arrow

नेपाली पर्यटन प्रवर्द्धनमा अमेरिकी संसद् भोजानी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ६ शनिबार
usa-mp-bhojani.jpg

काठमाडौँ। नेपाली समुदायबिच लोकप्रिय अमेरिकाको टेक्सस राज्यका प्रतिनिधि संसद् सलमान भोजानीसँग विशेष अन्तरक्रिया कार्यक्रम  सम्पन्न भएको छ। शुक्रवार काठमाडौँ स्थित होटेल हिमालयमा नेपाली समुदायका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू उपस्थितिमा नेपाली संस्कृति र पर्यटन प्रवर्द्धनका लागि संसद् भोजानीले चासो देखाएका छन्।

उक्त कार्यक्रम मिसन इन्टरटेनमेन्ट र नेपाल सेन्टर इन्टरनेशनलले आयोजना गरेको थियो भने कार्यक्रमको संयोजकको रूपमा अमेरिकाबाट रोजर नेपाल र नेपालबाट बिपी वाग्लेले भूमिका निर्वाह गरेका थिए। साथै विनोद पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए।

संसद् सलमान भोजानिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा विशेष अतिथिहरू डा भोला रिजाल, सुरेश अधिकारी, दीपक समीर आचार्य, निर्मल कुमार थापा, दीपक राई र पत्रकार जनक नेपाल लगायत अन्य सहभागीहरूले भोजानीलाई नेपालको सुन्दर अनुभव लिन र त्यसलाई आफ्नो देशमा अनुभव बाँड्न अनुरोध समेत गरेका थिए। भोजानीले केही दिनमा सगरमाथा आधार शिविर र नेपालका अन्य ठाउँहरूको अन्वेषण गर्नेछन्।

कार्यक्रममा नेपाल सेन्टर इन्टरनेशनलका अध्यक्ष निर्मल कुमार थापाले भोजानीलाई स्वागत गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्धमा प्रकाश पारेका थिए।

कार्यक्रमको मुख्य आकर्षण मिसन इन्टरटेनमेन्टद्वारा निर्मित नयाँ नेपाली पर्यटन सम्बन्धी बाल गीतको एनिमेटेड भिडियो “नेपाल हेर्न जाऔँ” सार्वजनिक गरिएको थियो। मिसन किड्स च्यानलमा सार्वजनिक हुने उक्त भिडियोमा डा.भोला रिजालले शब्द रचना, बिपी वाग् ले सङ्गीत र भद्र ओली, सरगम श्री भट्टराई र विदित अधिकारीले उक्त गीत गाएका थिए।

यसका लक्षित दर्शक विश्वभरका बालबालिका हुन्। गीतले नेपालका विभिन्न ठाउँ घुम्न प्रेरित गर्छ। भिडियोमा एनिमेसनको अवधारणा विश्वव्यापी रूपमा स्वीकार गरिएको नवीनतम प्रविधिलाई स्वीकार गर्नु र बच्चाहरूलाई सिक्ने नयाँ तरिकाहरू अनुभव गर्न प्रोत्साहित गर्नु हो।

भोजानीलाई टेक्ससमा रहेका नेपाली समुदायसँग मिलेर काम गर्न सुझाव दिँदै डा.भोला रिजालले उपलब्धिको लागि बधाई दिँदै नेपाली संस्कृति, कला र पर्यटनलाई विश्वस्तरमा प्रवर्द्धन गर्न प्रोत्साहन गरेका थिए।

वरिष्ठ सङ्गीतकार तथा म्युजिक रोयल्टी कलेक्शन सोसाइटी नेपालका अध्यक्ष सुरेश अधिकारीले नेपाली सङ्गीतलाई टेक्सस मात्रै नभई अमेरिका र विश्वका अन्य धेरै ठाउँमा पनि प्रवर्द्धन गर्न मिलेर काम गर्न भोजानीलाई आग्रह गरे।

नेपाल टेलिभिजनका कार्यकारी कार्यक्रम निर्माता दीपक समीर आचार्य र अधिवक्ता दीपक राईले भोजानीलाई नेपाली समाजका विभिन्न पक्षहरूको परिचय सङ्घै नेपाली संस्कृति र पर्यटनलाई विश्वव्यापीकरण गर्न यस्तै सामाजिक सद्भाव राख्ने व्यक्तित्वको खाँचो रहेको जानकारी गराए।

अन्त्यमा प्रमुख अतिथि सलमान भोजानीले साना साना कार्य देखि वकिल हुँदै सफल व्यावसायिक आइकन र टेक्सस राज्यको प्रतिनिधि बन्ने सम्मको आफ्नो सङ्घर्षका कथाहरू सुनाए। उनले चुनावी अभियानमा आफूलाई निस्वार्थ समर्थन र भोट हाल्ने प्रदेशमा बसोबास गर्ने नेपाली समुदायलाई पनि धन्यवाद दिए।

दसैँ, तिहार, इद लगायतका महत्त्वपूर्ण चार्ड पर्वमा विद्यालयमा विद्यार्थीहरूका लागि परीक्षा सञ्चालन गराउन नहुने कानूनी मान्यता दिलाए। यसै गरी उनले नेपाली कला, संस्कृति, चार्ड पर्वलाई जर्गेना गर्न महत्त्वपूर्ण भूमिका, केही नेपाली समुदायका बेरोजगारीका लागि समस्याहरू समाधान, नेपाली समुदायका वृद्ध वृद्धाहरूलाई भाषामा पर्न जाने समस्याको समाधानको लागि भाषा अनुवादकहरूको व्यवस्था लगायतका चुनाव जितिसकेपछि टेक्सस राज्यमा नेपाली समुदायका लागी उनले यस्तै अत्यन्तै राम्रो कार्यहरू गरेका थिए।

संसद् भोजनीले अरू समुदाय झैँ नेपाली समुदायका हरेक समस्यालाई आफ्नो समस्या मानी सदैव आफ्नो व्यक्तिगत र राज्य सरकारको तर्फबाट सहयोग गरिरहेको जानकारी समेत गराए। यसै गरी भोजानीले प्रदेशमा नेपालको पर्यटन प्रवर्द्धन गर्ने र विश्व स्तरमा रहेका नेपाली जनताको स्तर र जीवनशैली उकास्न समन्वय गर्ने प्रतिबद्धता जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ