arrow

काठमाडौँमा अपराह्नपछि वर्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २९ शुक्रबार
climate.jpg

काठमाडौँ। काठमाडौँ उपत्यकामा आज आंशिकदेखि सामान्य बदली भई अपराह्नपछि मेघगर्जन-चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । अहिले काठमाडौँमा सामान्य बदली रहेको छ ।

हाल मनसुनको न्यून चापीय रेखाको पश्चिमी भू-भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू-भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै नेपालमा हाल भारतको दक्षिण-पश्चिम उत्तर प्रदेश र आसपासको क्षेत्र तथा बङ्गलादेशको उत्तर-पश्चिम क्षेत्र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । आज देशभर आंशिकदेखि सामान्य बदली रहने तथा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।

उनका अनुसार लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र मधेस प्रदेशका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसै गरी आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागका थोरै स्थानमा र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।

काठमाडौँमा वायुको तापक्रम ३२ डिग्री सेन्टीग्रेड रहेको तथा पारदर्शिता आठ किलोमिटर रहेको मौसमविद् अधिकारीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ