- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको सोमबार राति निधन भएको छ । उनको निधन अप्रत्याशित भनिएको छ । उनी कुनै गम्भीर रोगले ग्रस्त थिएनन् । अचानक भएको निधनले सबैलाई स्तब्ध पारेको छ ।
यद्यपि उनी दुई रोगबाट पीडित थिए । ७१ वर्षीय नेम्वाङले निरन्तर चिकित्सकको परामर्श लिए पनि कालले भने झुक्याएर लिएर गएको छ । यद्यपि तिनै नेम्वाङले स्वर्ग र नर्कको विश्वास भने गरेका थिएनन् ।
उनले गत शनिबारमात्रै अन्तिम भाषण गरेका थिए । त्यो भाषणमभा स्वर्ग–नर्कको विषयमा बोलेका थिए । भनिन्छ – काल लिन आउने बेलामा जोसुकैलाई पनि ज्ञात हुन्छ । कतै नेम्वाङलाई पनि यो आभाष भएर स्वर्ग–नर्कको कुरा त गरेका हैनन् ?
यसको जवाफ कहिल्यै आउने छैन । नेम्वाङको भोलि बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टि हुँदैछ ।
यस्तो छ उनको शनिबार धरानमा गरेको अन्तिम भाषण–
हामीले राम्रो संविधान बनायौँ । हाम्रो नेतृत्व, पहल र प्रयासमा संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षतासहितको समाजवाद उन्मुख संविधान हामीले बनायौं । त्यो जनताले जनताको लागि बनाएको संविधान हो ।
त्यो संविधान पहिलोपटक नेपालको इतिहासमा विश्वकै सन्दर्भमा हामीले समावेशी संविधान बनायौं । समावेशी संविधानसभाबाट, शून्यबाटमाथि उठ्दै सहभागितामूलक ढंगले जनताले जनताको लागि संविधान बनायौं । हाम्रो नेतृत्व, पहल र प्रयासमा हामीले बनाएको संविधान हो ।
यो लिम्बु, राई, ब्राह्मण, क्षेत्री, दलित महिलाले तराई मधेसदेखि हिमालसम्म सबै जाति भाषा धर्मले बनाएको संविधान हो । पहिलोपटक नेपालको इतिहासमा समावेशी संविधान बन्यो । संविधान समावेशी बनाउने पार्टीलाई तँ समावेशी भइनस् भनेर कोही मित्रले भन्छ भने तपाईं हामीले त्यसलाई कसरी लिनुपर्छ होला ?
पहिचानको, समावेशिताको सन्दर्भमा यो देशमा हामीले जति काम गरेका छौं त्यति अरुले गरेका छैनन् । धर्मनिरपेक्षता कसको नेतृत्वमा भयो रु २०६३ जेठ ४ गते धर्मनिरपेक्षता घोषणा भयो । त्यो संसद्को सर्वसम्म सभामुख म थिए ।
त्यहाँबाट धर्मनिरपेक्षता घोषणा भयो । सुवासले खुसुक्क धर्मनिरपेक्षता घुसाइदियो पनि भने । त्यसताका केही साथीहरू चुनावमा पनि पुगेका थिएँ । यसपालि त दक्षिणबाट पनि आउनुभएको थियो रे– धर्मनिरपेक्षता भन्ने सुवासलाई हराउनुपर्छ भनेर । को साथी हुन् ? के हुन् ? कुनै दिन तपाईंहरूसँग समय लिएर अलिक व्यापक रूपमा भनौंला ।
म कहिले रिस नउठ्ने मान्छे त्यसैले रिसाइनँ, अलिअलि भित्र रिस उठ्यो होला मैले त्यो प्रक्रियाको जम्मै कुरा सुनाएर के भने भन्दा यी साथीहरू जसले ममाथि यस्तो आरोप लगाइरहेका छन्, यिनीहरू म त कम्युनिस्ट परेँ, एमालेको इमानदार कार्यकर्ता मलाई त स्वर्ग–नर्कमा विश्वास छैन, तर यी साथीहरू त विश्वास गर्छन् होला । नर्क छ भने यी साथीहरू चाहिँ सोझै नर्क जान्छन् भनिदिए ।
हामीले घोषणा गरेका हौं धर्मनिरपेक्षता । समावेशिता हामीले बनाएका हौं । अनि यो ठाउँमा शीर ठाडो पारेर, छाती फुकाएर, विनम्रतापूर्वक म आग्रह गर्न चाहन्छु किराँतहरूका महागुरु फाल्गुनन्दलाई यो देशको राष्ट्रिय विभूति मेरो पहलमा, हाम्रो पार्टीको पहलमा, हाम्रो पार्टीको नेतृत्वको पहलमा हामीले घोषणा गरेका हौं । अब फाल्गुनन्द किराँतीहरूको मात्रै रहेनन्, उनी सिंगो देशको, सबै जाति, धर्म, भाषा, संस्कृतिका जनताको महागुरु भए ।
यति काम गर्ने पार्टीलाई पहिचानविरोधी भन्न मिल्छ ? हिँड्ने क्रममा कहिँ कतै अलिकति कमजोरी भयो कि भन्नु, छलफल गर्नु एउटा कुरा हो । तर, पहिचानविरोधी भन्ने अनि को–को साथीहरूले ढुंगा हान्ने । म त कसले हाने त्यो पनि बिर्सिइसके । ढुंगा चाहिँ हानेका हुन् है । किनभने बुधबारेमा ढुंगा खाँदाखेरि मपनि सँगै थिए, अध्यक्षसँग । पाँच–सातदिनपछाडि एउटा भाइले फोन गरे मलाई ।
’दाइ तपाईं पनि हुनुहुँदो रहेछ, तपाईंलाई चाहिँ हिर्काएको होइन है ढुंगा’ रे ! मलाई यो तरिका खुबै मन प¥यो । सँगै गाडीमा हिँडेको छ अध्यक्षसँग, असिनाजस्तो ढुंगा बर्सिएको छ, त्यो चाहिँ केपी ओलीमाथि मात्रै हो, तपाईंलाई चाहिँ होइन है भनेपछि ! भन्नेले भनिगए । म पनि सोझो, पत्याइगए ।
एक जना ताप्लेजुङतिरको लिम्बु बल्लबल्ल डीएसपी भएका थिए । त्यो ढुंगाले धेरै होइन, उनको टाउकोमा १७ टाँका लाग्यो । अर्को एकजना हवल्दार विचरा राजवंशी परेछन् । उनको च्यापु नै भत्कियो । प्लेट लगाएर उनलाई उपचार गर्न राखिराखेको थियो ।
म उनलाई भेट्न गएको थिए । मैले यतिमात्रै मेरो मुखबाट फुत्त निस्कियो– हैन यो पहिचानको ढुंगा त खतरानाक हुँदो रहेछ । मलाई विश्वास छैन यो पहिचानको ढुंगा भनेर । तर, यो पहिचानको ढुंगा त खतरानाक हुँदो रहेछ । ठ्याक्कै ताप्लेजुङको लिम्बू डीएसपीलाई लाग्ने, झापाको राजवंशी हवल्दारलाई लाग्ने कस्तो खालको कस्तो खालको ढुंगा हो यो ? यो कसैको लागि पनि हितमा छैन । यो ढुंगा हान्ने कुरा गलत हो ।
लोकतन्त्रिक मूल्य र मान्यताविपरीतका कामकारबाही जहाँबाट भएको हो त्यसलाई रोकौं । लोकतान्त्रिक विधि अनुसारका कामकारबाही गर्नुस् । कुनै कुरा मेरो बारेमा चित्त बुझेन विरोध गर्नुस् । हाम्रो पार्टीको बारेमा चित्त बुझेन विरोध गर्नुस् । तर, लोकतन्त्रको मूल्य र मान्यतालाई तपाईं हामीले बलियो बनाएर जानुपर्दछ । यो नै देश र जनताको हितमा छ ।
हाम्रो छिमेको भारत दास बन्यो । हामी पटक–पटक चर्चा गर्छौं तर नेपाल कहिले पनि दासतामा परेन, स्वतन्त्र रह्यौं । ८ वर्ष अगाडि जनताले जनताका लागि संविधान बनायौं । राष्ट्रिय झन्डा पास गर्यौं । कुनै बेलामा यसको बारेमा तपाईंहरूसँग बसेर छुट्टै छलफल गरौंला ।
चन्द्रमा र सूर्य अंकित झन्डाबारे त्यतिबेला छलफल चलेको मलाई सम्झना छ । यो तीनकुने झन्डा भएन फेर्नुपर्छ, चन्द्रमा र सूर्य भएन । चन्द्रवंशी र सूर्यवंशी कुनै राजाको पसिना गन्हाउँछ, संविधानसभामा छलफल चलेको थियो ।
कसले उठायो भन्नुहोला, म साह्रै बिर्सने, धुमधाम बहस चलेको थियो कसले उठायो उठायो ! धुमधाम छलफल चलेपछि मैले नै प्रस्ताव राखे– जबसम्म आकाशमा चन्द्रमा र सूर्य रहन्छ तबसम्म नेपालको अस्तित्वलाई सकैले केही गर्न सक्दैन भनेर यसलाई पास गरौं न ! नेपालको राष्ट्रिय झन्डा पास भयो । अहिले हामी राष्ट्रिय झन्डा बोकेर हिँडिरहेका छौं ।
नेपालको नामै परिवर्तन गरौं भन्ने पनि छलफल चल्यो । कुनै दिन यसको बारेमा पनि तपाईंहरूसँग बसेर सल्लाह गरौंला, छलफल गरौंला । मैले भन्न खोजेको के हो भन्दा हाम्रा छिमेकका त्यत्रा ठूला देश दास बन्न पुगे तर नेपाल कहिले कसैको दास बनेन ।
सदासर्वदा स्वतन्त्र रह्यो किन थाहा छ ? यसको एउटै कारण हो तराई मधेशदेखि हिमालसम्मका सबै जाति भाषा धर्म संस्कृतिका जनता एक ठाउँमा एकजुट भएर उभिएका छन्, त्यसैले नेपालले कसैको पनि दास बन्न परेन । तर, त्यसको विरुद्धमा कता–कता कहिलेकाँहि षडयन्त्र भइरहेको छ कि भन्ने देखिन्छ ।
यसको दवाइ पनि हाम्रा युवाहरू हुनुहुन्छ, तपाईंहरूले यो कुरा लिएर जनताको बीचमा पुग्नुपर्छ । जनतालाई एकजुट बनाउनुपर्छ । तराई मधेसदेखि हिमालसम्मका विविध जाति, भाषा, धर्म, संस्कृतिलाई एक ठाउँमा उभ्याउने हो भने कसैको पनि षडयन्त्र सफल हुँदैन ।