arrow

स्वास्थ्य मन्त्री थापाको निर्देशनपछि ल्याइँदै उपकरण नियमन निर्देशिका

logo
प्रकाशित २०७३ कार्तिक ९ मंगलबार
sadaningagan.jpeg
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले चिकित्सा उपकरणको गुणस्तरीयता नियमन गर्न निर्देशिका ल्याउने भएको छ ।  स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनपछि सो चिकित्सा उपकरण नियमन निर्देशिका ल्याउन लागिएको हो ।  मन्त्री थापाले पहिलेको मस्यौदालाई नै सशोधन गरी ल्याउन निर्देशन दिएपछि सुशासन ऐनमार्फत जारी गर्न लागिएको छ ।
 
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले निर्देशिकाको मस्यौदा तयार भइसकेकाले केहीदिनमै मन्त्रालयमा छलफलका लागि पठाउन लागिएको जानकारी दिए । ढकालले उपचारमा प्रयोग भइरहेका उपकरणको गुण्स्तरको नियमन नहुँदा गुणस्तरीय उपचार हुन नसकिरहेको भन्ने गुनासा आउन थालेपछि यससम्बन्धी निर्देशिका बनाइ अगाडि बढाउन लागिएको बताए । 
 
‘‘औषधि बाहेकका अन्य चिकित्सा उपकरण जस्तै सिरिन्ज, किटहरु, एक्स रे मेसिन, सि टि स्क्यान मेसिन, एमआरआई मेसिनलगायतका उपकरणको गुणस्तरीता नियमन गरी उपचारमा थप उत्कृष्ठता ल्याउन निर्देशिकाले सहयोग पुग्नेछ’’ महानिर्देशक ढकालले भने । 
 
यसअघि पनि २०७१ सालमा विभागले महानिर्देशक ढकालकै नेतृत्वमा निर्देशिका बनाएको थियो । तर त्यसमा विभिन्न कुराहरु नसमेटिएका कारण जारी हुन सकेका थिएन । नियमनका लागि आवश्यक जनशक्ति विभागसँग नभएकोले त्यसका लागि थप जनशक्ति, बजेटलगायतको व्यवस्था गर्न पनि मस्यौदामा उल्लेख गरिएको महानिर्देशक ढकालले बताउनुभयो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ