arrow

स्थापना दिवसमा किन गएनन् सशस्त्रका पूर्व महानिरीक्षकहरु ?

logo
प्रकाशित २०७३ कार्तिक ११ बिहिबार
APF.gif.gif
काठमाडौँ। सशस्त्र प्रहरीबलले १६औँ स्थापना दिवस मनाउन विहिबार बिहान आयोजना गरेको कार्यक्रममा विगतमा जस्तो बलका पूर्व प्रहरी महानिरीक्षकहरुको उपस्थिति थिएन । 
 
कार्यक्रममा बलका जीवित पाँच पूर्व महानिरीक्षकमध्ये एक जना मात्रै पूर्व महानिरीक्षक किशोरकुमार राई उपस्थित भए । तत्कालीन बहालवाला प्रहरी महानिरीक्षक कोषराज वन्तसहित पूर्व महानिरीक्षक सनतकुमार बस्नेत, वासुदेव ओली, शैलेन्द्र श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ र यस सम्बन्धी अदालती प्रक्रिया जारी छ । सोही कारण पूर्व महानिरीक्षकहरु कार्यक्रममा उपस्थित नभएको अनुमान गरिएको छ । 
 
बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिवाकर केसीले सबै पूर्व महानिरीक्षकहरुलाई कार्यक्रममा आमन्त्रण गरिएको जानकारी दिए । उनले भने – “हामीले सबै पूर्व महानिरीक्षकहरुलाई आमन्त्रण गरेका थियौँ । उहाँहरु किन आउनुभएन, त्यसको जानकारी भएन ।” 
 
बलका हालसम्मका सात पूर्व महानिरीक्षकमध्ये संस्थापक महानिरीक्षक कृष्णमोहन श्रेष्ठको द्वन्द्वकालमा तत्कालीन विद्रोही नेकपा (माओवादी)को आक्रमणमा मृत्यु भएको थियो । त्यसपछिका महानिरीक्षक सहवीर थापाको छ वर्षअघि निधन भएको थियो । 
 
माओवादी विद्रोह फैलिएको र नेपाली सेना परिचालन गर्न तत्कालीन दरबारले असहयोग गरेको परिपेक्ष्यमा माओवादीलाई दबाउन विसं २०५८ मा बलको स्थापना गरिएको थियो । 
 
बलका अधिकाँश नेतृत्वविरुद्ध भ्रष्टाचारको आरोप लागेपछि यो सङ्गठनको प्रतिष्ठामा धक्का लागेको छ । भूकम्पपछिको उद्धार तथा राहत, बाढी, पहिरो, दुर्घटनालगायतमा उल्लेखनीय भूमिका खेलेर बलले आफ्नो छवि सुधार्न प्रयास गरिरहेको छ । 
 
नेपाल राज्यको कुनै भागमा भएका वा हुन सक्ने सशस्त्र सङ्घर्ष, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि नियन्त्रण गर्नु, आतकङ्कारी गतिविधि र दङ्गा नियन्त्रण गर्नु बलको कार्यक्षेत्र भएको सशस्त्र प्रहरी ऐन २०५८ मा उल्लेख छ । 
 
त्यसैगरी, राज्यको सीमा सुरक्षा, बाह्य आक्रमणको अवस्थामा नेपाली सेनाको मातहतमा रही सहयोग गर्ने, सार्वजनिक महत्वका भवन, संरचनाको सुरक्षा, विशिष्ट व्यक्तिलाई सुरक्षा प्रदान गर्ने, भन्सार, राजस्व र औद्योगिक सुरक्षा प्रदान गर्ने कामसमेत बलको कार्यक्षेत्रभित्र पर्छ । 
 
पक्राउ पुर्जीका सम्बन्धमा एक वर्षअघि नेपाल प्रहरी र बलबीच सम्बन्ध चिसिएको थियो । पक्राउ परेका व्यक्तिलाई पक्राउ पुर्जी आफूले पनि दिन पाउनुपर्ने बलको मागमा तत्कालीन उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सहमति दिएपछि दुई सङ्गठनबीच विवाद देखिएको थियो । 
 
बलका तत्कालीन महानिरीक्षक वन्त भ्रष्टचार मुद्दामा निलम्बित भएपछि महानिरीक्षक बनेका दुर्जकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीचको आपसी सम्बन्धमा अहिले सो विषय थामथुम पारिएको छ । तर भोलिका दिनमा फेरि सो विषय बल्झने प्रशस्त सङ्केत देखिएकाले यसको दीर्घकालीन समाधान खोजिनुपर्नेमा सुरक्षाविज्ञले जोड दिएका छन् । 
 
स्थापना दिवसमा विविध कार्यक्रम 
 
बलले स्थापना दिवसको अवसरमा आज प्रधान कार्यालय हलचोकमा प्रभातकालीन कार्यक्रमको आयोजना गर्‍यो । साँझसमेत स्थापना दिवससम्बन्धी बेग्लै कार्यक्रम हुँदैछ । 
 
बिहानको कार्यक्रममा देशभरबाट उत्कृष्ट भएका प्रहरी कर्मचारी, उत्कृष्ट गण, वर्ष जवान, खेलकुद प्रतियोगिता, चाँदमारी प्रतियोगिताका बिजेतालाई पुरस्कार प्रदान गरिएको थियो । 
 
गत वर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट स्थान ल्याउने बलका बहालवाला र पूर्व कर्मचारीका सन्तति र अमर सशस्त्र प्रहरी कर्मचारीका सन्ततिलाई छात्रवृत्ति प्रदान गरिएको थियो । 
 
सो अवसरमा महानिरीक्षक राईले सङ्गठनले दिएको जिम्मेवारी इमान्दारीतापूर्वक पूरा गर्न सबै प्रहरी अधिकृत र जवानलाई निर्देशन दिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ