arrow

व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ५ शुक्रबार
Basanta Kunwar-IGP.jpg

चितवन । प्रहरी महानिरीक्षक वसन्त कुँवरले प्रहरीको व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन आवश्यक रहेको बताएका छन् ।

नेपाल प्रहरी जुनिय अधिकृत शिक्षालय भरतपुरले आज यहाँ आयोजना गरेको २-१७८ औँ समूहको दीक्षान्त समारोहमा उनले तालिमले व्यवहार, मनोवृत्ति र सोच परिवर्तन गर्न सिकाएको बताए ।

महानिरीक्षक कुँवरले भने, “प्रहरीको जीवन भनेको तनाव, दबाब र चुनौतीपूर्ण छ । सही र सशक्त मानसिकताले यसको सामना गर्नुपर्छ ।”

कार्य क्षेत्रमा जाँदा चुनौतीलाई बिर्सन नहुने भन्दै उनले चुनौतीको सामना गर्नु नै प्रहरीको मुख्य जिम्मेवारी रहेको बताए ।

देश र नागरिकको सेवा गर्ने अवसरलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने महानिरीक्षक कुँवरको भनाइ थियो । 

राज्यले प्रदान गरेको अधिकारको दुरुपयोग नगरी सही मार्गमा जान उनले सबैलाई निर्देशन दिए । 

नेपाल प्रहरीको विश्वासले राज्यको छवि बलियो हुने भन्दै उनले सिकेका कुरालाई विवेकसम्मत कार्यान्वयनमा ल्याउन आग्रह गरे ।

कार्यक्रममा विसं २०७९ भदौ २० गतेदेखि सञ्चालनमा आएको तालिममा सहभागी ५५ महिलासहित चार सय २६ प्रहरी सहायक निरीक्षक दीक्षित भएका थिए ।

कार्यक्रममा शिक्षालयकी समादेशक प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले दीक्षित सबैलाई कार्य क्षेत्रमा सफलताको शुभकामना व्यक्त गरे । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ