Skip

लक्ष्मीले मन नपराएका लक्ष्मीप्रसादको जन्मजयन्ति धुमधामका साथ मनाइँदै

प्रकाशित मिति : २०७३ कार्तिक १४ आइतबार
तस्वीर : हाम्राकुरा
काठमाडौं। नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय सातौं जन्मजयन्ती काठमाडौं उपत्यका लगायत देशभर र नेपाल बाहिर पनि विभिन्न कार्यक्रम गरी मनाईँदै छ । वि सं १९६६ सालमा पण्डित तीलमाधव देवकोटा र आमा अमर राज्यलक्ष्मी देवीका तेस्रा छोराको रूपमा काठमाडौंको डिल्लीबजारमा जन्मिएका लक्ष्मीप्रसादको नाम लक्ष्मीपूजाकै दिन जन्मिएको हुनाले लक्ष्मीप्रसाद त राखियो । तर, उनी लक्ष्मीका कहिलै प्रिय बन्न सकेनन् । 
 
देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उनको घरको व्यवस्थापकीय ढाँचा पनि अत्यन्तै दयनीय थियो । साथै उनको घरले गरिबीको रेखालाई नाघ्न पनि सकेको थिएन । जसका कारण उनी एक सुरले काब्य रचना गर्न सकेनन् । तरपनि नेपाली साहित्यकोलागि अमूल्य योगदान दिएर साहित्यिक इतिहासको शीलालेखमा आफ्नो नाम लेख्न सफल पनि भए । गरिबीकै कारण उनी सानोमा भन्थे, ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन गरेर पैसा कमाउँछु ।’ तर उनी चाहिं जन्मेदखि नै रोगी थिए । देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए । उनी सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । उनलाई उनका बुबाले पण्डित बनाउन खोजेका थिए ।
 
देवकोटा बहुमुखी र विपुल लेखक थिए, जसले आफ्नो छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन। उनले महाकाव्य, लामा बर्णनात्मक कविताहरू निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू, र समालोचना हरू लेखेका छन्। कविता पढेजस्तै अनुभव हुने देवकोटाका निवन्धहरू शैली र विषयवस्तुका लागि एकदमै प्रसंसायोग्य छन्। यिनीद्वारा लिखित वियोगान्त नाटक मुनामदन यिनी मरेको पाँच दशक पछिसम्म पनि अत्याधिक विक्री हुने कृतिमा पर्दछ। मुनामदन नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो। देवकोटाले केही समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पनि गरे। यिनी एक पटक नेपालको शिक्षा मन्त्री सम्म भएका थिए। यिनैक पालामा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो।
 
देवकोटासँग कविताहरू एकदमै चाँडो लेख्‍ने अद्वितिय प्रतिभा थियो। उनले शाकुन्तल महाकाब्य ३ महिनामा, सुलोचना महाकाव्य दश दिनमा र कुन्जीनी एकै दिनमा लेखे। उनले नेपाली साहित्यलाई नया उचाइमा पुर्‍याए। 'मुनामदन' प्रचलित लोक भाकामा लेखिएको कृतिले नेपाली साहित्यमा संस्कृतको प्रभाब अन्त्य गर्‍यो। 'पागल' कविता उनको अर्को महान कृति हो। जुन कवितामा उनले आफुलाई पागल भन्नेहरूलाई कवितात्मक शैलीमा जवाफ दिएका छ। नेपाली भाषासाहित्यमा देवकोटा रूमानी प्रवृत्तिलेखनका श्रीगणेश भए। साथै नेपाली भाषासाहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्‍याउने काम पनि देवकोटाबाट नै भएको थियो।
 
भारतीय महापण्डित डा. राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठूलो मानवअवतारका रूपमा लिएको छु।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए। देवकोटा चौध भाषा बुझ्थे। उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिकमार्फत जनमाझ पनि आए।
 
देवकोटालाई काव्यसागरका जलदेवता भने पनि हुन्थ्यो। उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्यभन्दा बाहिर हुँदैन थिए। बिहान आँखा उघारेदेखि राति आँखा चिम्लेपछिको स्वप्नसंसारमा पनि उनी काव्यसंसारमा नै विचरण गर्थे। उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो। लेखेका बेला उनी आफ्नै पाण्डुलिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए।
नयाँ