ।’
नेता पाण्डेले बैठकको मूल एजेण्डा अरु भएपनि विविधमा रहेको महाभियोगले नै बैठकमा बढी स्थान पाएको र अन्य एजेन्डा ओझेलमा परेको बताए । उनले भने, ‘महाभियोगबारे सबै थरी कुरा आयो । केहीले हतारमा किन निर्णय गर्ने ? सत्तारुढ र प्रमुख विपक्षीले संसदको ठूलो दललाई जानकारी नै नदिई ल्याएको प्रस्ताव । के कारणले आएको हो ? के छ कारण ? त्यो प्रस्ट नभई किन लतारिने भने । अर्को थरीले यो जे जसरी आएपनि लोकमानलाई जोगाउन तिर लाग्नु हुँदैन पनि भनेका छन् ।’ यस्तै, केहीले यो कम्युनिष्टहरुले गरेको जालझेल हो पनि भनेका छन् ।
भ्रष्टाचारी लुक्ने अमृत बन्नु हुँदैन
बैठकमा सहभागि केन्द्रीय सदस्य चन्द्र भण्डारीले छलफलमा महाभियोगको नाममा भ्रष्टाचारीलाई लुक्ने अमृत बन्न नहुने धारणा आएको बताए । उनले भने, ‘संसदको सबै भन्दा ठूलो दललाई नसोधेर प्रस्ताव ल्याइएको छ । महाभियोग जस्तो विषयलाई हल्का बनाउने काम गरियो । लोकमानलाई बचाउने भन्ने सवाल होइन । हामीले भोली आफु सिद्धिने काम गर्नु भएन ।’
बैठकमा हतार नगरी मध्यमार्गी बाटो रोज्नु पर्ने कुरा उठेको उनले बताएका छन् । उनले थपे, ‘बैठकमा आधारणा राख्ने अधिकांशले व्यक्तिको पछि लागेर महाभियोगलाई हल्का बनाइनु हुँदैन भन्ने बहस भयो ।’ उ बेला हामी देश वर्बाद पार्ने सूर्यनाथलाई महाभियोग लगाउन सक्थ्यौं तर हामी सिद्धिनु थिएन । हामी आफु बिग्रिएनौं– भण्डारीले तर्क गर्दैै भने ।
तत्काल पार्टीको निर्णय नआउने भन्दै उनले संसदको प्रक्रिया अघि बढाउन बाधा नपर्ने र आफुहरु स्याल कराए जस्तो नगर्ने बताए ।
भोली अख्तियार नै नरहने अवस्था आउने र मुख्य भ्रष्टहरु छ्ट्ने अवस्था आउन नदिन तथा अख्तियार नै नरहने अवस्था आउन नदिन सुझबुझले अघि बढ्नु पर्नेमा कांग्रेसको जोड रहेको उनले जानकारी दिए । उनले बैठकमा सस्तो लोकप्रियताका लागि एमालेले हाउगुजी गरेको कुरा समेत उठेको सुनाए ।
छलफलको एजेण्डा के के थियो ?
संविधान संशोधन
स्थानीय तहकाे निर्वाचन
आन्तरिक संगठन व्यवस्थापन
र विविध
संविधान संसोधन गरी संविधान कार्यान्वयनको बाटो खोल्नु पर्नेमा सबै सदस्यहरुको एउटै धारणा रहयो । प्रदेशको सीमाङ्कनको असन्तुष्टी हटाउन सम्बन्धित क्षेत्रका जनप्रतिनिधि र जनतालाई छा्ड्ने की भन्ने विषय ज्वलन्त रुपमा उठेको छ । भाषामा विश्व भाषा अंग्रेजी हुने र राष्ट्रिय भाषा नेपाली नै हुने भन्ने विषयमा अहिले सम्म एक मत छ । नागरिकाताको सवालमा नेपाली मौलिकताको सम्मान हुनेगरी नागरिकताको विषय टुंगो लगाइनु पर्ने धारणा आएको छ ।
मूख्यगरी तराईको जनताका नाममा राजनीतिक स्वार्थलाई हेरेर हिमाल र पहाड छुट्ट्याउने विषय स्वीकार्य हुँदैन भन्नेमा कांग्रेस दृढ छ । त्यहाँको समाजिक, आर्थिक र राजनीतिक अधिकारको संरक्षणको पक्षमा सबै छन् । साथमा राष्ट्रिय सुरक्षामा बढी जोड दिइएको नेता भण्डारीले बताएका छन् ।
सोमबार क–कसले बोले ?
कात्र्तिक ४ गतेदेखि जारी बैठक अन्तर्गत सोमबार केन्द्रीय सदस्यहरु— बलबहादुर केसी, बालकृष्ण खाँण, मिनेन्द्र रिजाल, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्वे, चन्द्र भण्डारी, अजयकुमार चौरसिया, धनराज गुरुङ, महेन्द्र यादव, पुष्पा भुसाल, सुरेन्द्रराज पाण्डे, बद्री पाण्डे, ईश्वरी न्यौपाने, पार्वता डीसी चौधरी, गोविन्द भट्टराई, गुरुराज घिमिरे, बीरबहादुर बलायर, डिला संग्रौला, सरिता प्रसाई, बहादुर सिंह लामा तामाङ र लक्ष्मी परियारले आ–आफ्नो धारणा राखे ।