arrow

नेपालको सूचना प्रविधि क्षेत्रलाई थप परिष्कृत गर्नुपर्छ : उपराष्ट्रपति

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २५ सोमबार
Ram Sahaya pd yadhav.jpg

काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल सूचना प्रविधिको विकाससँग जोडिसकेकाले अब यो क्षेत्रलाई थप परिष्कृत र सुसंस्कृत बनाई उन्नत प्रविधिहरूको प्रयोग गर्दै अगाडि बढ्नुपर्ने बताएका छन् ।

‘लर्ड बुद्ध एजुकेसन फाउन्डेसन’ को रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘दुई दशकयता सूचना प्रविधि क्षेत्रमा मुलुकले उल्लेख्य प्रगति हासिल गरे पनि त्यसैमा सन्तोष मानेर हामी बस्नु हुन्न । हामीले यो क्षेत्रलाई थप उचाइमा पुर्‍याउन आवश्यक छ ।’

उपराष्ट्रपतिले मुलुकमा सूचना तथा प्रविधि शिक्षामा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेकामा फाउन्डेसनको उच्च प्रशंसा गर्दै आगामी दिनमा समेत नेपाललाई चाहिने जनशक्ति उत्पादनमा यो संस्था थप प्रतिबद्ध भई सक्रिय रहने विश्वास लिएको बताए ।

उनले फाउन्डेसनले चार वर्षयता सातै प्रदेशमा एक/महिलालाई निःशुल्क शिक्षा उपलब्ध गराएर शिक्षाका माध्यमबाट थोरै भए पनि महिलाको सशक्तीकरणमा योगदान पुर्‍याएकामा खुसी व्यक्त गरे ।

‘नेपालमा सूचना प्रविधिको विकाससँगै यस क्षेत्रमा नीतिगत तथा कानूनी आधारशिलाहरू तयार भइसकेका छन् । यसको एउटा प्रमाण ‘नयाँ पुस्ता प्रविधिमैत्री’ हुनु पनि हो’, उपराष्ट्रपतिले भने, ‘प्रविधिको क्षेत्रमा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक छ । भरपर्दो र गुणस्तरीय शिक्षामार्फत सेवा क्षेत्रमा दक्ष जनशक्तिसहितको रोजगारी उपलब्ध गराउन सके मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा छ । यो क्षेत्रमा थप विस्तारका लागि थप वातावरण तयार गर्न सबैले आ-आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नु पर्दछ ।’

उनले पछिल्लो समय युवाहरू विदेशिने क्रम बढेकामा गहिरो चिन्ता व्यक्त गर्दै स्वदेशमै भविष्य नदेखेर पलायन हुनुपर्ने बाध्यता टार्न व्यावहारिक, सीपमूलक र जीवनोपयोगी शिक्षा हाम्रो आवश्यकता भएको बताए ।

उनले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले सूचना प्रविधि क्षेत्रमा २५ वर्षको यात्रा पूरा गर्दै रजत महोत्सव मनाइरहेकामा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ