arrow

७५ वटै जिल्लामा कम्तिमा एउटा सरकारी कलेज खोल्ने तयारी गर्दैछु : प्रधानमन्त्री

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
PM-ko-kura-ne-w.jpeg
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशका ७५ वटै जिल्लामा कम्तिमा एउटा सरकारी कलेज खोल्ने गरी सरकारले तयारी गरिरहेको बताएका छन् ।
 
मंगलबार कञ्चनपुरको पूनर्बासमा कृषि क्याम्पस स्थापनाका लागि प्रधानमन्त्रीसँग ज्ञापन पत्र पेश गर्न आएको सर्वदलीय, सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले भने, ‘अघिल्लोपटक प्रधानमन्त्री हुँदा मेरो नेतृत्वमा देशका विभिन्न भागमा विश्वविद्यालय स्थापनाको काम अगाडि बढ्यो । यसपटक शिक्षा क्षेत्रमा केही गुणात्मक काम गर्नुपर्छ भन्ने लागेको छ । अहिलेसम्म देशका केही जिल्लामा मात्रै सरकारी कलेज छन् । सरकारले देशका ७५ वटै जिल्लामा कम्तिमा पनि एउटा सरकारी कलेज खोल्ने तयारी गरिरहेको छ । छिटै हामी निर्णयमा पुग्छौं ।’
 
यस्तै, कृषि शिक्षाको महत्वबारे चर्चा गर्दै प्रधानमन्त्रीले भने, ‘कृषि शिक्षामा लगानी नगरी आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्न सकिँदैन । आज मात्रै मैले सिंहदरबारमा सचिव लगायतको टोलीलाई बोलाएर देशभर कृषि क्याम्पस स्थापना गर्न सकिने सम्भावनाको अध्ययन गर्न भनेको छु ।’
 
दाहालले अगाडि थपे, ‘कञ्चनपुरमा कृषि क्याम्पस स्थापनाका लागि तपाईहरुले खेलेको भूमिकाले सरकारको सोंचलाई पनि सहयोग गरेको छ । भोलि नै म अर्थ, शिक्षा, शहरी विकास लगायतका मन्त्रालयसँग छलफल गरी कृषि क्याम्पस स्थापनाको प्रक्रिया अगाडि बढाउँछु । मलाई आशा छ, छिटै प्रक्रिया अगाडि बढाएर क्याम्पसको शिलान्यास गर्ने अवसर जुट्नेछ ।’
 
भेटमा प्रतिनिधि मण्डलले सुदुरपश्चिमको समग्र विकासका लागि कृषि क्याम्पस अत्यावश्यक रहेको भन्दै कञ्चनपुरको पूनर्बासमा राष्ट्रिय आवास कम्पनिको नाममा रहेको ६५ बिघा जमिन कृषि क्याम्पसका नाममा उपलब्ध हुने वातावरण बनाइदिन प्रधानमन्त्रीको ध्यानाकर्षण गरायो । 
 
प्रतिनिधि मण्डलमा पूर्वमन्त्री एवं माओवादी केन्द्रका नेता लेखराज भट्ट, पूर्वसभासद् टेकेन्द्रप्रसाद भट्ट, माओवादी केन्द्रकी नेतृ बिना मगर, सुदुरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक भुषण श्रेष्ठ, कृषि क्याम्पस स्थापनार्थ तदर्थ समितिका संयोजक रामचन्द्र नेपाल लगायतका व्यक्तित्वहरु सहभागि थिए । 
 
भेटका अवसरमा माओवादी केन्द्रका नेता एवं कृषिमन्त्री गौरीशंकर चौधरीले कृषि क्याम्पस कञ्चनपुरको आवश्यकता रहेको भन्दै त्यसका लागि सबै ठाउँबाट मिलेर पहल गर्नुपर्ने बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ