राष्ट्रिय स्वार्थमा सबैको साझा धारणा आवश्यक : मन्त्री केसी
प्रकाशित २०७३ कार्तिक १३ शनिबार
1.1k
Shares
काठमाडौं । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयन सबैको दायित्व र चुनौती भएकाले सवै दलहरुबीच सहअस्तित्वको संस्कृती विकसित गर्दे अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
संविधान निर्माणमा सहभागि तीन प्रमुख दल र मधेशी मोर्चासहितको सहकार्यबाट मात्रै संविधानको पूर्ण कार्यान्वयन सम्भव हुने मन्त्री केसीको भनाई छ ।
शनिबार काठमाडौंको वनस्थलीमा बालाजुटार टोल सुधार तथा उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा मन्त्री केसीले दलहरुबीच विचारमा विभिन्नता भएपनि साझा राष्ट्रिय स्वार्थका लागि सबैले संकिर्ण स्वार्थ र पूर्वाग्रह त्याग्नुपर्नेमा जोड दिँदै संविधानको पूर्ण कार्यान्यन नहुँदा त्यसबाट सिर्जना हुने गम्भीर समस्याप्रति सबै सजग हुनुपर्नेे बताए ।
त्यसक्रममा मन्त्री केसीले सामाजिक सुरक्षा र सामाजिक न्यायका निमित्त आर्थिक विकासका रणनीतिहरु परिलक्षित हुनुपर्ने बताउँदै समय सापेक्ष रुपमा विकास रणनीतिहरु परिमार्जन गर्नुपर्नेमा समेत जोड दिए ।
कार्यक्रममा व्यवस्थापिका संसद सदस्य जमिन्द्रमान घले, काँग्रेस महासमिति सदस्य दक्षदेव पौडेल लगायतले दीगो विकासका लागि आवश्यक रणनीतिहरुका वारेमा आआफ्नो धारणा राखे ।
यसअघि, सहरी विकास मन्त्री केसीले बालाजुटार टोल सुधार तथा उपभोक्ता संस्थाको भवन सिलान्यास र स्मारिकाको विमोचन समेत गरेका थिए ।