arrow

आलोचनाको सम्मान गर्दै प्रचण्ड सानो आकारको टोली लिएर अमेरिका जाँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २६ मंगलबार
prachanda-pm-final-always.jpg
तस्बिर – फाइल ।

काठमार्डौं । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जम्बो टोली लिएर जान लागेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यापक आलोचना भएपछि उनी त्यसलाई घटाउन तयार भएका छन् । 

यसैसाता अर्थात् भदौ ३० गते अमेरिका र त्यस लगत्तैको चीन भ्रमणका लागि जम्बो टोली तय भएपछि व्यापक आलोचना भएको थियो । सो आलोचनापछि प्रधानमन्त्रीले आफ्नो भ्रमण दललाई सानो आकारमा लैजान लागेका हुन् ।  

प्रचण्डले सरकारी खर्चमा झण्डै दुई दर्जन बढीलाई भ्रमण टोलीमा समावेश गर्न लागेपछि त्यसको आलोचना भएको थियो । 

‘यो संख्या आधा घटाउन लागिएको हो मंगलबारसम्ममा भ्रमण टोलीको नाम अन्तिम टुंग्गो लगाउने तयारी छ’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो  । 

शुरुमा २७ जनासम्म भ्रमण टोलीमा समावेश गर्ने गरी प्रधानमन्त्रीको निजी सचिवालयले तयारी गरेको थियो । परराष्ट्रले भने २४ सदस्यीय टोली अमेरिका जाने गरी तय गरेको थियो । 

त्यो समूहमा प्रधानमन्त्रीको निजी सचिवालयबाट मात्रै १० जना हुने गरी तयारी थियो । स्रोतका अनुसार प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिवहरू गंगा दाहाल, रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य, निजी फोटोग्राफर प्रदीपराज वन्त, निजी भिडिओग्राफर नवराज दाहाल, निजी डाक्टर युवराज शर्मा र तीन जना सुरक्षाकर्मी हुने गरी तयारी थियो । 

यस्तै मुख्यसचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी पनि भ्रमण टोलीमा जाने गरि तयारी छ ।

यसैगरी परराष्ट्रमन्त्री एनपी साउद, उनका स्वकीय सचिव दीपक जोशी, परराष्ट्र सचिव भरतराज पौड्याल, सहसचिव सेवा लम्साललगायत प्रतिनिधि भ्रमण दलमा रहने जनाइएको छ । 

भ्रमण टोली छोट्याउँदा अब प्रधानमन्त्री, प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दाहाल, सुरक्षा स्टाफ (पीएसओ), परराष्ट्रमन्त्री, परराष्ट्र सचिव र प्रधानमन्त्रीका फोटो पत्रकारलाई मात्र समेटेर ५–६ जनासम्मको मात्र भ्रमण टोली बनाउने गरी प्रधानमन्त्रीको सचिवालयले भित्री तयारी थालेको  छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ