काठमाडौं । यमपञ्चकको दोस्रो दिन शनिबार कुकुर तिहार मनाइएकाे छ । सोही अवसरमा नेपाल प्रहरीको केन्द्रीय प्रहरी कुकुर तालिम विद्यालय महाराजगञ्जमा समेत नेपाल प्रहरीमा सेवारत कुकुरहरुको पूजा गरियो। नेपाल प्रहरीमा अपराध अनुसन्धान, विमानस्थल, विशिष्ट व्यक्तिहरुको सुरक्षा लगायतका क्षेत्रहरुमा कुकुरको प्रयोग हुँदै आएको छ ।
कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेला पूर्वसूचनासमेत दिने कुकुरलाई पौराणिक कथन अनुसार भैरवको वाहन पनि भनिन्छ । कुकुरको पूजा गरी खानेकुरा खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास समेत छ ।
यस्तै, सत्यवादी युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँग घनिष्ठ सम्बन्ध छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।
नेपाल प्रहरीमा विक्रम संवत २०२६ सालबाट कुकुरुको प्रयोग प्रारम्भ भएको हो । प्रारम्भका दिनमा प्रहरीका केही प्रहरी कर्मचारीहरुलाई मलेसिया पठाई प्रशिक्षण प्रदान गरी सोही मुलुकबाट चार वटा तालिम प्राप्त कुकुरहरु ल्याएर यो सेवाको शुरुवात भएको बताइन्छ ।
विक्रम संवत २०३२ सालमा १० जना प्रहरी कर्मचारीहरु सहित प्रहरी कुकुर शाखाको स्थापना भएको हो ।