- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
फुङ्लिङ (ताप्लेजुङ)। ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलामा सिमा प्रवेशपत्र वितरण गरिएको छ । टिप्ताला नाका खुल्ने भएसँगै चीनको रियू आउजाउ गर्नका लागि सीमा प्रवेशपत्र वितरण गरिएको हो ।
गत साता प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको नेतृत्वमा जिल्ला प्रशासनका कर्मचारी, सुरक्षा निकायका प्रमुख र फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूको टोली ओलाचुङगोला पुगेर सीमा प्रवेशपत्र वितरण गरेको जनाइएको छ । प्रमुख जिल्ला अधिकारी चेम्जोङका अनुसार पहिलो चरणमा फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुगोला र याङ्मा क्षेत्रका बसोबास गर्ने ८८ नागरिकलाई सीमा प्रवेशपत्र उपलब्ध गराएको हो ।
उनले भने “टिप्तालमा नाकासम्म यातादेखि हामी पुग्र्यो । डिङ्जे काउन्टीका प्रतिनिधि पनि नाकासम्म आउनुभयो । दुई पक्ष भेटघाट भयो ।” दसैँ तिहारबीचमा टिप्ताला नाका खुल्न सक्ने जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । डिङ्जे काउन्टी र फक्ताङलुङ गाउँपालिका, जिल्ला प्रशासन तापलेजुङका त्रिपक्ष सहमतिमा सीमादेखि ३० किलोमिटरसम्म बसोबास गर्ने नागरिकलाई पहिलोचणनमा सीमा प्रवेशपत्र उपलब्ध गएको फक्ताङलुङ गाउँपालिकाले जनाएको छ । विस्तारै प्रथमिकताका आधारमा फक्ताङलुङ गाउँपालिकामा बसोबास गर्ने नागरिकलाई समेत सीमा प्रवेशपत्र उलब्ध गराउँदै जाने गाउँपालिकाले जनाएको छ । जिल्ला प्रशासनका अनुसार प्रवेशपत्रका समय अवधी एक वर्ष हुने छ । प्रत्येक वर्ष सीमा प्रवेशपत्र जिल्ला प्रशासन कार्यालयमा नवीकरण गर्नुपर्ने हुन्छ ।
कोभिड-१९ कारण विगत चार वर्षदेखि टिप्ताला नाका बन्द छ । लामो समय नाका बन्द हुँदा सीमावर्ती क्षेत्रमा व्यापार ठप्प भएको छ । सीमा क्षेत्रमा बसोबास गर्ने समुदायको व्यापार ठप्प हँुदा आर्थिक सङ्कट खेप्दै आएको स्थानीय बताउँछन् । गलैँचा, जडीबुटी साथै नेपालबाट उत्पादित सामग्री चीन निर्यात बन्द हुँदा सीमा क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक सङ्कटमा पर्दै गएको जनाइएको छ ।
हिमाली क्षेत्रका समुदायले चौँरी याक गोठबाट जीविका गर्दै आएका छन् तर, चीनमा याक निर्यात नहुँदा दैनिक चलाउनै मुस्किल भएको स्थानीयवासीको भनाइ छ । याङमाका फिन्चो शेर्पाको पनि गोठमा चार वर्षदेखि याक बिक्री भएको छैन । शेर्पाको चार वर्षअघि २५ याक रहेकामा अहिले ९० हाराहारीमा छन् । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि पाँच हजार मिटरसम्मको उचाइ याकको चरन क्षेत्र हो । चीनका विभिन्न क्षेत्रमा नेपाली याक, याकका बाछा र चौँरी याकबाट उत्पादित छुर्पी, घ्यूका साथै पशुजन्य वस्तु चीनका बजारमा राम्रो मूल्यमा बिक्री हुने गरेको याङ्माका सोनाम शेर्पाले बताए ।
चीनका विभिन्न बजारमा एउटा याकको रु ५० हजारदेखि एक लाख ५० हजारसम्म मूल्य पर्ने जनाइएको छ । यसैले त हिमाली क्षेत्रका समुदायले याक पालनप्रति आकर्षित हुँदै गएको हुन् तर चार वर्ष देखि कोभिड-१९ का कारणले ताप्लेजुङदेखि चीन प्रवेश गने मुख्य नाका टिप्ताला नाका साथै अन्य नाकासमेत बन्द गरेसँगै याक बिक्री हुन सकेको छैन ।
हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको पुर्खौली पेसा हो याक पालन नै हो । उच्च हिमाली क्षेत्र भएकाले याकबाहेक अन्य पशुचौपाय तथा खेतीपाती पनि हँुदैन । जिल्लामा फुङ्लिङ नगरपालिकासहित नौ स्थानीय तह रहेको छ । सबै पालिकामा बसोबास गर्ने उच्च हिमाली क्षेत्रका समुदायले याकपालन गर्दै आएका छन् । चीनका भिन्न बजारमा याक राम्रो बजार मूल्यमा बिक्री हुने भएकाले याकपालन व्यवसायलाई निरन्तरता दिँदै आएको उनहरूको भनाइ रहेको छ । तर लामोसम्ममा पनि याक बिक्री नहुदाँ किसान निरासा हँुदै गएका छन् । बिक्री नभएपछि याक याक सङ्ख्या बढ्दै गएका छन्, भने किसानको आर्थिक सङ्कटले गर्दा दानापानी खुवाउन मुस्किल भएको छ । चरन क्षेत्रको समेत अभावले चौँरी याक भोगले मर्न पर्ने अवस्थासमेत भएको पोक्पेगोलाका चौँरी याक पालक दोर्जे शेर्पाले बताए ।
टिप्ताला नाका खुलाउने प्रक्रियामा भइरहेको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । नाका खुलाउने विषयमा गत वैशाख २२ मा डिङ्जे काउन्टीका प्रतिनिधि र ताप्लेजुङका प्रतिनिधिबीच भर्चुअल बैठक भएको थियो । नाका खोल्न समन्वय गरिदिन यसअघि वडा कार्यालय ओलाङचुङगोला, फक्ताङलुङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले गृह, परराष्ट्र मन्त्रालयलाई पटकपटक अनुरोध गरेका थियो । यसअघि घाङला नाकाबाट पनि आउजाउ हुने गरेको थियो ।
विशेष गरी याङ्मावासी घाङला नाका भएर रिउ जाने आउने गरेका थिए । सीमावर्ती क्षेत्रकालाई सिमानादेखि २५ किमी दूरीमा रहेको रिउसम्म जाने अनुमति दिइन्छ । रिउ तिब्बतको एउटा व्यापारिक केन्द्र हो । तिब्बतले अहिले रिउबाट ३५ किमि दूरीमा रहेको घुम्तीमा पनि व्यापारिक केन्द्र बनाएको छ । ताप्लेजुङ र सङ्खुवासभालाई सेन्टर पर्ने गरी उक्त केन्द्र निर्माण गरेको हो । सिमानादेखि ओलाङचुङगोलाको बस्ती पनि २४ किमी दूरीमा छ ।
सिमानादेखि नजिकैका बस्ती याङमाबाट रिउ पुग्न तीन दिन लाग्छ भने ओलाङचुङगोलाबाट एक दिनमा पुगिन्छ । सिमानादेखि दुवै देशका बस्तीसम्म मोटरबाटो जोडिएको भए पनि कोरोना सङ्क्रमणपछि नेपालतर्फको सडक पूरै अवरुद्ध छ । मर्मतसम्भार हुन सकेको छैन । चीनतर्फबाट भने सिमानासम्मै गाडी आउने गरेको स्थानीय बताउँछन् ।
नाका खुल्यो भने सीमा क्षेत्रमा बसोबास गर्ने समुदायलाई ठूलो राहत हुने सीमावर्ती क्षेत्र घुन्साका पेमा शेर्पाले बताए ।