arrow

चौरासीको चुनावका लागि अहिल्यै रोइलो नगरौंँ : गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २७ बुधबार
Gagan Thapa pokhara.jpg

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले २०८४ मा हुने आम निर्वाचनलाई लिएर अहिलै रोइलो नगर्न आग्रह गरेका छन् ।

नेपाली कांग्रेस पोखरा महानगर समितिको दोस्रो महानगर सम्मेलनलाई बुधबार पोखरामा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्।

उनले भने, ‘म पार्टी कामको सिलसिलामा देभभर पुगिरहेको छु । सबै साथीमा चार वर्षपछि आउने २०८४ सालको चुनावको चिन्ताले पिरोलिरहेको, रोइरहेको पाउँछु ।’

महामन्त्री थापाले २०८२ मंसिर भित्र पार्टीको १५ औं महाधिवेशन, २०८३ मा पार्टीको प्रत्येक तहमा सम्मेलनपछि मात्रै चुनावको तयारी हुने स्पष्ट पारे ।

उनले भने, ‘२०८२ मा महाधिवेशन गर्नैपर्छ । २०८२ सालको मंसिर उता महाधिवेशन कुनै पनि हालतमा जान दिइन्न । त्यसपछि मात्र चुनावको तयारी सुरु गरौंला ।’

उनले महाधिवेशन गर्नुभन्दा एक वर्ष अघि नै क्रियाशील सदस्यताको विषय टुंग्याउनुपर्ने विधानमा उल्लेख भएकाले २०८२ वैशाखअघि नै क्रियाशील सदस्यता टुंग्याउने दाबी गरे ।

महाधिवेशन हुने वर्षमा नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरण नहुने भन्दै उनले क्रियाशील सदस्यता टुंग्याउन सबैले काम गरेर अधिवेशनतर्फ लाग्नुपर्ने खाँचो औंल्याए ।

साथै उनले आगामी चुनावमा जहाँ चुनाव लड्ने हो त्यहीँका क्रियाशील सदस्य र प्रतिनिधिले उम्मेद्वार छान्ने भन्दै कुनै पनि प्रतिनिधिलाई पार्टीको केन्द्रीय समितिले टिकट वितरण नगर्ने उद्घोष गरे । 

उनले भने, ‘आगामी चुनावको टिकटका लागि कुनै पनि नेता पार्टी सभापति, महामन्त्री तथा प्रभावशाली नेताको घर र डेरा खोज्दै हिंड्नु पर्दैन । जहाँ चुनाव लड्ने हो त्यहीका कार्यकर्ता तथा प्रतिनिधिलाई भेटे हुन्छ, उनीहरुलाई खुसी पारे हुन्छ, जनतालाई रिझाए हुन्छ ।’

मिसन २०८४ मा पनि कांग्रेस नै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गर्दै कार्यकर्तालाई विचलित नहुन पनि उनले आग्रह गरे ।

महामन्त्री थापाले कांग्रेस लोकतान्त्रिक र प्रतिस्पर्धात्मक राजनीतिमा विश्वास गर्ने पार्टी भएकाले द्वन्द्वमा लागेको माओवादीलाई शान्ति प्रक्रियामा ल्याएर देशको समृद्धितर्फ अगाडि बढिरहेको बताए ।

देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी नेपाली कांग्रेस भए पनि राजनीतिक व्यवस्थापन गर्दा पहिला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री स्वीकार गर्दा कांग्रेसका कार्यकर्ताले चित्त दुखाउन नहुने उनले बताए । 

“कांग्रेस सबैको हित चाहने पार्टी हो, कांग्र्रेस आम जनताको सुख दुःखमा साथ दिने पार्टी नै हो”, उनले भने, “जनताको विश्वास पनि कांग्रेस पार्टीमा रहेकाले नयाँ उम्रेका पीपलपाते पार्टी क्षणिकका लागि मात्र हुन् ।”

“नेपाली कांग्रेस सीमित व्यक्ति मात्र नभई सबै जनता धनी भएको देख्न चाहन्छ, महामानव वीपीको सिद्धान्त पनि जनता धनी हुन् भन्ने नै थियो”, उनले भने ।

कांग्रेस भ्रष्टाचार विरोधी अभियानमा रहेको भन्दै उहाँले भ्रष्टाचारमा लाग्ने आफ्नै नेता तथा कार्यकर्तालाई पनि जोगाउने पक्षमा पार्टी नरहेको स्पष्ट गरे ।

कांग्रेसलले नेपालमा पहिचानको मुद्दा ७० वर्ष पहिला नै उठाएकाले कांग्र्रेसभन्दा क्रान्तिकारी पार्टी अरु कुनै हुन नसक्ने उल्लेख गर्दै महामन्त्री थापाले नेपालको विविधतालाई कुनै हालतमा मास्न नदिने प्रतिबद्धता जनाए ।

“नेपाली कांग्रेस छिमेकी देश भारत र चीनको सम्बन्ध सन्तुलित राख्न चाहन्छ, सानो मुलुक उनीहरूसँग विवाद  गर्न चाहँदैन, र गर्न पनि सक्दैन”, उनले भने, “नेपाल जुनसुकै देशमा पनि शान्ति स्थापना होस् भन्ने पक्षमा छ ।”

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बरालले वीपीको सिद्धान्तलाई अँगाल्दै कांग्रेस अगाडि बढ्न आवश्यक भएको बताए ।

कांग्रेस बलियो भयो भने मात्र लोकतन्त्र र व्यक्ति स्वतन्त्रता बलियो हुने उनको भनाइ थियो ।

कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले नेपाली कांग्रेसका हरेक कार्यकर्ताले देशमा भएका उपलब्धिको प्रचारप्रसार गरी कांग्रेसप्रतिको आकर्षण बढाउनुपर्नेमा जोड दिए ।

उनले पार्टीको विरासतलाई बलियो बनाउन पार्टीलाई संस्थागत ढंगले सञ्चालन गर्न आवश्यक रहेको बताए । 

कार्यक्रममा पार्टीका गण्डकी प्रदेशका सहमहामन्त्री कोपिला रानाभाटले पार्टीको भातृ संस्थाको अधिवेशन तत्काल तोक्न माग गरिन् । 

कायक्रममा कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, क्षेत्रीय सभापति राजेन्द्रमणि लामिछाने, वडाध्यक्ष दिवसमान प्रधानांग, युवा नेता सञ्जय आले, वडा सभापति नवीन बराल र नारायणमणि लामिछाने, महानगर सभापति सुरेन्द्र विजुक्छे, सचिव टुवराज बास्तोला, कोषाध्यक्ष सम्मरबहादुर श्रेष्ठ लगायतले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ