arrow

जलवायुबाट हुने असरको क्षतिपूर्ति लिन दाबी गरौँ : वनमन्त्री महतो

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १५ शुक्रबार
Birendra mahato.jpg

काठमाडौं । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले आगामी जलवायु सम्मेलनमा सरोकारवाला सबै सङ्घ संस्था र नेपाल सरकार मिलेर जलवायु परिवर्तनबाट मुलुकमा परेको असरको क्षतिपूर्ति लिन पहल गर्नुपर्ने बताएका छन् ।

नेपाल सरकार र यूएन वुमन नेपालको सहकार्यमा साथसाथै संस्थाले आज यहाँ आयोजना गरेको जलवायुसम्बन्धी कार्यक्रममा उनले जलवायु परिवर्तनसम्बन्धी आगामी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२८) मा धेरै उपलब्धि हासिल गर्न सकिने गरी सरकारले तयारी गरिरहेको जानकारी दिए ।  

उनले भने, “विगतमा जलवायु सम्मेलनलाई गोष्ठी र विदेश भ्रमणको रुपमा बढी केन्द्रित गरेको पाइयो । आगामी कोप-२८ मा सरकारले व्यापक तयारी गरेको छ, यसपाली पहिलो पटक एक लाख अमेरिकी डलर खर्चमा आफ्नै ‘पेभिलियन’ (बृहत मण्डला) राख्ने निश्चित भइसकेको छ । त्यसमा नेपालका मुद्दाबारे प्रदर्शन गरिनेछ । नेपालका हिमाल र नेपालले गरेका कामबारे त्यहाँ जानकारी गराइने छ ।”

वनमन्त्री डा महतोले जलवायु परिवर्तनको मुख्य जोखिममा महिला र बालबालिका बढी प्रभावित देखिएको उल्लेख गर्दै भने, “घरायसी तथा कृषि तथा अन्य सीपमूलक कार्यहरूमा पनि महिला नै अग्रपंक्तिमा छन्, पुरुष कमाउनका लागि बाहिर जाने वा विदेशिने भएकाले पनि महिला र बालबालिका जलवायु परिवर्तनले निम्त्याएको विपद्को बढी जोखिममा परेका छन् ।” 

व्यवस्थापनमा महिला र बालबालिकालाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा यूएन वुमन नेपालका राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया फर्नाण्डेज्ले नेपाल सरकारले समावेशिताका लागि चालेका कदम महत्त्वपूर्ण भएको बताउँदै जलवायु परिवर्तनका असर कम गर्न नेपालले चालेका कदमको प्रसंशा गरे ।

“हामी नेपाल सरकारसँग मिलेर जलवायुको असरले महिला तथा जोखिममा परेका समुदायका समस्या सम्बोधनमा काम गर्न इच्छुक छौँ”, उनले भने ।

संस्थाका अध्यक्ष प्रजिता कार्कीले संस्थाले गर्दै आएका कामका बारेमा जानकारी गराउँदै अहिले हाम्रो काँधमा भविष्यको पुस्ताको लागि बस्न योग्य पृथ्वी सुरक्षित गर्ने ठूलो जिम्मेवारी छ भने । 

उनले कृषिमा जलवायु परिवर्तनले गम्भीर असर गरिरहेको बताउँदै खाद्य सङ्कटतर्फ उन्मुख भइरहेका उल्लेख गरे ।

“अबको केही महिनामा नै विश्वका नेताहरू कोप-२८ सम्मेलनका लागि संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा भेला हुँदैछन् । हामीले जलवायु परिवर्तनको असरको बारेमा नीतिगत निमार्ण गर्ने केन्द्र तहदेखि स्थानीय तहसम्मका काममा निरन्तर समन्वय गरिरहेका छौँ”, अध्यक्ष कार्कीले भने ।

मन्त्रालय अन्तर्गतको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा बुद्धिसागर पौडेलले नेपालले २०४५ सम्म कार्बन शून्यको अवस्थामा जाने लक्ष्य राखेकाले यी लक्ष्य प्राप्तिका लागि सरकार र सरोकारवाला निकाय मिलेर काम गर्नुपर्ने बताए । 

जलवायु विज्ञ समा श्रेष्ठले जलवायुको सबैभन्दा ठूलो असर महिला तथा बालबालिकामा परेको बताउँदै यौन तथा प्रजनन अवस्थामा पनि जलवायुको असर परिरहेको उल्लेख गरे ।

अर्का जलवायु विज्ञ मन्जित ढकालले विश्व तापमान वृद्धिले जलवायु परिवर्तन देखिएको र यसले विपद् निम्त्याएको बताए । 

कार्बन उत्सर्जन घटाउनुपर्ने भए पनि विभिन्न मुलुकको अडानका कारण कार्बन उत्सर्जन रोक्न नसकिएको उनको भनाइ थियो । 

विज्ञ दिव्या गुरुङले निर्णय गर्ने छलफलमा पुरुष सहभागी हुने तर महिलालाई काम व्यस्ताका कारण सहभागी नगराउने गरिएको गुनासो गरे । 

अर्का जलवायु विज्ञ राजु पण्डित क्षेत्रीले जलवायु परिवर्तनका असरले पारेका असर कम गर्न सबै मिलेर काम गर्नुपर्नेमा जोड दिए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ