arrow

दुई पटक काल बेला परेको शनिदेवको प्रिय दिन कस्तो रहला ?

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०८० भदौ १६ शनिबार
rashifal-horoscope-1.jpg

आजको पञ्चाङ्ग

मिति २०८० भदौ १६ गते शनिबार, इस्वीसंवत सेप्टेम्बर २ तारिक सन् २०२३, शालिवाहनीयशाके १९४५, नेपाल संवत् ११४३, पिंगल नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रपदकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज भाद्रपदकृष्णपक्षको तृत्तीया तिथि रातिमा १ः०२ बजेसम्म त्यसपछि चतुर्थी तिथि लाग्नेछ । नक्षत्रमा उत्तरभाद्रपदा साँझमा ५ः१२ बजेसम्म त्यसपछि रेवति नक्षत्र लाग्नेछ । विष्कुम्भादि योगमा शूल २२ घटि १९ पलासम्म त्यसपछि गण्ड योग लाग्नेछ । करणमा वणिज अहोरात्र रहनेछ । आनन्दादि योगमा धूम्र रहनेछ ।

सूर्य सिंह राशिमा, चन्द्रमा मीन राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३१ घटि ३८ पला अर्थात १२ घण्टा ४० मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ५ः४३ बजे यम मुहूर्तमा भइसकेको छ भने सूर्यास्त साँझ ठीक ६ः२१ बजे हुनेछ । यस्तै, चन्द्रउदय साँझमा ८ः०५ बजे हुनेछ भने चन्द्रअस्त भोलि बिहानमा ७ः५३ बजे हुनेछ ।

आजको राशिफल

मेष : आज आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नयाँ पेशाको थालनीका लागि पनि आज राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ, सतर्क रहनु आवश्यक छ ।

वृष : समय शुभ रहनेछ, आम्दानीका नयाँ स्रोत थपिंदै जानेछन् । नयाँ–नयाँ कार्ययोजना बनाउँदा लाभ पाइने छ । फलफूल सम्बन्धी पेशामा उच्चतम् लाभ पाइने देखिन्छ । पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ । सही सदुपयोग गर्न सके उच्चतम् लाभ हासिल गर्न सकिनेछ ।

मिथुन : समय मध्यम खालको छ । स्वास्थ्य राम्रो रहने छैन । जति राम्रो काम गर्नुहोस्, आफैंलाई सन्तुष्टि नमिल्ने देखिन्छ । आज टाढाको यात्रा गर्नु पनि उचित छैन । जुनसुकै काममा बिघ्नबाधा आउन सक्ने देखिन्छ । सानो कुरामा चित्त दुख्ने बानीले सामाजिक जनजीवनमा अप्ठ्यारो पनि पार्न सक्ने छ ।

कर्कट : समय खराब रहनेछ । आफन्त व्यक्तिसंगै विवाद पर्ने सम्भावना छ । मानसिक चञ्चलपनले पेशागत हानी हुने सम्भावना बलियो छ । गर्न खोजेका काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यले साथ नदिन पनि सक्छ । आकस्मिक रोगले दुःख दिने हुनाले खानपान लगायत हरेक कार्यमा सतर्क हुनुहोला ।

सिंह : समय शुभ छैन । मानसिक चिन्ता बढ्नेछ । तिरस्कार, हिनतावोध, आफ्ना आश्रित कर्मचारी, छोरा–छोरीबाट धोका खानु पर्नेछ । नाता पर्ने व्यक्तिबाट असहयोगको सामना गर्नुपर्नेछ । आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ ।

कन्या : समय राम्रै छ । उठ्नुपर्ने धन उठ्ने, गरेको परिश्रमको राम्रो लाभ पाइने छ । मानसिक शान्ति र आराम मिल्ने समय चलिरहेको छ । जमिनसम्बन्धी जुनसुकै पेशा अथवा नगदेवालीमा आधारित कामबाट फाइदा राम्रै पाइने देखिन्छ । पुराना इष्टमित्र एक्कासी भेट होलान् ।

तुला : स्वास्थ्य राम्रो रहनेछ । आम्दानी बढ्ने, व्यापार–व्यवसायमा लाभ, प्रेमप्रसंग सुमधुर तथा पति–पत्नीको रमाइलो यात्रा हुनेछ । घरमा पारिवारिक सहयोग मिल्नेछ भने भएकाले महत्वपूर्ण कार्य तथा यात्रामा पनि सफल भइनेछ । समय शुभ समय रहेकाले धार्मिक कार्यमा लगानी हुन सक्नेछ ।

वृश्चिक : स्वास्थ्य एक्कासी बिग्रने अवस्था आइपर्नेछ । चिसोले दुःख दिन सक्नेछ । मानसिक अशान्ति, कार्यमा बिघ्नबाधा, खानामा गडबडी हुन सक्नेछ । यात्रामा संकट पर्न सक्ने भएकाले आज पूर्व दिशाको पात्रा नगर्नुहोला । आँखा वा शरीरको कुनैैै पनि भागमा दुख्ने वा चोट लाग्ने बलियो सम्भावना छ ।

धनु : समय अत्यन्तै खराब छ । आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानशिक असन्तुष्टिको अनुभव हुनेछ । समयमा खान नपाइने अथवा अगतिलो खाना सेवन गर्नुपर्ला । पुराना मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला ।

मकर : स्वास्थ्यले साथ राम्रै दिनेछ । मनमा फूर्ति र उत्साह बढेकै हुनेछ । काममा जाँगर बढ्नेछ, जागीर खाने ईच्छा भएमा प्रयास गर्नुहोस् सफलता मिल्ने छ । तपाईंले आँटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ ।

कुम्भ : जुनसुकै काममा विघ्नबाधा ज्यादा आइलाग्ने छन् । आर्थिक कारोबार पनि भद्रगोल हुनसक्नेछ । व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, आफन्तसंग कलह हुनसक्ने समय पनि चल्दै छ । सबै प्रकारले सतर्क रहनु अति आवश्यक छ ।

मीन : परिश्रम अनुसार राम्रै फल प्राप्त हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ । व्यवसायमा मनग्गे लाभ हुनेछ । तर, धन बाहिरिनाले अर्थ अभाव देखापर्न सक्छ । प्रयत्न गर्दा यात्रा गर्ने साइत जुर्न सक्छ । साथीभाइ र शुभचिन्तक भेटिनेछन् ।

साइत : सूर्य सिंह राशिमा, चन्द्रमा मीन राशिमा रहनेछ । त्यसैले उत्तर र पश्चिम बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज शनिबार परेकाले पूर्व दिशाको यात्रा गर्दै नगर्नुहोला । आज पूर्व दिशाको यात्रा पनि बाध्यताबश गर्नैपरेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा गर्दा राम्रो हुनेछ ।

शुभ लाभादि बेला

बिहान ५ः४३ बजेदेखि    ७ः१८ बजेसम्म    काल बेला
बिहान ७ः१८ बजेदेखि    ८ः५३ बजेसम्म    शुभ बेला
बिहान ८ः५३ बजेदेखि    १०ः२८ बजेसम्म    रोग बेला
बिहान १०ः२८ बजेदेखि    १२ः०३ बजेसम्म    उद्धेग बेला
दिनमा १२ः०३ बजेदेखि    १ः३८ बजेसम्म    चर बेला
दिनमा १ः३८ बजेदेखि    ३ः१३ बजेसम्म    लाभ बेला
दिनमा ३ः१३ बजेदेखि    ४ः४८ बजेसम्म    अमृत बेला
साँझ ४ः४८ बजेदेखि    ६ः२३ बजेसम्म    काल बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समय : बिहानमा ९ः०० देखि १०ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

नोट : यो पञ्चांगको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेदस्थान र विपरीत वेदस्थान समेतको गणना गरिएको छ ।

भिडियो पनि हेरौं



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ