स्याङ्जा । नेपाल प्रहरीले पछिल्लो समय नागरिक र प्रहरी विचको सम्वन्धलाई निकै गाढा बनाउन विभिन्न अन्तरक्रियाको थालनी गरेको छ । मुस्कान सहितको प्रहरी सेवा भन्ने नारा सहित गाँउ गाँउ पुगेको नेपाल प्रहरी हाल 'प्रहरी मेरो साथी' भन्ने नारा सहित गाँउ गाँउ पुग्न थालेको छ । प्रहरी र नागरिक विचको सम्वन्ध नजिक नभए सम्म समाजमा अपराधिक क्रियाकलापको न्यूनिकरण गर्न नसकिने निष्कर्ष प्रहरीको छ ।
नागरिकसगँ प्रहरीको अन्तरक्रिया कार्यक्रममा सहभागि हुन आएका पश्चिम नेपाल क्षेत्रिय कार्यालयका प्रमुख प्रहरी नायव महानिरिक्षक कमलसिंह बमले प्रहरी हाम्रो साथी हो भन्ने भावना लिएमा समाजमा कुनै पनि अपराधिक क्रियाकलाप नघट्ने बताएका छन् । स्याङ्जाको श्रीकृष्णगण्डकी गाविस स्थित मिर्मिमा भएको समयसामयीक विषयमा प्रहरी नायव महानिरिक्षक र नागरिक समाज विचको अन्तरक्रियामा नागरिकले उठाएका प्रश्नको जवाफ दिदै बमले सो कुरा बताएका हुन् । प्रहरीले जनताको शान्तिसुरक्षा सगै जिउधनको रक्षा गर्ने जिम्मेवारी बहन गर्ने संगठन भएकाले प्रहरीलाई मेरो साथी भन्ने मानसिकता हरेक नागरिकमा रहेमा कुनै पनि उछिङ्खल घट्नाहरु नघट्ने दावी गरे ।
जिल्लाका दुरदराज जहाँ प्रहरीको पहुँच नपुगेको ठाँउमा पनि प्रहरीले सेवाप्रवाह गरिरहेको उल्लेख गर्दै प्रहरी नायव महानिरिक्षक बमले प्रहरीले नागरिकलाई कस्तो व्यवहार गरेको छ भनेर प्रत्यक्ष अन्तरक्रिया आयोजना गरिएको बताए । समाजमा घटेका घट्नाहरुको पहिचान कसरी गर्न सकिन्छ, शान्तिसुरक्षा कसरी कायम गर्न सकिन्छ भन्ने बिषयलाई नागरिक सगै छलफल गरेर अगाडी बढ्न सजिलो हुनाले पनि प्रहरीले बेला बेलामा नागरिक सगँ अन्तरक्रिया गर्ने गरेको बमको भनाई थियो ।
जिल्लाका दुरदराजमा प्रहरीका उच्च अधिकारी नपुगेको बेला पश्चिम क्षेत्रका प्रहरी प्रमुख जनताको घरआगनमा पुग्दा नागरिकले खुलेर स्वागत सगै आफ्ना समस्याहरु राखेका थिए । अपराधीहरु राजनीतिक संरक्षणमा छाडीनु, गाविसमा रहेको चौकीको स्तरोन्नती, चौकीलाई सवारी साधनको आवश्यकता, भाडामा चल्ने सवारी साधनले लिने गरेको मनपरी भाडा असुली लगायतमा आवश्यकताका मागहरु डिआईजी बम सगँ नागरिकले राखेका थिए । प्रहरीले गर्न सक्ने कामलाई छिटोछरितो र सरकारले गर्नुपर्ने कामलाई प्रक्रियागत ढंगले सम्वोधन हुने डिआईजी बमले नागरिकहरुलाई आश्वस्त पारेका थिए ।
सो अन्तरक्रियामा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक देवबहादुर वोगटीले प्रहरी नायव महानिरिक्षकले दिएको निर्देशन अनुसार नै जिल्लाको शान्तिसुरक्षामा काम गदैृ आएको बताए । प्रहरीले नागरिकलाई देखाउनुपर्ने व्यवहारमा कुनै कमजोरी भएमा सिधै जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न पनि वोगटीले आग्रह गरे । वडा प्रहरी कार्यालयका प्रमुख उत्तमप्रकाश बरालले प्रहरी र नागरिक नङ् र मासुको सम्वन्ध जस्तै वरावर भएको उल्लेख गरे । प्रहरीले दिने सेवाप्रवाहमा कुनै कसुर बाँकी नराख्ने गरी काम गर्ने प्रतिवद्धता समेत बरालले गरे । जसले गर्दा प्रहरी र नागरिक विचको सम्वन्धलाई निकै बलियो बनाउने अपेक्षा लिएको छ ।