arrow

असफल प्रचण्डले राजीनामा दिनुपर्छः कांग्रेस सांसद शर्मा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
sunil-sharma-2080-05-13.jpg

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले सरकार असफल भएकाले अब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनुपर्ने बताएका छन् । 

काठमाडौँमा आयोजित ‘निजी क्षेत्रको आवाज’ विषयक वृहत छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सांसद शर्माले सरकारले जनहितमा काम गर्न नसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले कुर्सीमा बसिरहन उपयुक्त नहुने धारणा राखेका हुन् ।

अहिलेको राज्यसत्ता तस्करको संरक्षक बनेको दाबी गर्दै सांसद शर्माले तस्करको संरक्षकले सत्तामा बस्न नसुहाउने भएकाले नैतिक रुपमा प्रधानमन्त्रीसहित मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताए । 

‘तस्करको संरक्षक अहिलेको राज्यसत्ता हो, एक हो दुई हो तीन हो’, ठोकुवा गर्दै सांसद शर्माले भने, ‘तस्करको संरक्षकको नाताले यिनीहरुले सत्तामा धेरै दिन बसिरहन सुहाउँदैन, नैतिक रुपमा प्रधानमन्त्री प्रचण्डसहित सबैले राजीनामा गर्नुपर्छ ।’ 

प्रधानमन्त्री दाहालले केही वर्षमा नेपालमा नर्सहरू पाउन गाह्रो पर्ने अवस्था रहेको अभिव्यक्ति दिएको विषयलाई लक्षित गर्दै सांसद शर्माले प्रधानमन्त्री दाहालकै कारणले देशमा नर्स नपाउने अवस्था सृजना भएको आरोप लगाए । 

प्रचण्डले आफ्नै कार्यकर्तालाई चिकित्सा शिक्षा आयोगमा पठाएर ७८ वटा नर्सिङ कलेज बन्द गराएको भन्दै उनले जानाजान आफैँ काम बिगार्ने र आफैँ पछुताउने काम गर्नु लज्जास्पद भएको तर्क गरे ।

‘माओवादीका कार्यकर्ता श्रीकृष्ण गिरीलाई चिकित्सा शिक्षा आयोगमा पठाएर आफैँ दलको गिरिराजमणि पोखरेल शिक्षा मन्त्री भएका बेला नेपालमा चालु अवस्थामा रहेका ११७ वटा नर्सिङ कलेजमध्ये ७८ वटा कलेज बन्द गराउने काम गर्नुभयो, नेपालमा उत्पादन भएका नर्सहरू नेपालमै अपुग हुने अवस्था सृजना भयो, सीमा क्षेत्र भारतीय भूमिमा १६७ वटा कलेज खोल्न लगाएर नेपालीहरूलाई नर्सिङ पढ्न विदेश जान बाध्य पार्नुभयो, अनि अहिले नर्स अभाव हुने अवस्था आयो भनेर नाटक गरेर हुन्छ ?’ 

प्रधानमन्त्री प्रचण्डमाथि आक्रोश पोख्दै सांसद शर्माले भने, ‘नेपाललाई खोक्रो बनाएर युवाहरूलाई खाडीमा जान बाध्य बनाउने प्रचण्डलाई हामीले प्रधानमन्त्री मानिदिइराख्नुपर्ने, थपडी बजाइदिनुपर्ने, यस्तो हुदैन अब हामी बोल्नुपर्छ ।’

राजनीतिक नेतृत्वमा रहेकाहरु जिम्मेवार नबन्दा देशमा सबैतिर बेथिति मौलाएको र देश खोक्रो बन्दै गएको उदाहरण दिँदै सांसद शर्माले अब नेतृत्वले जे गर्दा पनि टुलुटुलु हेरेर बस्न नहुने धारणा राखे । 

मेडिकल कलेज व्यवसायीसमेत रहेका सांसद शर्माले उद्योग वाणिज्य महासङ्घको नेतृत्व गर्नेहरू निजी क्षेत्रका समस्याका विषयमा नबोलेको गुनासो पनि गरे । 

उद्योगी व्यवसायीले अब व्यवसायिक फाइदामात्र हेरेर नहुने भन्दै उनले देशलाई दुर्गतिबाट जोगाउन अगुवाइ गर्नुपर्ने आवश्यकता पनि औँल्याए ।

मारबाडी समुदायलाई नमन
उनले मारबाडी र नेवार व्यापारी समुदायलाई सम्बोधन गर्दै भने, ‘हामीले सानोमा सुनेको के हो भने रामलाल गोल्छा जो अहिले त हुनुुहुन्न हाम्रो हजुबुबा जस्तो मान्छे, एउटा लोटा लिएर आएर त्यो लोटा रिजालहरुलाई बेचेर त्यो पैसाले ब्यापार गरेको भनेर मैले सुनेको । म मारबाडी समुदाय होस् वा नेवार समुदाय होस् या जुनसुकै समुदायको व्यापारी हाम्रो अग्रजहरु जसले हामीलाई व्यापार सिकाउनु भयो । जसले नेपालमा उद्योग खोल्नुपर्छ, सफलतापूर्वक चलाउन सकिन्छ भनेर उदाहरणीय काम गर्नुभयो ती सबै समुदायका सम्पूर्ण साथीहरुलाई हृदयबाट नमन गर्न चाहन्छु । हाम्रा अग्रजहरुलाई म सलाम गर्न चाहन्छु ।’

उनले गलत ब्याख्या कसैले पनि गर्न नहुने भन्दै स्पष्ट पार्दै भने, ‘यो मुलुकभित्र पैदा भएका, यो देशभित्र जन्मिएका मारबाडी हुन्, जुनसुकै समुदाय हुन् ती सबै समुदायहरुको, व्यापारीहरुको सुरक्षा गर्ने, उहाँहरुलाई प्रोत्साहन गर्ने र अझ बढी व्यापार गर्नोस् भन्ने दायित्व तपाई हाम्रो पनि हो । हामीले त्यसलाई गलत ढंगले ब्याख्या गरियो भने गलत ढंगले बुझियो भने यो देशको दुर्भाग्य हुन्छ ।’ 
 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ