arrow

तीन प्रदेशमा भनेजस्तो नभएपछि सुदूरपश्चिममा ओलीको समर्थन भीम रावललाई

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
oli-rawal-2080-04-30.jpg

काठमाडौँ । तीन वटा प्रदेशमा आफूले भनेजस्तो नभएपछि एमालेको सुदूरपश्चिम प्रदेशमा भने पार्टी अध्यक्ष केपी शर्मा ओली र भीम रावलले एक व्यक्तिलाई समर्थन गर्न पुगेका छन् । 

सुदूरपश्चिम प्रदेशको अधिवेशन आज कैलालीको धनगढीमा शुरु हुँदै गर्दा दुवैले अछामका एकै व्यक्तिलाई समर्थन गर्न पुगेका हुन् । सुदुरपश्चिममा अझै पनि भीम रावलको बोलवाला रहेकाले अछामका पुराना नेता कमल तिमिल्सिनालाई अध्यक्ष बनाउन ओलीले पनि समर्थन गरेका छन् । 

यसपटक  पार्टीको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । आज उद्घाटन सत्र सकिएलगत्तै बन्द सत्र सुरु हुने छ । 

अहिलेसम्म एमाले सुदूरपश्चिम प्रदेशको अध्यक्षमा तीन नेताले दाबी गरेका छन् । अछामका कृष्णप्रसाद जैसी, अछामकै कमल तिमिल्सिना र कञ्चनपुरका वचनबहादुर सिंहले अध्यक्ष पदमा आंकाक्षा देखाएका छन् । 

अध्यक्षबाहेक अन्य सबै पदाधिकारीमा पनि आंकाक्षी धेरै छन् । प्रदेश अधिवेशनको उद्घाटन सत्रमा महासचिव शंकर पोखरेल, पार्टीका सचिव तथा कर्णाली इन्चार्ज लेखराज भट्ट, सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी, स्थायी कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुख कर्णबहादुर थापासहित केन्द्रीय सदस्य उपस्थित हुनेछन् । 

रावल उपस्थित हुने नहुने बारेमा केही निर्णय भएको छैन । ‘अछामका तिमिल्सिनलाई एमालेका पूर्व नेता भीम रावलले समर्थन गरेको र पार्टी अध्यक्षले ओलीले पनि उनैलाई संकेत गरेकाले यसपटक दुवैले चाहेको नेता आउने संभावना रहेको छ, यहाँनिर ओली–रावलको अघोषित जमघट भएको देखिन्छ’, सुदुरपश्चिमका एक नेताले भने ।  

अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले जनाएको छ । अधिवेशनअन्तर्गत प्रदेश कमिटी चयनका लागि ९ वटै जिल्लाका गरी ६ सय ७५ जना प्रतिनिधि छनोट भएका छन् । 

सबैभन्दा धेरै प्रतिनिधि बाजुराबाट छनोट भएका छन् । दुईवटा प्रदेश निर्वाचन क्षेत्रमात्र रहेको बाजुराबाट १ सय २८ जना प्रतिनिधि चयन भएका छन् । सबैभन्दा धेरै १० वटा प्रदेश निर्वाचन क्षेत्र र १३ वटा स्थानीय तह रहेको कैलालीका १ सय १७ जना प्रतिनिधि छन् । 

यस्तै कञ्चनपुरबाट ६३, बैतडीबाट ६८, दार्चुलाबाट ५३, अछामबाट ५४, बझाङबाट ४८, डोटीबाट ४१ र डडेल्धुराबाट १८ जना प्रतिनिधि रहेको अधिवेशन आयोजक कमिटिले जनाएको छ। 

यस्तै ७५ जना प्रतिनिधि एमालेले जनसंगठनबाट चयन गरेको छ । कूल प्रतिनिधिमध्ये १ सय ७८ जना महिला छन् । पार्टी अध्यक्ष ओलीले दिएको निर्दैशन सबैतिर उल्लंघन हुँदै जाँदा गण्डकी, लुम्बिनी, कर्णालीमा आफूले चाहेको नेतृत्व नआउदा ओलीलाई असर परेपछि यसपटक भने सुदुरपश्चिमको मनोविज्ञान बुझेर तिमिल्सनालाई समर्थन गरेको स्रोतको दाबी छ । 

ओलीकै निर्देशनमा पार्टीको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट प्रेमप्रसाद पराजुली सर्वसम्मत अध्यक्ष भएका थिए । ओली सो अधिवेशनको शुक्रबार उद्घाटन गर्दै कुरा मिलेन भने स्वस्थ्य प्रतिस्पर्धा गर्नुस् भनेर आफूले प्रदेश अधिवेशनहरुमा भनेको कुरालाई नसुनेको भन्दै सञ्चारमाध्यमप्रति पनि गुनासो गरेका थिए । 

उनले आफ्नै साथीको मन दुख्ने भएकाले पनि निर्वाचनबाट भन्दा सर्वसम्मतिमै नेतृत्व चयन गर्न उपयुक्त हुने तर्कसमेत गर्दै सकेसम्म प्रतिस्पर्धामा नजान आग्रह गरेका थिए । 

कसैको पनि मन नदुखाइकन नेतृत्व चयन हुनु भनेको सबैभन्दा उत्तम भएको ओलीको भनाइ थियो । उनले निर्वाचनको नाममा कतिपय ठाउँमा अनुचित काम भएको निष्कर्ष निकाल्दै त्यसो नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराएका थिए । 

ओलीले सुदूरपश्चिम प्रदेशमा पनि सोही कुरा दोहोर्याउने भए पनि त्यहाँ प्रतिस्पर्धा हुने संभावना रहेको स्रोतले जनाएको छ ।

त्यहाँ युवा संघका पूर्व अध्यक्ष वचन सिंहले नछाड्ने, अछामको संगठनमा लामो समय भूमिका निर्वाह गरेका जैसीले पनि नछाड्ने र सुदूरपश्चिमकै राम्रो नेता भनेर गनिएका तथा हाल प्रदेश अध्यक्षसमेत रहेका तिमिल्सिनाले पनि नछाड्ने भएपछि चुनाव भएरै छाड्ने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ