arrow

नेतृ सुचीको जीवन खतरामा : बेहोश हुने, बान्ता गर्ने समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २८ बिहिबार
aang_saang_suchi.jpg

काठमाडौं ।  म्यान्मारको सैनिक सरकारले कारागारमा रहेकी प्रजातन्त्रवादी नेतृ आङ सान सुचीको जीवनलाई उपचार र खानाबाट वञ्चित गरेर खतरामा पारेको आरोप उनको पार्टी नेशनल लिग फर डेमोक्रेसी (एलडीसी)ले लगाएको छ । 

“हामी विशेष चिन्तित छौँ किनकि उनले पर्याप्त चिकित्सा सेवा प्राप्त गर्नुभएको छैन । सैनिक  सरकारले उनको जीवनलाई जोखिममा पार्ने उद्देश्यले स्वस्थ खाना वा आवास पर्याप्त रूपमा उपलब्ध छैनन् । यदि उनलाई तलमाथि भएका त्यसको जिम्मेवार सैनिक सरकार हुनेछ,” एलडीसीले एक विज्ञप्ति निकालेर भनेको छ । 

हालैका दिनहरूमा स्थानीय सञ्चारमाध्यमले ७८ वर्षीया नोबेल पुरस्कार विजेता नेतृ दाँतको सङ्क्रमणको कारण बेहोश हुने, बान्ता गर्नेलगायत समस्याबाट पीडित भएको र खाना खान असमर्थ रहेको जनाएका छन् ।

सन् २०२१ को फेब्रुवरीमा सैन्य विद्रोहपछि सत्ताच्युत गरिएकी नेतृ सुचीलाई सोही समयदेखि हिरासतमा राखिएको छ । सैनिक शासनको विरोधसँगै म्यान्मार गृहयुद्धमा प्रवेश गरेपछि हजारौँले ज्यान गुमाएका छन् ।

 म्यान्मारमा हिंसाका घटना निरन्तर बढिरहेका छन् । गत जुलाईमा उनलाई राजधानी नेपीट जेलबाट नजरबन्दमा सारिएको थियो तर उनलाई कहाँ राखिएको छ भन्ने स्पष्ट छैन । 

यसअघि उनका कान्छा छोराले पनि सैनिक हिरासतमा रहेकी आफ्नी आमालाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप लगाएका थिए । 

दाँत र गिजाको गम्भीर समस्याका कारण आफ्नी आमा केही दिनदेखि अस्वस्थ भइ खान नसक्ने अवस्थामा पुगेको उनका छोरा किम एरिसले बताएका थिए । 

नेतृ सुची न्यून रक्तचापबाट पनि पीडित छिन् । उनले आफ्नी बिरामी आमालाई स्वास्थ्य सेवा उपलव्ध गराउन सैन्य सरकारसमक्ष कारागारका अधिकारीहरूले गरेको अनुरोधलाई सैनिक नेतृत्वले अस्वीकार गरेको बताएका थिए ।  

म्यान्मारका सबै राजनीतिक दलहरूको गठबन्धन निर्वासित राष्ट्रिय एकता सरकारले अन्तरराष्ट्रिय समुदायलाई नेतृ सुची जस्ता राजनीतिक बन्दीहरूलाई उचित उपचार सेवा उपलब्ध गराउन सैनिक शासकलाई दबाब दिन आग्रह गरेको छ ।

विश्वका धेरै नेताले  पनि उनको निःशर्त रिहाइको माग गरेका छन् । साथै उनीहरूले पक्राउ गरिएका विपक्षलगायत सबैलाई हिरासतमुक्त गर्न आह्वान गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ